हरिकृष्ण गौतम
म्याग्दीको पहिरोग्रस्त अन्नपूर्ण क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूगर्भविद्सहितको टोली खटिएको छ। गत असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण भौतिक तथा मानवीय क्षति पुगेको गाउँपालिकाका जोखिमयुक्त क्षेत्रको अध्ययन तथा निरीक्षणका लागि प्राधिकरणका दुई जना भूगर्भविद्सहितको टोली बुधबारदेखि परिचालित भएको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार अन्नपूर्ण–५, पाउद्धारबाट सुरु गरी राम्चेमा पुगेर पहिलो चरणको अध्ययन टुंगिने छ । अध्ययन टोलीमा प्राधिकरणबाहेक जिल्लामा रहेका प्राविधिकहरूसहित विगतमा काम गरेको अनुभव भएकालाई समेत टोलीमा खटाइएको प्रजिअ गैरले बेनीअनलाइनलाई बताउनुभयो ।
टोलीले खसेको पहिरोको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले वैज्ञानिक अध्ययन गरी प्रारम्भीक जानकारी जिल्ला विपद् ब्यवस्थापन समितिलाई गराउने छ भने प्रतिबेदनका आधारमा बस्तीको थप सुरक्षाका लागि काम गरिने छ ।
पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने छ । म्याग्दीमा बर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ ।
भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक विस्तार, परापूर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनुजस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश बस्तीहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ । म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।
क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग किमी ओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी वर्षा,भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिइँदै जानु,भिरालो पाखाहरुमा रहेका ठूला रुख प्रजातिका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धाँजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको छ ।
म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् । जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ ।
यसअगाडी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले बेनी नगरपालिका, रघुगंगा गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययनको प्रतिवेदनका आधारमा थप संरक्षणका कार्यहरु गरिने जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष विपद्मा परी सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकाले आवश्यक सबै प्रक्रियामा म्याग्दी प्राथमिकतामा रहेको बताउनुभयो ।निजी आवास र भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कामलाई समेत नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडी बढाइरहेको छ।












