---Advertisement---

अस्पतालमा बिरामीको डायलासिसका लागि पानीको अभाव

On: November 4, 2026 5:31 PM
Follow Us:

हरिकृष्ण गौतम
जीवन बचाउन अस्पताल पुगेका बिरामीलाई समेत उपचारका लागि आवश्यक गुणस्तरयुक्त पानी जुटाउन कठिन भएको छ। बेनीमा खानेपानी अभावको प्रदेश अस्पतालमा जटिल रोगको उपचार गराइरहेका बिरामी सम्मै पुगेको छ। गत असोजको वर्षापछिको बाढीपहिरोले खानेपानी आपूर्ति संरचनामा क्षति पु¥याएसँगै अस्पतालमा पानीको संकट बढेको हो ।

नियमित डायलासिसका लागि प्रयोग गर्न खोजिएको वैकल्पिक स्रोतको पानीमा क्याल्सियमको मात्रा उच्च र कडापन बढी भएकाले उपचार सेवामा समेत समस्या देखिएको छ । अस्पतालको नियमित उपचार, पिउने पानी र सरसफाइका लागि समेत दैनिक २० देखि २५ हजार लिटर पानी चाहिने भए पनि पर्याप्त आपूर्ति नहुदाँ समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताए।

अत्याधिक मात्रामा चुना भएको पानीले बिरामीलाई असर गर्ने जोखिम छ, तत्काल सतप्रतिशत शुद्ध पानीको आवश्यक छ’ डा. बाँस्तोलाले भने ।उनका अनुसार अस्थायी पानीलाई सरसफाईका लागि मात्रै उपयुक्त देखिएको छ ।


मृगौला पीडितका आफन्त मंगला गाउँपालिका–५, तारा क्षत्रीले स्वास्थ्यकर्मीलाई खानेपानीको नियमित आपूर्ति नहुदाँ सेवा प्रवाहमा धेरै झन्झट भएको बताए । ‘डायलाइसिस सेवा बिरामीमैत्री छ, स्वास्थ्यकर्मीले समेत सहज सेवा दिनुहुन्छ, अहिले पानीको अभावले सास्ती भएको छ’ क्षत्रीले भने ।

अस्पतालमा खानेपानीको अभावको समस्या समाधानका लागि अस्पतालले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । ‘बिरामीको उपचारमा पहिलो प्राथमिकतामा राखेर अस्पतालमा पानी आपूर्तिका वैकल्पिक उपायको खोजी भइरहेको छ, प्रयाप्त पानीका लागि नयाँ योजना थप गर्न पनि हुनसक्छ’ प्रजिअ गैरले भने ।बाढीपहिरोले बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुहान र पाइपलाइनमा क्षति पु¥याएपछि बजारवासीले समेत एक महिनादेखि पानीको अभाव झेल्दै आएका छन्।


बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइनमार्फत पानी ल्याउने प्रयासमा जुटेको छ । बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल आठ लिटरका दरले मात्र आपूर्ति भइरहेको छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ।


डायलासिसमा शुद्ध पानी किन अनिवार्य छ?
डायलासिसका लागि अस्पतालमा दैनिक १० हजार लिटर पानी आवश्यक पर्छ । बिरामीको डायलासिस प्रक्रियामा रगतमा रहेका युरिया, क्रिएटिनिनजस्ता विषाक्त पदार्थ तथा अतिरिक्त नुन र खनिज हटाउन ठूलो मात्रामा शुद्ध पानी आवश्यक हुन्छ । प्रविधिबाट शुद्धीकरण गरी ब्याक्टेरिया, हानिकारक रसायन र अनावश्यक खनिज हटाइएको पानी मात्र प्रयोग गर्नुपर्ने भएकाले यसका लागि सामान्य पिउने पानी प्रयोग गर्न मिल्दैन ।

एक पटकको डायलासिस प्रक्रियामा बिरामीको रगत मेसिनको फिल्टरमार्फत करिब १२० देखि १५० लिटर पानीबाट तयार गरिएको विशेष घोलको सम्पर्कमा आउँछ। त्यसैले पानीमा हुने अशुद्धताले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसको गुणस्तरमा विशेष ध्यान दिने गरिएको छ । पानीमा फोहोर भएमा त्यसले बिरामीलाई असर गर्छ । अस्पतालमा हाल दैनिक डायलाइसिस सेवा लिनेमा ४० जनाभन्दा बढी बिरामी छन् ।

Leave a Comment