---Advertisement---

दूतराज प्रकाश : संगीतले बनाएको संस्थागत ब्राण्ड

On: October 31, 2026 5:29 PM
Follow Us:


प्रमोद शर्मा
म्याग्दीको सदरमुकाम बेनीमा केही समयअघि एउटा फरक दृश्य देखियो । वर्षात्को झरी परिरहेको थियो, तर दर्शकहरू आ–आफ्नो ठाउँबाट उठेका थिएनन् । मञ्चमा लोकभाका गुञ्जिरहेका थिए । त्यही मञ्चबाट लोकप्रिय गायक प्रकाश दुतराजले नेपालमै लोकसंगीतमा नयाँ अभ्यासका रूपमा ‘दूतराज प्रकाश एन्ड लाइनअप’ ब्यान्ड घोषणा गरे । मौलिक नेपाली बाजा, लाइभ प्रस्तुति र लोकसंगीतलाई संस्थागत स्वरूप दिने उद्देश्यसहित सुरु गरिएको यो अभियान केवल एउटा सांगीतिक समूहको घोषणा मात्र थिएन, बरु वर्षौंको संघर्ष, आँसु, अभाव र अथक साधनाको नयाँ उचाइ थियो ।


आज लोकसंगीतलाई नयाँ पुस्तासम्म पु¥याउने सपनासहित उभिएका प्रकाश दुतराजको विगत भने बिल्कुल फरक थियो । एक समय उनी विदेश जाने सपना बोकेर काठमाडौं पुगेका थिए । आमाको दुःख घटाउने र परिवारलाई अभावबाट मुक्त गराउने त्यो सपना दलालको ठगीसँगै चकनाचुर बन्यो । तर जीवनले त्यही मोडमा उनको हात समात्न संगीतलाई पठाएको रहेछ । परिणामस्वरूप, विदेशिन खोजेको एक युवक आज नेपाली लोकसंगीतको प्रभावशाली र लोकप्रिय नाममध्ये एक बनेको छ ।


उनका गीतहरू केवल सुन्नका लागि बनेका गीत होइनन् । ती नेपाली समाजका कथा हुन् । गाउँघरका भोगाइ हुन् । आमाको त्याग हुन् । परदेशिएका युवाको वेदना हुन् । त्यसैले प्रकाश दुतराजको कथा एउटा सफल गायकको परिचयभन्दा धेरै ठूलो छ । यो त जीवनसँग हार नमान्ने साहसको कथा हो ।


पहिरो, अभाव र आमाको आँसुले लेखिएको बाल्यकाल
म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएका प्रकाश दुतराजको बाल्यकाल कुनै सहज ग्रामीण जीवनको कथा थिएन । गाउँका डाँडाकाँडा, पाखापखेरा र सालैजो, झ्याउरे, यानीमाया तथा सुनिमायाका भाकाले उनको बालापन रंगाइरहेका थिए, तर जीवनले उनीमाथि संघर्षका पाठ पनि सँगै लेखिरहेको थियो ।


२०५८ सालमा म्याग्दीमा आएको विनाशकारी पहिरोले गाउँ नै तहसनहस बनायो । घरहरू बगे, खेती उजाडिए र धेरै परिवार विस्थापित भए । गाउँलेहरूले आफ्ना आफन्त गुमाए । त्यतिबेला आठ वर्षका बालक प्रकाशले जीवनको सबैभन्दा भयावह दृश्य देखे । पहिरोको त्यो रात सम्झँदा अझै उनको मन झसङ्ग हुन्छ । चार सन्तानलाई काखमा च्यापेर सुरक्षित ठाउँ खोजिरहेकी आमाको अनुहार, गाउँभर फैलिएको सन्नाटा र चारैतिरको त्रास उनका स्मृतिमा अझै ताजै छ ।


आर्थिक अवस्था कमजोर थियो । बुबा वैदेशिक रोजगारीमा थिए । घर र परिवारको भार आमाकै काँधमा थियो । कहिले नदी किनारमा बालुवा झिक्ने, कहिले बालुवा चाल्ने, कहिले मजदुरी गर्ने । घाममा पसिना बगाउँदै आफ्ना छोराछोरी हुर्काइरहेकी आमाको संघर्ष प्रकाशले नजिकबाट देखे । अभाव यति गहिरो थियो कि बाल्यकालका सामान्य रहरहरू पनि विलासिताजस्तै लाग्थे । उनका हरेक चाहनालाई जिम्मेवारीले दबाइदिन्थ्यो । बेनी बजारमा बसाइँ सरेपछि पनि जीवन सहज भएन । परिवारसँग खाट किन्ने पैसा थिएन । गाउँबाट ल्याइएको गुन्द्रीमै महिनौं बित्यो ।


सबैभन्दा भावुक क्षण तब आयो, जब उनकी आमाले घरको भविष्य उज्यालो बनाउन वैदेशिक रोजगारमा जाने निर्णय गरिन् । एक बिहान आमाले उनलाई उठाउँदै भनिन्, “म आज जाँदैछु, भाइबहिनीको ख्याल गर।” ती केही शब्दले उनको जीवन बदलिदियो । उनी त्यही दिनबाट घरका लागि छोरा मात्र रहेनन्, अभिभावक पनि बने ।


आमा विदेश पुगेपछि साना भाइबहिनी हुर्काउने, उनीहरूको हेरचाह गर्ने र घर सम्हाल्ने जिम्मेवारी प्रकाशकै काँधमा आयो । त्यो उमेरमा धेरैले आफ्नै भविष्यको सपना देखिरहेका हुन्छन्, तर प्रकाश भने आफ्ना भाइबहिनीको भविष्य सुरक्षित गर्ने चिन्तामा थिए ।

जब दलालले विदेशको सपना चकनाचुर बनायो
प्रकाशको पहिलो सपना गायक बन्ने थिएन । उनको सपना त विदेश जाने थियो । कारण स्पष्ट थियो ः उनी आमाको दुःख अन्त्य गर्न चाहन्थे ।आमा विदेशमै भएको बेला २०७१ सालतिर उनी काठमाडौं पुगे । आवश्यक प्रक्रिया पूरा गरे । पैसा बुझाए । उनको मनमा एउटा मात्र सपना थियो, विदेश पुगेर पैसा कमाउने र घरको अवस्था सुधार्ने । तर काठमाडौं पुगेपछि थाहा भयो, आफूले विश्वास गरेको एजेन्टले नक्कली कागजात बनाएर ठगी गरेको रहेछ । उनी मात्र होइन, उनीजस्तै धेरै युवाको लाखौं रुपैयाँ लिएर ती व्यक्तिहरू फरार भइसकेका थिए ।


एकैक्षणमा सपना चकनाचुर भयो । गाउँ फर्किने साहस थिएन । भविष्यको कुनै दिशा देखिँदैनथ्यो । त्यही निराशाको समयमा एउटा संयोगले उनको जीवन मोड्यो । एक दिन उनी दोहोरी तथा रोधीघर पुगे । त्यहाँ गीत गाए । उनको स्वर सुनेपछि सञ्चालकले उनलाई काम गर्ने अवसर दिए । त्यही अवसर उनको जीवनको सबैभन्दा ठूलो अवसर बन्यो । चार वर्षसम्म उनले रोधीघरलाई सांगीतिक पाठशाला बनाए । गीत गाए, बाजा बजाउन सिके, वरिष्ठ कलाकारसँग घुलमिल भए । संगीतलाई केवल रुचि होइन, जीवनको आधार बनाउने बाटो त्यहीँबाट खुल्यो तर संघर्षको अध्याय अझै समाप्त भएको थिएन ।


‘घर कता हो बैनीको’ ः अन्तिम प्रयासबाट सुरु भएको सफलताको यात्रा
रोधीघरमा लामो समय बिताउँदा पनि ठूलो सफलता हात लागेको थिएन । आफ्नै लगानीमा निकालेका केही गीतले अपेक्षित चर्चा पाएनन् । उनीमाथि आर्थिक दबाब बढ्दै गइरहेको थियो । अन्ततः उनले निर्णय गरे, अब एउटा अन्तिम गीत निकाल्ने, त्यसपछि विदेश जाने ।


दुबई जाने प्रक्रिया लगभग पूरा भइसकेको थियो । त्यहाँ रहेका आफन्तसँग कुरा भइसकेको थियो । कागजातसमेत पठाइसकिएको थियो । तर विदेश जानुअघि उनले साथीसँग ऋण लिएर करिब छ लाख रुपैयाँ लगानीमा एउटा गीत तयार पारे । त्यो गीत थियो, ‘घर कता हो बैनीको’ ।


अझ रोचक कुरा के भने, यो गीतको भाका म्याग्दीमै घाँस काट्न गएका बेला फुरेको थियो । सामान्य जस्तो लाग्ने त्यो क्षणले उनको जीवनको इतिहास लेख्नेछ भन्ने उनलाई थाहा थिएन । गीत सार्वजनिक भयो । सुरुका दिनमा खासै प्रतिक्रिया आएन । उनी फेरि निराश भए । अब विदेश जाने दिन नजिकिएको निष्कर्षमा पुगे । तर करिब दुई सातापछि सबै कुरा फेरियो ।


टिकटक, फेसबुक र युट्युबमा गीत एकाएक फैलिन थाल्यो । गाउँमै रहेका प्रकाशलाई आफन्तहरूले फोन गरेर गीत चर्चामा आएको खबर सुनाउन थाले । बेनी बजार आएर इन्टरनेटमा प्रतिक्रियाहरू हेर्दा उनी स्वयं आश्चर्यमा परे । वर्षौंको संघर्षपछि सफलता अन्ततः उनको ढोकामा आइपुगेको थियो ।


त्यसपछि दुबईबाट फोन आयो । उताबाट आफन्तले भने, “अब विदेश आउने कुरा पनि नगर । नेपालमै बसेर संगीत गर ।” त्यही दिनबाट प्रकाशले वैदेशिक रोजगारीको सपना स्थायी रूपमा त्यागे । त्यसपछि ‘बैनी झ्यालैमा’, ‘चोली मैलो भो’, ‘जाम भो माइली’, ‘जुन माया’, ‘मन भुल्छ’, ‘सँगै जिउने मर्ने’, ‘आरन’ र ‘रिमै’ जस्ता गीतले उनलाई नेपाली लोकसंगीतको अग्रपंक्तिमा पु¥याए ।
उनका गीत लोकप्रिय हुनुको कारण केवल मिठो लय होइन । गीतभित्र नेपाली समाजको वास्तविक जीवन बोल्छ । गाउँबाट छुट्टिएका मानिसको स्मृति, परदेशीको पीडा, आमाको माया, प्रेमका अनुभूति र नेपाली संस्कृतिको आत्मा त्यहाँ जीवित भेटिन्छ । सायद त्यसैले उनका गीत सुन्दा धेरै नेपालीले आफ्नै कथा सुनेजस्तो महसुस गर्छन् ।


लोकसंगीतलाई संस्थागत बनाउने नयाँ अभियान
लोकप्रियताको शिखरमा पुगेपछि धेरै कलाकार व्यक्तिगत सफलतामै सीमित हुन्छन् । तर प्रकाश दुतराजको सपना त्यसभन्दा ठूलो छ । उनले नेपाली लोकसंगीतलाई अझ व्यवस्थित, व्यावसायिक र संस्थागत बनाउन चाहेका छन् । यही सोचले ‘दूतराज प्रकाश एन्ड लाइनअप’ को जन्म भएको हो ।


१२ सदस्यीय यस ब्यान्डमा गायक, वाद्यवादक र प्राविधिक टोली समावेश छ । ट्र्याकमा आधारित प्रस्तुतिभन्दा फरक ढंगले मौलिक नेपाली बाजाको प्रयोगसहित लाइभ सांगीतिक प्रस्तुति दिनु यसको मुख्य उद्देश्य हो । दूतराजका अनुसार यो उनको करिब डेढ दशक पुरानो सपना हो । नेपाली लोकसंगीतलाई आधुनिक ढंगले विश्वसामु प्रस्तुत गर्ने र मौलिक बाजाको प्रवद्र्धन गर्ने उद्देश्यले उनले यो अभियान थालेका हुन् ।


पछिल्लो समय राउटे समुदायको जीवनशैली, संस्कृति र पहिचान झल्काउने ‘रिमै’ जस्ता सिर्जना सार्वजनिक गरेर पनि उनले आफू केवल मनोरञ्जनका लागि मात्र गीत नबनाउने कलाकार भएको प्रमाणित गरेका छन् । उनी गीतमार्फत नेपाली समाज, संस्कृति र ओझेलमा परेका समुदायका कथा जोगाउन चाहन्छन् ।


आज प्रकाश दुतराज जहाँ पुगेका छन्, त्यो यात्रा कुनै संयोगको परिणाम होइन । त्यो आमाको पसिनाले लेखिएको कथा हो । त्यो अभावसँग लडेको बालकको कथा हो । त्यो दलालबाट ठगिएर पनि नटुटेको आत्मविश्वासको कथा हो । त्यो भाइबहिनीका लागि अभिभावक बनेको जेठो छोराको कथा हो । अनि त्यो संगीतलाई छोड्न खोज्दा संगीतले नै समातेर राखेको एउटा कलाकारको कथा हो ।


एक समय विदेश जाने बाटो खोजिरहेका प्रकाश आज त्यही नेपाली माटोको आवाज लिएर संसारभर पुगेका छन् । उनको स्वरमा गाउँ छ, आमाको माया छ, पहाडको सुगन्ध छ र लाखौं नेपालीको जीवनका भोगाइ छन् ।


त्यसैले आज प्रकाश दुतराज केवल सफल गायक मात्र होइनन् । उनी नेपाली लोकसंगीतको एउटा संस्थागत ब्राण्ड, संघर्षको प्रतीक र नेपाली माटोको जीवित आवाज बनेका छन् । उनका सपना अझै सकिएका छैनन्, यात्रा अझै रोकिएको छैन र लोकसंगीतको आकाशमा उनको स्वर अझै धेरै टाढासम्म गुञ्जिनेछ । विश्वलाई लोकसङ्गीतको नौलो स्वाद चखाउने उनको यो पहलकदमीले प्रकाशलाई साँच्चै जाज्वल्यमान बनाउने छ ।


विजयादशमीको शुभ अवसरमा दूतराजले शिरमैफूल माया (सुगा चरी) बजारमा ल्याएका छन् ।यो गीत२ हप्तामा दिनमा ४२ लाख७२ हजारभन्दा बढी पटक हेरिएको छ । अन्य गीतहरुजस्तै उनको यी गीतले समेत दर्शकको अपार माया प्राप्त गरोस्, शुभकामना ! यो बेनी साप्ताहिक पत्रिकामा पनि पढ्न सक्नुहुन्छ ।

Leave a Comment