हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन आयोजन गर्न लागिएको महायज्ञ अगाडी नै करिब २० लाख संकलन भएको छ । यही कात्तिक २६ देखि आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ” को घरदैलो अभियान, प्रचारप्रसार तथा अन्य विभिन्न काम अन्तिम चरणमा पुगेको छ । शैक्षिक अभियानका लागि घरदैलो,मेलापातमा रहेका अभिभावक तथा चन्दादाता भेटघाटका साथै स्वदेश तथा विदेशमा रहेका दाताबाट समेत आर्थिक सहयोग आउन थालेको प्र.अ. डा. नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

हालसम्म विद्यालयका पूर्व प्रअ भद्र बहादु क्षत्रीबाट ५ लाख ५ हजार ५५५ रुपैयाँ, पुर्व विद्यार्थी महेन्द्र घर्तीबाट ३ लाख ५० हजार रुपैयाँ, भुपु माननीय नरबहादुर पुनबाट ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । न्यूनतम ५ हजारदेखि माथिको आर्थिक प्राप्त भइरहेको प्रअ डा.खत्रीले बेनीअनलाइनलाई बताउनुभयो । विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।

पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र . दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ. हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिनेछ ।

प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको ब्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।
















