---Advertisement---

चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता सुरु

On: November 4, 2026 5:26 PM
Follow Us:

म्याग्दीको बेनीमा बुधबारदेखि चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै जुग्जालीले खेल पूर्वाधार विकासका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उद्घाटन समारोहमा बेनी नगरपालिका प्रमुख सुरत केसीले बेनीको खुलामञ्च खेलमैदानलाई थप व्यवस्थित बनाउन नगरपालिकाको स्रोतसाधनको प्रयोग भएपनि संघ र प्रदेश सरकारको प्रयाप्त सहयोग नहुदाँ समयमै सम्पन्न नभएको बताउनुभयो । मेयर केसीले अब ९ ए साईड खेलका लागि केही महिनामा नगरपालिकाकै बजेट प्रयोग गरिने बताउनुभयो ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लामा हुने खेलकुद प्रतियोगितासहित प्रतिभाको पहिचानमा सघाइरहेको बताउनुभयो । बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरले चन्दा तथा सहयोग जुटाएर साविक धौलागिरि अञ्चलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १४ टोली सहभागी भएका छन् । बुधबार बौद्ध ह्वाइट क्लब र बेनी नगरपालिका–१ को आनन्दबगर सेभेन स्टार युथ क्लबबीच उद्घाटन खेलमा १–१ गोलसँगै पेनाल्टी सुटआउटमा आनन्द बगर बिजय भएको क्लवका सल्लाहकार रमेश फगामीले जानकारी दिनुभयो ।


प्रतियोगिताको विजेता, उपविजेता र तृतियले क्रमश २ लाख २२ हजार २२२ रुपैयाँ, १ लाख ११ हजार १११ रुपियाँ र तेस्रो हुने टोलीले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्ने सचिव श्याम सुन्दर कँडेलले बताउनुभयो ।अनुशासित टोलीलाई २२ हजार २२२ रुपियाँ तथा उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपैयाँ प्रदान गरिनेछ ।

उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि सात हजार ७७७ रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठसहित वडा अध्यक्षहरु,सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित विभिन्न संघसंस्थाको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता बुढामगर, स्वागत उपाध्यक्ष शिव शेरचन र सञ्चालन सचिव कँडेलले गर्नुभएको थियो ।


प्रतियोगिता सञ्चालन गर्न १६ लाख ५७ हजार ७७२ खर्च हुने अनुमान गरिएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता हेर्न दर्शकले ५० रुपियाँको टिकट लिनुपर्नेछ । प्रवेश शुल्कबाट सङ्कलित रकममध्ये ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप हस्तान्तरण गरिने छ भने अन्य सहयोगदाताबाट भएको खर्चको बचत रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको छ।

Leave a Comment