---Advertisement---

चौथो बौद्ध कपको फाइनलमा मितेरी दुखु र एभरग्रिन भिड्ने

On: November 7, 2026 7:20 PM
Follow Us:

हरिकृष्ण गौतम

बेनीमा जारी चौथो बौद्ध कप फुटबल प्रतियोगिताको फाइनमा मितेरी दुखु यूवा क्लव र एभरग्रिन युथ क्लव प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको सेमिफाइनमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको खेलमा मितेरी दुखु यूवा क्लवले मनसुन यूवा क्लवलाई टाइब्रेकरमा ५-४गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। त्यसैगरी बेनी खुल्लामञ्चमा आज दिउँसो भएको अर्को सेमिफाइनल खेलमा एभरग्रिन युथ क्लवले पश्चिम दरबाङ यूवा क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।


प्रतियोगितामा तेस्रो स्थानका लागि आइतबार विहान ९ बजे मनसुन र पश्चिम दरबाङको खेल हुने बौद्ध युवा क्लबका सल्लाहकार रमेश फगामीले बेनीअनलाइनलाई बताउनुभयो । बेनी नगरपालिका–७ मंगलाघाटस्थित क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपालको ए डिभिजनका खेलाडीसहित विदेशी खेलाडीको आगमनले दर्शकलाई उत्साहित बनाएको थियो ।१४ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ,उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र तेस्रो हुने टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टोलीलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो ।


उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही सात हजार सात सय ७७ रुपैयाँ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।धौलागिरी क्षेत्रका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हालसम्म आयोजना भएका फुटबल प्रतियोगितामध्ये बौद्ध कपको पुरस्कार राशि सर्वाधिक रहेको क्लव अध्यक्ष दुर्गा बुढामगरले बताउनुभयो । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको अध्यक्ष बुढामगरको भनाई छ ।


प्रत्येक टोलीमा बढीमा दुई जना विदेशी खेलाडी समेत समावेश गर्न पाइने व्यवस्था अनुसार क्लवले प्रति खेल २० हजारसम्म तिरेर बिदेशी खेलाडीलाई भित्राएका थिए । प्रतियोगिता सञ्चालनका लागि १६ लाख ५७ हजार सात सय ७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष कमल घर्तीमगरको भनाई छ ।

२०६४ सालमा स्थापना भएको बौद्ध युवा क्लबले फुटबल प्रतियोगितासँगै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ । पहिलो संस्करणको उपाधि जनप्रिय दरवाङ, दोस्रो माउन्ट एभरेष्ट अफ्रिकन युनाइटेड र तेस्रो संस्करणको उपाधि आयोजक बौद्ध युवा क्लबले नै जितेको थियो ।

Leave a Comment