आधुनिक प्रविधिको बढ्दो प्रयोग र संरक्षणको अभावको कारण म्याग्दीका गाउँघरमा कुनै समय दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलजस्ता परम्परागत साधनहरु लोप हुने अवस्थामा पुगेका छन् । पुर्खाले आफ्नै सीप, श्रम र स्थानीय स्रोतसाधनको उपयोग गरी निर्माण गरेका यी साधनको प्रयोग घट्दै गएपछि तिनको अस्तित्वसँगै मौलिक पहिचान समेत सङ्कटमा पर्न थालेको छ ।
केही समय अघिसम्म गाउँका अधिकांश घरहरुमा देखिने ढिकी र जाँतो अहिले फाट्टफुट्ट मात्रै भेटिन्छन् । जिल्लाका दुर्गम गाउँवस्तीमा समेत विद्युतीकरण भएपछि कुटानी–पिसानी कार्यका लागि विद्युतीय मिलको प्रयोग बढ्दै गएको छ । छोटो समयमा छिटो काम गर्न सकिने र श्रमको बचत पनि हुने भएकाले परम्परागत साधनको प्रयोग घट्दै गएको स्थानीयवासी बताउँछन् ।

पहिले गाउँघरमा डिजेल र पानीबाट चल्ने मिलको प्रयोग बढी हुने गरे पनि पछिल्लो समय विद्युतीय मिलको विस्तारसँगै पुराना प्रविधि विस्थापित हुँदै गएका छन् । बेनी नगरपालिका–५, चिप्लेटीका पूर्णबहादुर कार्कीले आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत साधनहरु हराउँदै गएको बताउनुभयो । ‘केही समय पहिले गाउँघरमा डिजेल र पानीबाट मिल चलाउने गरिन्थ्यो, अहिले त्यो पनि हरायो,’ उहाँले भन्नुभयो, ‘आजभोलि गाउँमा बिजुलीबाट चल्ने मिल आयो । त्यसैमा कुटानी–पिसानी हुन थालेपछि पहिलाका सामग्री हराउँदै गए । अब पुराना प्रविधिको संरक्षण भएन भने ती भनाइमा मात्रै सीमित हुनेछन् ।’
परम्परागत सीप र प्रविधिबाट निर्माण गरिएका सामग्रीहरु हराउँदै जान थालेपछि स्थानीयवासीले चिन्ता समेत व्यक्त गरेका छन् । समयमै संरक्षण गर्न नसके गाउँको मौलिक पहिचान र पुर्खाको सीप झल्काउने यस्ता सामग्री आगामी पुस्ताका लागि इतिहासको विषय मात्रै बन्न सक्ने उनीहरूको भनाइ छ । विगतमा धान कुट्न ढिकीको प्रयोग गरिन्थ्यो भने जाँतो र पानीघट्टमा मकै, कोदो, गहुँ, जौ र चामललगायत खाद्यान्न पिस्ने गरिन्थ्यो । यसैगरी कोलमा तोरी, उखु र कागती पेल्ने चलन थियो । गाउँघरमै उपलब्ध स्रोतसाधनको उपयोग गर्दै स्थानीय सीप र प्रविधिका आधारमा निर्माण गरिएका यी सामग्री ग्रामीण जीवनका महत्वपूर्ण हिस्सा बनेका थिए ।
परम्परागत सामग्रीको महत्व घट्दै जानु र संरक्षणमा पर्याप्त ध्यान नपुग्नुले तिनको अस्तित्व सङ्कटमा परेको चिप्लेटीकी यामकुमारी खत्रीले बताउनुभयो । उहाँले गाउँघरमा प्रयोग हुँदै आएका पुराना प्रविधिको महत्व नयाँ पुस्तालाई बुझाउनुका साथै तिनको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । आधुनिक प्रविधिले कुटानी–पिसानीको काम छिटो र सहज बनाए पनि विद्युतीय मिलमा निर्भर हुँदा कहिलेकाहीँ समस्या हुने गरेको स्थानीयवासीको अनुभव छ । विद्युत् अवरुद्ध हुँदा कुटानी–पिसानीको काम रोकिने भएकाले पहिले घरघरमा प्रयोग हुने ढिकी र जाँतोको उपयोगिता अझै सम्झिने गरिएको पाइन्छ ।
स्थानीयवासीका अनुसार आधुनिक प्रविधिको विस्तारसँगै पुराना सीपप्रतिको चासो घट्नु र संरक्षणको अभाव हुनु परम्परागत साधन लोप हुँदै जानुका प्रमुख कारणहरु हुन् । गाउँघरमा अझै बाँकी रहेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखल जस्ता सामग्रीको पहिचान गरी संरक्षण गर्न आवश्यक देखिएको छ । यस्ता सामग्रीको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्नसके आगामी पुस्तालाई पुर्खाको जीवनशैली, परम्परागत सीप र प्रविधिबारे जानकारी दिन सकिनेछ । साथै, स्थानीय मौलिकता जोगाउनुका साथै परम्परागत प्रविधिलाई सांस्कृतिक सम्पदाको रूपमा स्थापित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
ढिकी, जाँतो र पानीघट्टमा कुटिएको तथा पिसिएको खाद्यान्न स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास पनि गाउँघरमा रहिआएको छ । परम्परागत रूपमा तयार पारिएका खाद्यान्न शरिरका लागि आडिलो हुने र रोगसँग लड्ने क्षमता बढाउने गरेको बुढापाकाको भनाइ छ । पुर्खाको सीप, श्रम र सिर्जनशीलताबाट निर्माण भएका ढिकी, जाँतो, पानीघट्ट र कोल जस्ता साधनले नेपाली ग्रामीण जीवनको मौलिकता झल्काउँछन् । आधुनिक प्रविधिको प्रयोगलाई निरन्तरता दिँदै पुराना साधनको संरक्षण र पुस्तान्तरणमा ध्यान दिन सकेको खण्डमा यस्ता अमूल्य सम्पदालाई लोप हुनबाट जोगाउन सकिने प्रशस्तै सम्भावना देखिन्छ ।











