नेपाल सरकारले तिहार पर्वका अवसरमा खेलिने परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ। नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गृह सचिवस्तरीय निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै देउसी–भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सातबुँदे निर्देशन जारी गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरले बताउनुभयो ।
प्रजिअ गैरेका अनुसार देउसी–भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा चौबीसै घण्टा सञ्चालन गर्न पाइनेछ भने देउसीभैलोको नाममा कसैलाई जबरजस्ती चन्दा वा दक्षिणा दिन बाध्य पार्न पाइने छैन । देउसी–भैलो पूर्ण रूपमा स्वैच्छिक हुनुपर्ने र जवरजस्ती आर्थिक सहयोगको माग भएका कानुनी कारवाही गरिने प्रजिअ गैरेको भनाई छ ।जातजाति, धर्म, भाषा, लिङ तथा समुदायबीच घृणा र द्वेष फैलाउने अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोग गर्न निषेध गरिएको छ।
चाडपर्वका क्रममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन नपाइने निर्देशनमा उल्लेख छ। ध्वनि प्रदूषण नियन्त्रणमा समेत ध्यान दिन आग्रह गरेको छ। अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम प्रयोग नगर्न तथा अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा पनि ध्यान दिन निर्देशन दिइएको छ।
यसअघि जारी गरिएको गृह मन्त्रालयको २०८३ असोज २४ गतेको सूचनासमेत पूर्ण रूपमा पालना गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। देउसी–भैलो तथा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा प्रहरी नियन्त्रण कक्षको १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।












