म्याग्दीको सदरमुकाम बेनीमा शनिबार विविध कार्यक्रमका साथ नेपाल संवत् ११४७ को भव्य स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलःम्याग्दीद्वारा बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रमको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं नेपाल संवत् नेपालीको मौलिक भएकाले बताउनुभयो ।

नेपाल संवत्को अवसरमा नेवार समुदायको मौलिक पोसाकमा सजिएर बेनीबजार प्रभातफेरी गरी मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिको पनि सहभागिता रहेको थियो । प्रभातफेरी बजार विभिन्न राजनीतिक दलका प्रतिनिधि,संघ संगठनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ‘नेपाली समुदायका लागि नेपाल संवद्को दिन विशेष छ, यो सबै नेपालीको साझा संवद्को रुपमा मनाउनुपर्छ’ प्रमुख अतिथि मेयर केसीले भन्नुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश गैरे, नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपाका जिल्ला संयोजक शेरबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिरबहादुर थापा,नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खमबहादुर थापा, धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले शंखधर साख्वाको परोपकारी भावना र उहाँले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताउनुभएको थियो ।

कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने निजीबाट रोचन श्रेष्ठ, अभिनव श्रेष्ठ, अभ्यसर्मिदा श्रेष्ठ,सामुदायिकतर्फ बिकल्प श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराएका थिए ।

नेपाल भाषा मंकाःखलःम्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र सहसचिव सृजना श्रेष्ठ को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न जातजातिका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

















