म्याग्दीको सदरमुकाम बेनीस्थित बराहपाखोबाट खसेको पहिरोले अवरुद्ध बेनी–महारानीथान–अर्थुङ्गे र बेनी–दरबाङ सडकखण्ड सुचारु भएको छ । बेनी नगरपालिका –७ स्थित बराहपाखोबाट पहिरो खस्दा सडक अवरुद्ध हुनुका साथै बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सामान्य क्षती भएको थियो ।
बराहपाखोमा रहेको खानेपानीको अस्थायी पाइपलाइन फुटेपछि आएको पहिरोसँगै रुख ढलेपछि अवरुद्ध भएको सडक सुरक्षाकर्मीसहित बेनी नगर प्रहरीको टोलीले पन्छाएर सुचारु गरेको नगर प्रहरी प्रमुख शंकर पौडेलले बताउनुभयो ।

सडकमा खसेको रूख र पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ भने जोखिममा रहेका रुख कटानसहितका प्रक्रियाका लागि समेत जिल्ला विपद् ब्यवस्थापन समितिलाई अनुरोध गरिने बेनी नगरपालिका –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । गत असोज ८ देखि १२ गतेसम्म परेको बर्षासँगै बेनी खानेपानीको पाइपलाइनमा क्षती भएपछि अस्थायी रुपमा राखिएको पाइप लाइन फुटेर क्षती भएपछि हाललाई उक्त पाइपलाइन मर्मतको कार्य भइरहेको छ ।
बेनी खानेपानीको नियमित आपूर्तीमा समस्या भएपछि पाइपलाइनको मर्मतमा बजेट अभाव भएपछि अस्थायी रुपमा स्रोतको पहिचान गरी प्रयोेग गरिएको थियो । यसैबीच बराहपाखो सामुदायिक बन क्षेत्रमा जोखिममा रहेका रुख कटान तथा जमिन सुहाउँदो बृक्षारोपणका लागि समेत वडा कार्यालयमार्फत पहल भइरहेको छ ।










