ध्रुवसागर शर्मा / कुनै समय गरिबको भान्सामा सीमित थियो कोदो । बजारमा बिक्दैनथ्यो, बारीमा फलाउँदा पनि बिक्री हुने ग्यारेन्टी थिएन । तर समय फेरिएको छ । हिजो उपेक्षामा परेको यही कोदो आज सहरका उपभोक्ताले खोजीखोजी खान थालेका छन् । म्याग्दीका किसानका लागि कोदो अब पेट भर्ने अन्न मात्रै रहेन, आम्दानीको सम्भावना पनि बन्दै गएको छ ।
म्याग्दीका गाउँमा उत्पादन हुने कोदोको बजार मूल्य र मागमा आएको परिवर्तनले परम्परागत खाद्य संस्कृतिमा नयाँ मोड ल्याएको छ । चार वर्षअघिसम्म प्रतिपाथी ६० रुपैयाँमा समेत बिक्री हुन नसकेको कोदो अहिले प्रतिपाथी २५० रुपैयाँसम्ममा बिक्री हुन थालेको किसानहरू बताउँछन् । बजारको यही परिवर्तनले लामो समयदेखि उपेक्षित कोदोखेतीप्रति किसानको आकर्षण बढाएको छ ।
मालिका गाउँपालिका-२ का किसान रणबहादुर विककाअनुसार कोदोको परिकारको विविधीकरण र बजारमा यसको उपयोगिता बढ्दै जाँदा कोदोको महत्व पनि बढेको छ । पहिले बिक्री नहुने चिन्ताले निराश हुने किसान अहिले बजारको माग देखेर उत्साहित हुन थालेका छन् ।
कोदोखेतीका लागि म्याग्दीको पहाडी भूगोल उपयुक्त मानिन्छ । थोरै बीउ रोपेर पनि राम्रो उत्पादन लिन सकिने भएकाले यहाँका किसानले परम्परादेखि कोदो लगाउँदै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका छवटै स्थानीय तहमा कोदो उत्पादन हुन्छ । तर पर्याप्त बजार र व्यावसायिक खेतीको अभावमा यसको उत्पादन मुख्यतः घरपरिवारको उपभोगमै सीमित थियो ।
मंगला गाउँपालिका-३ की किसान खिमा रानाका अनुसार किसानले उत्पादन गरेको कोदो बजारसम्म पुर्याउन सके उचित मूल्यमा बिक्री गर्न सकिन्छ । गाउँमै ग्राहक आउन थालेपछि बजार खोज्दै टाढा जानुपर्ने झन्झटसमेत कम भएको छ ।
मंगला गाउँपालिका-२ का कृष्ण सेनको अनुभवले पनि कोदोको बदलिँदो बजारलाई देखाउँछ । उहाँकाअनुसार कोदो फलाउन धेरै दुःख गर्नुपर्दैन र थोरै लगानीमै राम्रो उत्पादन लिन सकिन्छ । तर पहिले उत्पादन गरेको कोदो बिक्री नहुँदा समस्या थियो । अहिले भने ग्राहक घरमै आउन थालेपछि बिक्रीको चिन्ता कम भएको छ ।
सेनले गत वर्ष घरमै आएका ग्राहकलाई पाँच मुरी कोदो बिक्री गरेको र थप चार मुरी कोदो बाबियाचौर, सिंगातातोपानी तथा बेनीमा लगेर बेचेको बताउनुभयो । प्रतिपाथी २५० रुपैयाँका दरले बिक्री गर्दा गत वर्ष ३६ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
‘पहिले वर्षभरि दुःख गरेर फलाएको कोदो बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्थ्यो । कहिलेकाहीँ बिक्री नै हुँदैनथ्यो । अहिले गाउँमै ग्राहक आउन थालेका छन्,’ उहाँले भन्नुभयो । किसान सेनको अनुभवले बजारमा आएको परिवर्तनलाई स्पष्ट पार्छ ।
कोदोको माग बढ्नुमा यसको पोषण महत्व र परिकारको विविधता पनि जोडिएको छ । पछिल्लो समय सहरमा परम्परागत खाद्यान्नप्रति रुचि बढ्दै गएको छ । कोदोको ढिँडो, रोटी, सेल, बिस्कुटलगायत विभिन्न परिकार बनाउन सकिने भएकाले यसको उपयोगिता पनि फराकिलो हुँदै गएको छ ।
स्वास्थ्यका दृष्टिले पनि कोदो महत्वपूर्ण खाद्यान्न हो । यसमा फाइबर, खनिज तथा विभिन्न पोषक तत्त्व पाइन्छन् । सन्तुलित आहारको हिस्साका रूपमा कोदोको प्रयोग उपयोगी हुन सक्छ । यही कारण परम्परागत खाद्यान्नको पुनःप्रयोग र विविध परिकारको विस्तारले यसको बजारलाई थप सम्भावनायुक्त बनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार आधुनिक बीउबिजनको विस्तार र अन्य खाद्यान्नको सहज उपलब्धताका कारण कतिपय स्थानमा कोदोखेती घटेको भए पनि म्याग्दीमा पछिल्लो समय यसको खेतीप्रति आकर्षण बढ्दै गएको छ ।
तर बजारमा माग बढ्नु मात्रै पर्याप्त छैन । कोदोको उत्पादनलाई व्यावसायिक बनाउन गुणस्तरीय बीउ, उत्पादन वृद्धि, संकलन, प्रशोधन, प्याकेजिङ र व्यवस्थित बजारीकरण आवश्यक छ । स्थानीय तह र कृषि निकायले किसानलाई उत्पादनदेखि बजारसम्म जोड्ने योजना बनाउन सके कोदोखेतीलाई दिगो आम्दानीको स्रोत बनाउन सकिने कृषि क्षेत्रका जानकारहरूको धारणा छ ।
दरबाङ बजारका व्यवसायी अमृत सापकोटाकाअनुसार प्रदेश तथा स्थानीय सरकारले स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायीकरणमा ठोस योजना बनाए म्याग्दीको कोदो किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।
म्याग्दीको कोदोले अहिले एउटा महत्वपूर्ण सन्देश दिएको छ-बजार र उपभोक्ताको रुचि बदलिँदा हिजो उपेक्षित कृषि उपज पनि किसानको आम्दानीको आधार बन्न सक्छ । तर गाउँमा उत्पादन भएको कोदो सहरको भान्सासम्म नियमित रूपमा पुर्याउने व्यवस्था गर्न सके मात्रै यो परिवर्तन किसानका लागि दीर्घकालीन अवसरमा बदलिनेछ ।











