---Advertisement---

बाढीपीडितलाई चाडपर्वले छोएन

On: November 7, 2026 5:39 PM
Follow Us:

शुक्रबारदेखि तिहार पर्व सुरु भयो । गाउँ र सहरका चोक तथा गल्लीमा देउसी भैलो खेल्न थाले । सबै तिर तिहारको चहलपहल बढ्दै छ । तर कुनै बेला निकै चहलपहल हुने फोर्से बजारमा यतिबेला सन्नाटा छाएको छ । गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीले बजारको तल्लो क्षेत्र बगाएपछि अहिले उक्त क्षेत्र बगरमा परिणत भएको छ ।

बाढीले बस्ने थातथलोनै बगाएपछि फोर्सेवासीलाई न दसैँले छोयो, नत तिहारको रौनक नै छ । स्थानीयको मनमा घरविहीन हुनु परेको चिन्ताले सताइरहेको छ । पर्वतको जलजला गाउँपालिका-८ मा पर्ने फोर्से बजारमा रहेका ७५ घर र टहरा बाढीले बगाएपछि सयौँ नागरिक घरबारविहीन बनेका छन् ।

उच्च जोखिममा रहेका २७ घरका स्थानीय बिस्तारै घर मर्मत गरेर बस्न थालेका छन् । बाढीले घर बगाएपछि बजारमाथि टेन्टमा बस्दै आएका पीडित चिसो बढेपछि आफन्त र कोठा भाडामा लिएर सर्न थालेका छन् । बाढीबाट यहाँका करिब ३ सय जना प्रभावित भएका थिए । प्रभावितलाई अस्थायी रुपमा टेन्टमा राखिएको थियो । अहिले घरविहीन भएका सरकारको सहयोगको आशामा छन् ।

सामान्य क्षति पुगेको घरमा मर्मत गरेर बसेका स्थानीय रातिमा निदाउन सक्दैनन् । कतिबेला बाढी आएर बगाउँ छ कि भन्ने त्रास उनीहरुमा छन् । बाढी गएको केही दिनसम्म त पीडितहरु वरपर आएर आफ्ना सामान भेट्याउने आशमा जोखिरहे तर नभेटिएपछि अहिले आउन छोडे । टेन्टबाटसमेत सबै कोठा भाडामा लिएर सरिसके ।

केही पीडित दसैँ अगावै टेन्ट छोडेर गएका थिए भने केहीले दसैँ पछाडि छोडे । बाढीले घर बगाएपछि आफन्तकोमा आश्रय लिँदै आएका टिकाराम क्षेत्रीले घरसँगै भाडाकुँडा, लत्ता कपडासहित सबै सामान बगाएको बताए । बाढी गए लगत्तै दसैँ तिहार आएको भन्दै पैसा नहुँदा बच्चालाई मिठो मसिन खुवान र एक जोड नयाँ कपडा किनिदिन नसकेको दुखेसो पोखे ।

‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो । अहिले आफन्तको घरमा सिंगो परिवारनै बसेका छौँ । अरुले उठेर जाउ भनेपछि जतिबेला पनि जानु पर्‍यो’ क्षेत्रीले भने – ‘दसैँ आयो गयो । फेरि तिहार आयो । साना छोराछोरी छन् । उनीहरुले राम्रो लगाउने, मिठो खाने भन्छन् । पैसा छैन कहाँबाट लिएर उनीहरुलाई मिठो खुवाउने ?, नयाँ लुगा किनिदिने ? निकै पीडामा पर्‍यो ।’

अर्का बाढी पीडित चन्द्रा कुमारी फगामी मगरले टेन्टमा बस्दा जाडोले बिरामी परेपछि बजारको एक घरमा कोठा भाडामा लिएर बसेको सनाइन् । घरको आधाभन्दा बढी भाग बाढीले बगाएपछि घर बस्नै नमिल्ने अवस्थामा रहेको उनको भनाइ छ । विभिन्न संघ संस्थाले दिएको खानेकुरा खाइरहेको भन्दै एक जोडी कपडासमेत घरबाट निकाल्न नपाएको फगामीले बताइन् ।

गहभरी आँशु झादै फगामीले भनिन् – ‘अब कहाँ बस्ने ?, कहाँ जाने ?, भएको यही घर थियो । त्यही पनि बाढीले बगाइ दियो । हाम्रो त एक टुक्रा जमिन पनि छैन । सरकारले सानो सानो बस्ने घर बनाइ दिए हामीलाई अरु केही चाहिने थिएन । बुढेसकाल लाग्यो, काम गर्न पनि सकिदैन । यस्तो बेला बाढीले बेघरबार बनायो ।’

बाढी पीडित रामप्रसाद सुवेदीले अहिलेसम्म व्यक्ति र संस्थाबाट राहत सामग्री सहयोग प्राप्त भए पनि सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गरे । बाढीले सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्य मुकदर्शक भएर बसेको उनको भनाइ छ । चाडबाडको बेला पीडितलाई थोरै भए पनि सहयोग गरे पीडाका बेला भए पनि पर्व मनाउने सुवेदीले बताए । पीडितको दीर्घकालीन व्यवस्थान हुनु पर्ने उनले सुनाए । बाढीले पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाएको उनी बताउँछन् ।

डम्मर बुढा मगर /बागलुङ


Leave a Comment