आवश्यक कागजात बिना अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको एक ट्याक्टरलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीले मंसिर २ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर १ गते बेनी नगरपालिका–८ स्थित कालीपुल चेक पोष्टबाट ग १ त ६०८० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
अस्थायी प्रहरी पोष्ट कालीपुलबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा भ्याट बिल लगायतका आवश्यक कागजात बिना बालुवा ओसारपसार गरिरहेको पाइएपछि उक्त ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बेनी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।











