---Advertisement---

संस्थागत विद्यालयको साख जोगाउने जिम्मेवारी कसको?

On: October 31, 2026 8:18 AM
Follow Us:

(३० वर्षको शैक्षिक अनुभवबाट देखिएका केही यथार्थ र सुधारका प्रश्न)

ध्रुवसागर शर्मा

निजी तथा संस्थागत विद्यालयमा शिक्षकका रूपमा काम गर्न थालेको मेरो यात्रा २०५३ सालदेखि सुरु भएको हो। त्यसबेलादेखि आजसम्म अर्थात् २०८३ सालसम्म निरन्तर यही क्षेत्रमा रहेर शिक्षण गर्दै आएको छु। यश बिचमा मैले सातवटा शिक्षण संस्था ( निजी तथा संस्थागत विद्यालय) मा अध्यापन गरें । यस अवधिमा मैले संस्थागत विद्यालयको विकास, विस्तार, उपलब्धि र चुनौतीलाई नजिकबाट नियाल्ने अवसर पाएको छु।

२०५३ सालतिर बोर्डिङ स्कुलमा पढाउनु आफैँमा गर्व र प्रतिष्ठाको विषय थियो। समाजले संस्थागत विद्यालयका शिक्षकलाई फरक सम्मानका साथ हेर्थ्यो। शिक्षक हुनु मात्र होइन, बोर्डिङ स्कुलमा पढाउने शिक्षक हुनु पनि सामाजिक प्रतिष्ठासँग जोडिएको थियो। समयक्रमसँगै संस्थागत विद्यालयको संख्या बढ्यो, शैक्षिक पहुँच विस्तार भयो र यस क्षेत्रले नेपाली शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍यायो। तर अहिले यही क्षेत्र विभिन्न प्रश्न र आलोचनाको घेरामा परेको छ। निजी तथा संस्थागत विद्यालयको योगदानलाई बिर्सेर आज देखिएका केही कमजोरीका आधारमा समग्र क्षेत्रलाई बदनाम गर्नु न्यायोचित हुँदैन।

सरकारले पर्याप्त रूपमा गर्न नसकेको शैक्षिक विस्तारमा निजी क्षेत्रले लगानी गरेको छ। धेरै सञ्चालकले आफ्नो सम्पत्ति र श्रम लगाएर विद्यालय स्थापना गरेका छन्। उनीहरूले शिक्षालाई सेवा र व्यवसाय दुवैका रूपमा अघि बढाएका छन्। लगानी गरेपछि प्रतिफल खोज्नु स्वाभाविक हो। तर त्यससँगै हजारौँ विद्यार्थीलाई शिक्षा, अंग्रेजी भाषाको ज्ञान र प्रतिस्पर्धी क्षमता प्रदान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योग्य जनशक्ति उत्पादन गर्न यस क्षेत्रले पुर्‍याएको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित कतिपय संस्थागत विद्यालयले सीमित स्रोतसाधनका बाबजुद शिक्षा प्रदान गरिरहेका छन्। कतिपय विद्यालय पर्याप्त नाफा नहुँदा पनि समुदायको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा छन्। त्यसैले सबै सञ्चालकलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन।

अहिले संस्थागत विद्यालयका शिक्षकले समयमा तलब नपाउने, सेवासुविधाबाट वञ्चित हुने, अपमानजनक व्यवहार सहनुपर्ने र पेसागत मर्यादा कायम गर्न नसक्ने अवस्थाबारे विभिन्न चर्चा भइरहेका छन्। यी समस्या वास्तविक पनि हुन् र तिनको समाधान खोजिनुपर्छ। शिक्षकलाई श्रमको उचित मूल्य, सम्मान र सुरक्षित कार्य वातावरण दिनु विद्यालय सञ्चालकको दायित्व हो। तर यी सबै समस्याको दोष सञ्चालकलाई मात्र दिएर शिक्षकहरू आफ्नो जिम्मेवारीबाट उम्किन पनि मिल्दैन। मेरो अनुभवमा शिक्षक समुदायभित्र पनि गम्भीर आत्मसमीक्षाको आवश्यकता छ।

कतिपय शिक्षक आफ्नो योग्यता, क्षमता र सिर्जनशीलताभन्दा सञ्चालकसँगको निकटता र चाकडीलाई प्राथमिकता दिन्छन्। सहकर्मीका कमजोरी खोज्ने, कुरा लगाउने, एकअर्काको खुट्टा तान्ने र व्यक्तिगत स्वार्थका लागि अरूलाई होच्याउने प्रवृत्ति पनि देखिन्छ। यस्ता व्यवहारले योग्य, अनुभवी र इमानदार शिक्षकलाई निरुत्साहित बनाउँछन्। दुर्भाग्यवश, कतिपय अवस्थामा यस्तै प्रवृत्तिका व्यक्तिको प्रभावमा परेर सञ्चालकले पनि गलत निर्णय लिने गरेका छन्।

शिक्षणको अर्को चिन्ताजनक पक्ष मौलिकता र सिर्जनशीलताको अभाव हो। प्रविधिको प्रयोग आफैँमा नराम्रो होइन। स्मार्ट बोर्ड, मोबाइल र इन्टरनेट आजको शिक्षाका महत्त्वपूर्ण साधन हुन्। तर यिनको प्रयोग शिक्षकको मौलिक ज्ञान र शिक्षण क्षमताको विकल्प बन्नु हुँदैन। युट्युब वा इन्टरनेटमा उपलब्ध सामग्री देखाउने, विद्यार्थीलाई जस्ताको तस्तै सार्न लगाउने र त्यही सामग्री घोकाएर परीक्षामा राम्रो नतिजा ल्याएको दाबी गर्ने प्रवृत्तिले वास्तविक शिक्षणको उद्देश्य पूरा गर्दैन।

विद्यार्थीलाई प्रश्नको उत्तर सार्न सिकाउनु र आफ्नै विचार सिर्जना गर्न सिकाउनु फरक कुरा हुन्। दुई पृष्ठको मौलिक लेख लेख्न लगाउँदा सामान्य भाषिक शुद्धता कायम गर्न नसक्ने शिक्षकले विद्यार्थीको सिर्जनात्मक क्षमता कसरी विकास गर्न सक्छन्? शिक्षकको सफलता केवल आफ्नो विषयमा विद्यार्थीले ल्याएको परीक्षाफलले मापन हुँदैन। उसले विद्यार्थीमा कति ज्ञान, विवेक, नैतिकता, अनुशासन र आत्मविश्वास विकास गर्न सक्यो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

त्यसैले सञ्चालक र प्रधानाध्यापकले पनि सुनेका कुराकै आधारमा धारणा बनाउने होइन, आफ्नै विवेक र निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गर्नुपर्छ। शिक्षकको क्षमता, अनुभव, कार्यसम्पादन र व्यवहारलाई वस्तुगत रूपमा हेर्नुपर्छ। केही शिक्षकको स्वार्थपूर्ण गतिविधिका कारण योग्य शिक्षक अपमानित हुने र विद्यालयको वास्तविक शैक्षिक अवस्था लुकाएर अभिभावकलाई भ्रममा राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। यसका लागि सरकारको प्रभावकारी अनुगमन पनि अपरिहार्य छ।

शिक्षकको न्यूनतम तलब, सेवासुविधा, नियुक्ति, पेसागत सुरक्षा र कार्य वातावरणका विषयमा स्पष्ट नीति र त्यसको कार्यान्वयन हुनुपर्छ। विद्यालयको शैक्षिक गुणस्तर, सञ्चालकीय पारदर्शिता र शिक्षकको कार्यसम्पादन नियमित रूपमा मूल्याङ्कन गरिनुपर्छ। अन्ततः संस्थागत विद्यालयको साख सञ्चालकले मात्र जोगाउने होइनन्, शिक्षक, प्रधानाध्यापक, अभिभावक र नियमनकारी निकाय सबैको साझा जिम्मेवारी हो। शिक्षकले आफ्नो पेसागत धर्म र स्वाभिमान जोगाउनुपर्छ।

सञ्चालकले शिक्षकलाई कर्मचारी मात्र होइन, शैक्षिक संस्थाको महत्त्वपूर्ण आधारका रूपमा सम्मान गर्नुपर्छ। प्रधानाध्यापकले निष्पक्ष नेतृत्व दिनुपर्छ र सरकारले प्रभावकारी नियमन गर्नुपर्छ। ३० वर्षको शिक्षण अनुभवले मलाई सिकाएको एउटा कुरा के हो भने विद्यालय भवन, प्रविधि र परीक्षाको नतिजाले मात्र राम्रो विद्यालय बन्दैन।

असल विद्यालय बनाउन असल नेतृत्व, योग्य शिक्षक, नैतिक शिक्षण संस्कृति र पारस्परिक सम्मान आवश्यक पर्छ। शिक्षकको सम्मानबिना शिक्षाको सम्मान सम्भव छैन। तर शिक्षकले पनि आफ्नो योग्यता, क्षमता र आचरणबाट त्यो सम्मान आर्जन गर्न सक्नुपर्छ। संस्थागत विद्यालयको भविष्य सुधार्ने सुरुवात यही आत्मसमीक्षाबाट हुनुपर्छ।

Leave a Comment