ध्रुवसागर शर्मा
धार्मिक तथा सांस्कृतिक पर्व भन्नेबित्तिकै हाम्रो मनमा पूजा, आराधना, भजनकीर्तन, आफन्तसँगको भेटघाट र मीठोमसिनो खानेकुराको सम्झना आउँछ । मठमन्दिर, देवस्थल र कोतघरहरूमा लाग्ने मेलापर्वले मानिसमा धार्मिक आस्था जगाउनुका साथै सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँछन् । तर यी पर्व र धार्मिक स्थलसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष पनि छ, त्यो हो स्थानीय आर्थिक गतिविधि र आम्दानीको अवसर ।
म्याग्दी जिल्लाका विभिन्न धार्मिक स्थलमा दसैँ, तिहार, चैतेदसैँलगायतका पर्व र विशेष तिथिमा हुने पूजाआजाले स्थानीय बजारमा चहलपहल बढाउने गरेको छ । धार्मिक स्थलमा भक्तजनको आवागमन बढ्दा किसानले उत्पादन गरेका कृषि उपजदेखि पशुपक्षी, पूजासामग्री, फलफूल र खाद्यान्नसम्मको कारोबार बढ्ने गर्छ । यसले स्थानीय किसान, व्यापारी, श्रमिक तथा यातायात व्यवसायीलाई आम्दानीको अवसर प्रदान गर्छ ।
बेनी नगरपालिका-७ स्थित महारानी थानमा शनिबार र मंगलबार हुने पूजाआजा होस् वा प्रसिद्ध गलेश्वर धाममा प्रत्येक सोमबार हुने धार्मिक गतिविधि, यी स्थलमा भक्तजनको आवागमनले आसपासको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने गरेको छ ।
विशेषगरी साउन महिनाका सोमबार गलेश्वर धाममा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्छ । धार्मिक आस्थाका साथ मन्दिर पुग्ने भक्तजनका कारण पूजासामग्री पसल, फलफूल व्यवसाय, होटल तथा खाजा पसल र यातायात सेवामा समेत चहलपहल बढ्छ । धार्मिक स्थलमा हुने गतिविधि र स्थानीय व्यवसायबीचको सम्बन्धले आस्थासँगै अर्थोपार्जनको सम्भावनालाई पनि उजागर गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । त्यसैगरी गलेश्वर क्षेत्रमा होटल व्यवसाय गर्दै आउनुभएका बाबुराम आचार्यले पर्व र विशेष पूजाका दिन हुने कारोबारले आफ्नो व्यवसायलाई राहत पुग्ने गरेको बताउनुभयो ।
“सामान्य दिनमा भन्दा विशेष पूजा र पर्वका बेला ग्राहकको आवागमन बढ्छ । होटेलमा मात्रै होइन पूजासामग्री, फलफूल र अन्य आवश्यक वस्तुको बिक्री पनि बढ्छ । धार्मिक गतिविधिले हाम्रो व्यवसायलाई चलायमान बनाउन सहयोग गरेको छ,” उहाँले भन्नुभयो ।
म्याग्दीका धार्मिक तथा ऐतिहासिक स्थलमध्ये बेनी नगरपालिका-२ स्थित ज्यामरुककोटको खड्गभवानी कोत पनि महत्वपूर्ण स्थल हो । यसैगरी ताकमको कोत, राखु भगवतीको कोतलगायतका धार्मिक स्थलमा विशेष पर्व र पूजाका अवसरमा मानिसहरूको जमघट हुने गर्छ । यस्ता स्थलमा नियमित दिनमा कम देखिने चहलपहल विशेष अवसरमा बढ्ने गरेको स्थानीय बताउछन् ।
धार्मिक पर्वका बेला कोतघर तथा देवस्थलमा पूजा व्यवस्थापन, सरसफाइ, पूजासामग्रीको तयारी र अन्य काममा स्थानीय श्रमिकको आवश्यकता पर्छ । यसबाट दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिले समेत केही दिनका लागि रोजगारी र आम्दानीको अवसर पाउँछन् ।
ज्यामरुककोटका भीमबहादुर पौडेलका अनुसार यस्ता पर्वले गाउँमा मानिसको आवागमन बढाउनुका साथै स्थानीय उत्पादनको बिक्री र श्रमको उपयोग गर्ने अवसरसमेत सिर्जना गर्छन् ।
“हाम्रा कोत र मन्दिर धार्मिक आस्थाका केन्द्र मात्र होइनन्, इतिहास, संस्कृति र सामाजिक एकताका प्रतीक पनि हुन् । पर्वका बेला टाढाटाढाबाट मानिस आउँछन् । यसले गाउँमा चहलपहल बढाउँछ र स्थानीयलाई केही आम्दानी गर्ने अवसर पनि दिन्छ,” उहाँले भन्नुभयो ।
किसानका उत्पादनलाई बजार
धार्मिक पर्वको आर्थिक पक्षलाई हेर्दा सबैभन्दा प्रत्यक्ष लाभ लिन सक्ने समूहमा किसान पर्छन् । गाउँघरमा उत्पादित तरकारी, फलफूल, अन्न, मकै, दूध तथा अन्य कृषि उपजको बिक्रीका लागि पर्व विशेष अवसर बन्न सक्छन् । त्यसैगरी किसानले पालेका खसी, बोका, भेडा, बाख्रा, राँगा, हाँस र कुखुराको बिक्री पनि पर्वका अवसरमा बढ्ने हुँदा किसानलाई घरमा बसीबसी आम्दानी हुने गरेको स्थानीय व्यवसायीसमेत रहनुभएका पौडेलले बताउनुभयो ।
पूजा, बलि, भोजभतेर र सामूहिक खानपानका लागि आवश्यक सामग्रीको माग बढ्दा स्थानीय उत्पादनले बजार पाउने सम्भावना रहन्छ। गाउँमै उत्पादन भएका वस्तुको खपत बढेमा किसानले आफ्नो उत्पादन बिक्री गर्न सहज बजार पाउँछन् । यसले स्थानीय उत्पादन र उपभोगबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्छ ।
कृषक चन्द्रबहादुर कार्कीकाअनुसार पर्वका बेला गाउँमा मानिसको आवागमन बढ्दा आफूले उत्पादन गरेका वस्तु बिक्री गर्ने अवसर मिल्छ ।
“हामीले उत्पादन गरेका कृषि उपज गाउँमै बिक्री गर्न पाउनु राम्रो कुरा हो । विशेष अवसरमा मानिसको आवागमन बढ्दा बिक्रीको सम्भावना पनि बढ्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण बने किसानलाई थप प्रोत्साहन मिल्छ,” उहाँले भन्नुभयो ।
श्रमिकका लागि पनि आम्दानीको अवसर
धार्मिक स्थलमा पर्व सञ्चालन गर्न पूजाआजा र व्यवस्थापनसँग सम्बन्धित विभिन्न काम गर्नुपर्ने हुन्छ । कतिपय स्थानमा कोतघर तथा मन्दिरको सरसफाइ, व्यवस्थापन, पूजाको तयारी र अन्य श्रमसम्बन्धी काममा स्थानीय व्यक्तिहरू संलग्न हुन्छन् । यस्ता कामबाट श्रमिकले केही दिनका लागि ज्याला प्राप्त गर्न सक्छन् ।
स्थानीय स्तरमा उपलब्ध कामको प्रकृति र जिम्मेवारीअनुसार पर्वका बेला आठ-दस दिन काम गर्ने श्रमिकले उल्लेख्य रकम आम्दानी गर्न सक्ने सम्भावना रहन्छ । कतिपय स्थानमा कामको अवधि, जिम्मेवारी र पारिश्रमिकअनुसार आम्दानी फरक पर्न सक्छ ।
पुजारीदेखि यातायात व्यवसायीसम्म लाभान्वित
धार्मिक पर्वले पुजारी, फूल तथा पूजासामग्री बिक्री गर्ने व्यवसायी, होटल सञ्चालक, खाजा पसले, सवारीचालक र अन्य सेवा प्रदायकलाई समेत आर्थिक लाभ पुर्याउने गरेको छ । भक्तजनको आवागमन बढ्दा सवारीसाधनको प्रयोग बढ्छ भने बाटोमा रहेका पसल तथा खानपानका व्यवसायमा पनि ग्राहक थपिने गर्छन् ।
धार्मिक स्थलमा आउने मानिसले पूजा गर्ने मात्र नभई त्यस क्षेत्रको प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र स्थानीय संस्कृति अवलोकन गर्ने अवसरसमेत पाउँछन् । यसले धार्मिक पर्यटनको सम्भावना बढाउँछ । धार्मिक आस्था र पर्यटनलाई स्थानीय उत्पादन, मौलिक संस्कृति तथा साना व्यवसायसँग जोड्न सके त्यसबाट प्राप्त हुने लाभलाई अझ व्यापक बनाउन सकिन्छ । यातायात व्यवसायी खेमबहादुर किसानका अनुसार धार्मिक पर्व र विशेष पूजाका दिन यात्रुको चाप बढ्दा यातायात व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने गरेको छ । “विशेष पर्व र पूजाका बेला धार्मिक स्थलमा जाने मानिस बढ्छन्। त्यसले सवारीसाधनको माग बढाउन सहयोग गर्छ । धार्मिक स्थलसम्म पुग्ने बाटो र आवश्यक सुविधा राम्रो भए स्थानीय व्यवसायलाई थप फाइदा पुग्न सक्छ,” उहाँले भन्नुभयो ।
संरक्षणसँगै आर्थिक सम्भावनाको उपयोग
म्याग्दीका धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्नु धार्मिक आस्था र सांस्कृतिक पहिचान जोगाउनु मात्र होइन, स्थानीय आर्थिक सम्भावनालाई सुरक्षित राख्नु पनि हो । यस्ता स्थलमा सरसफाइ, खानेपानी, शौचालय, यातायात, सूचना तथा अन्य आधारभूत सुविधा विस्तार गर्न सके भक्तजन र पर्यटकलाई सहज हुनेछ ।
धार्मिक स्थलको विकास गर्दा स्थानीय उत्पादनको बिक्री, घरेलु उद्यम, परम्परागत सीप र स्थानीय रोजगारीलाई प्राथमिकता दिन आवश्यक छ । धार्मिक स्थलको नाममा हुने गतिविधिबाट प्राप्त आर्थिक लाभ स्थानीय समुदायसम्म पुग्ने व्यवस्था गर्न सके त्यसले गाउँको अर्थतन्त्रमा थप योगदान दिन सक्ने स्थानीय बुद्धिजीविहरुको राय रहेको छ ।
धार्मिक पर्वलाई केवल पूजा, मनोरञ्जन र भेटघाटको अवसरका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यी पर्वले समाजलाई जोड्ने, पुस्तौँदेखि चलिआएका संस्कार जोगाउने र मानिसमा आध्यात्मिक चेतना जगाउने काम गर्छन् । त्यससँगै कृषि उत्पादनको बिक्री, श्रमको उपयोग, व्यापार विस्तार र यातायात सेवाको माग बढाउने सम्भावना पनि बोकेका हुन्छन् ।
त्यसैले म्याग्दीका मठमन्दिर, कोतघर र धार्मिक पर्वको महत्व धार्मिक तथा सांस्कृतिक पक्षमा मात्र सीमित छैन । उचित संरक्षण, व्यवस्थापन र स्थानीय सहभागितासहित अघि बढाउन सके यी स्थल र पर्व स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण आधारसमेत बन्न सक्छन् । आस्था र अर्थोपार्जनलाई एकअर्काको पूरकका रूपमा बुझ्न सकिए धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय जनजीवनमा आर्थिक लाभ पुर्याउने बाटो पनि फराकिलो हुनेछ ।










