म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा स्वर्गीय बिन्दु पराजुली काफ्लेको स्मृतिमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ।म्याग्दीको बेनी नगरपालिका–९ स्थित मन्दिरमा बेनपा १० पात्लेखतमा जन्मिनुभएकी बिन्दु पराजुली काफ्ले स्मृति फाउन्डेसनमार्फत सञ्चालित उक्त भवन निर्माणका लागि स्वर्गीय काफ्लेका श्रीमान् तथा छोराछोरीहरूले १ करोड २५ लाख आर्थिक सहयोग गर्नुभएको हो।
गलेश्वर शिवालय मन्दिर परिसरमा निर्माण गरिएको उक्त दुईतले भवनमा एकवटा ठूलो सभाहल र चारवटा कोठाहरू रहेका छन्। भवनसम्बन्धी यो विवरण बिन्दु पराजुली काफ्ले स्मृति कोषका प्रतिनिधि रमेश सुवेदीले जानकारी गराउनुभएको हो।
भवन उद्घाटनमा प्रमुख जिल्ला अधिकारी गणेश गैर, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पौलस्य पुलहआश्रम क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । भवन उद्घाटन समारोहको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले गलेश्वर शिवालय मन्दिरको आधुनिकीकरणमा पराजुली परिवारको योगदान रहेको बताउनुभयो । भवनबाट मन्दिरको सचिवालय सञ्चालन गरिने छ ।

उक्त कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष रेग्मी, सञ्चालन सदस्य सचिव सम्मरबहादुर थापाले गर्नुभएको थियो । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणहरुमा उल्लेख छ ।










