तिहारको रौनक सुरु भएसँगै गाउँघरमा रंगीविरंगी फूल फुलेका छन् । सयपत्री र बाह्रमासे फूलले गाउँघरको वातावरण रमणीय बनेको छ । तर, फूल र उज्यालोको पर्वका रूपमा चिनिने तिहारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका लागि आवश्यक पर्ने मखमली फूल भने म्याग्दीका गाउँघरमा देखिन छाडेको छ ।
केही वर्षअघिसम्म गाउँघरमा प्रशस्त पाइने मखमली फूल पछिल्लो समय लोप हुँदै गएको छ । व्यावसायिक रूपमा सयपत्री फूलको खेती हुन थालेपछि म्याग्दी सयपत्री फूलमा आत्मनिर्भर बन्दै गए पनि भाइटीकामा विशेष महत्व राख्ने मखमली फूलको संरक्षणमा भने ध्यान पुग्न सकेको छैन ।
‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ भन्ने चर्चित लोकगीतले पनि तिहारमा मखमली फूलको सांस्कृतिक महत्व र दाजुभाइप्रतिको दिदीबहिनीको मायालाई उजागर गर्छ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने परम्परा छ ।
तर, मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले थुँगे फूल, सयपत्री तथा अन्य मौसमी फूलका माला प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
जानकारहरूका अनुसार तापक्रम वृद्धिका कारण माटोको अम्लीयपन बढ्नु र फूलको अनुकूल वातावरणअनुसार संरक्षण तथा खेती विस्तार गर्न नसक्नु मखमली फूल हराउँदै जानुका सम्भावित कारण हुन् ।
बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालन गर्दै आउनुभएका टीकाराम आचार्यका अनुसार पछिल्ला तीन वर्षयता म्याग्दीका ग्रामीण भेगमा मखमली फूल देखिन छाडेको छ । उहाँले यसको संरक्षणका लागि आवश्यक पहल हुन नसकेको बताउनुभयो ।
संस्कृतमा रक्तमल्लिका भनिने मखमली फूल नेपाली संस्कृतिमा विशेष महत्व राख्ने फूल हो । सेतो, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने यस फूलको भाइटीकामा विशेष प्रयोग हुन्छ । नझर्ने र लामो समयसम्म नओइलाउने विशेषताका कारण यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ ।
अहिले बजारका पसलहरूमा सस्ता तथा कृत्रिम फूलका मालाले स्थान पाउन थालेका छन् । मखमली फूलसँगै गाउँघरमा पाइने सुपारी, गन्धौली र लालुपाते लगायतका फूलसमेत देखिन छाडेका छन् ।
पहिलाको तुलनामा सयपत्री फूलसमेत कम पाइन थालेको बेनीकी विमला सुवेदीले बताउनुभयो । प्राकृतिक फूलको महत्व बिर्संदै जाँदा गाउँघरमा फूल फुले पनि देखाउनकै लागि प्लास्टिकका माला प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ छ ।
मखमली फूलको विशेषता यसको दीर्घकालीन टिकाउपन हो । छुँदा केही खस्रो र घोच्ने प्रकृतिको हुने यो फूल सुपारीजस्तो गोलाकार पुष्पपुञ्जमा फुल्छ । बैजनी, प्याजी, सेतो, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने मखमली फूलको अजम्बरी प्रकृतिलाई आत्मसात् गर्दै दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरी माला लगाइदिने परम्परा रहिआएको छ ।
तिहारको सांस्कृतिक पहिचानसँग जोडिएको मखमली फूल गाउँघरबाटै हराउँदै जान थालेपछि यसको संरक्षण र खेती विस्तारमा सम्बन्धित निकाय तथा स्थानीय समुदायले ध्यान दिनुपर्ने देखिएको छ । ध्रुवसागर शर्मा












