चक्रवात ‘अर्णव’ को प्रभावले मुस्ताङमा वर्षा र हिमपात हुने पूर्वसूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घट्न थालेको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’ को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको सूचनासँगै सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने र पदयात्रामा रहेका पर्यटकले यात्रा छोट्याउन थालेका छन् । दसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको मुस्ताङमा प्रतिकूल मौसमको सूचनासँगै पोखरा–बेनी हुँदै मुस्ताङ प्रवेश गर्नेभन्दा फर्किनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रहरी कार्यालयको घाँसा चेकपोस्टको तथ्याङ्कअनुसार बुधबार सडक सञ्जालबाट दुई हजार ८३४ जना पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । सोही सडकमार्ग हुँदै तीन हजार ३१२ जना पर्यटक बाहिरिएका छन् । कुल ७७९ वटा सवारीसाधन प्रवेश गरेकोमा घाँसाबाट ७९९ वटा बाहिरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।
प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, “थोरङ्ला पासबाट पनि यात्रा छोट्याएर फर्किनेको सङ्ख्या बढेको छ । पदयात्रीलाई बिहीबार बेलुकीसम्म गन्तव्यमा पुगेर बस्न अनुरोध गरेका छौँ ।” घुम्न आएका पर्यटक मौसमसम्बन्धी सूचनाका कारण फर्किने क्रम बढेको उहाँले बताउनुभयो ।
पूर्वसूचनाका आधारमा गन्तव्यबाट फर्किने पर्यटकलाई बाटोमा मौसमसम्बन्धी जानकारी दिने गरिएको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । मनाङबाट मुस्ताङ जोड्ने थोरङ्ला पास पाँच हजार ४०० मिटर उचाइमा रहेको र त्यहाँबाट ५३९ जना विदेशी पदयात्री मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले साहसिक पर्यटकीय पदमार्गमा रहेका पर्यटकलाई विभिन्न माध्यमबाट छिटो सुरक्षित स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । प्रजिअ पोख्रेलका अनुसार मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास र मुस्ताङ–डोल्पा जोड्ने याकखर्कमा पर्यटक नभएको विवरण प्राप्त भएको छ । थोरङ्ला पास तथा म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गमा रहेका पर्यटकलाई भने पदमार्गबाट बस्तीमा आउन अनुरोध गरिएको छ ।
पछिल्लो समय मौसमी सूचनालाई पर्यटकले चासो दिन थालेपछि पदमार्गमा अलपत्र पर्ने पर्यटकको सङ्ख्या घटेको छ ।












