हरिकृष्ण गौतम
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण म्याग्दीमा गएरातीदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ । स्वचालित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मंगला गाउँपालिका– कुहुँमा ६२. २ मिलिमिटर बर्षा मापन गरिएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावसँगै स्वचालित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मालिका गाउँपालिका–६, दरबाङमा ६१.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने धवलागिरी गाउँपालिका–३, मुनामा ३६.८ मिलिमिटर, रघुगंगा गाउँपालिका–१, बेगखोलामा ३२. ८ मिलिमिटर वर्षा रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभागको पोखराका मौसमविद् सुमना रेग्मीले बेनीअनलाइनलाई बताउनुभयो ।

उत्तरी म्याग्दीको भुरुङ तातोपानीमा बाढीले बगाएका कारण हाल स्वचालित मौसम मापन केन्द्र नरहेपनि उत्तरी क्षेत्रमा बर्षा भइरहेको मौसमबिद् रेग्मीको भनाई छ । १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १० देखि ५० मिलिमिटर मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति धेरै भारी वर्षा मानिन्छ । हाल गण्डकी प्रदेशमा सबैभन्दा धेरै हिमाली जिल्ला मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १११ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा चक्रवात ‘अर्नब’ को प्रभावमा गण्डकी प्रदेश समेत परेको छ ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका स्थानका बासिन्दालाई सतर्क रहन जिल्ला अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।म्याग्दीमा बाढीपहिरोको प्रभावित क्षेत्रमा रहेका बासिन्दालाई अर्लट गरिएको छ ।









