---Advertisement---

गोप्य सूचनापछि जंगलमा प्रहरीको खोजी, धमाधम भेटिँदै भरुवा बन्दुक

On: November 18, 2026 8:39 PM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थानको मगरदाङमा एकैपटक ७ थान भरुवा बन्दुक बरामद भएको छ । गाउँकोवन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते विहान ६ बजे गस्ती गर्ने क्रममा वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार ७ थान भरुवा बन्दुकमध्ये ५ थान साबुद र २ थान बेसाबुद अवस्थामा रहेको छ ।


बरामद गरिएका बन्दुक आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दरबाङमा ल्याएर राखिएको छ। यही हप्ताको आइतबार इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको पाँच जनाको प्रहरी टोलीले देवीस्थानकै पन्थोकमा बेवारिसे अवस्थामा लुकाइराखिएका थप चार थान भरुवा बन्दुक बरामद गरेको थियो ।

जंगलमा लुकाएर राख्ने, बन्यजन्तु, चराचुरुङीको शिकार गर्ने गरेका ेआशंका गरिएको छ । पछिल्लो समय भरुवा बन्दुक भएकाले समेत प्रहरीको निगरानीमा पर्न सक्ने भन्दै सामुदायिक जंगलमा लगेर छोड्ने गरेको र स्थानीयको गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गर्ने गरेको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले सूचनाका आधारमा प्रहरी कुनैपनि बेला अवैध बन्दुक भएको स्थानसम्म पुग्ने बताउनुभयो ।


‘सूचना दिनेको परिचय गोप्य हुन्छ, धेरै ठाउँबाट सूचना आएको छ, हामीले निगरानी बढाइरहेका छौ, अझै अटेर गरी लुकाएको पाइएमा कडा कारवाही हुन्छ’ प्रनाउ कार्कीले बेनीअनलाइनलाई भन्नुभयो । म्याग्दीका सबै प्रहरी यूनिटलाई भरुवा बन्दुक भएका र सम्भावित स्थानमा छापा हान्न समेत सर्कुलर भएपछि समुदायको सहयोगमा खोजीकार्य तिब्र पारिएको प्रनाउ कार्कीको भनाई छ । हालसम्म बरामद भएका अधिकांस समुदायकै सूचनाका आधारमा सफलता मिलेको प्रहरीले जनाएको छ ।


म्याग्दीमा अवैध भरुवा बन्दुक खोजी तथा संकलनका लागि सञ्चालन गरिएको ‘ब्राभो शेरा’ अभियानको साढे ११ महिनामा १ सय ७८ थान बन्दुक बरामद भएको छ । गतबर्ष प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी २०८२ साल मङ्सिर १५ गतेदेखि सुरु भएको अभियान निरन्तर रहेको छ।

बर्षभरी नै सञ्चालन गरिएको खोजीकार्यले अवैध चोरीनिकासीमा समेत न्यूनिकरण भएको स्थानीयबासीले समेत बताउने गरेका छन् । साँझ र रातको समयमा निरन्तर बनजंगलमा आवाज आउने क्षेत्रमा अहिले शान्त रहेको छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र, सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा हुने अवैध चोरीसिकार नियन्त्रणमा समेत अभियानले सहयोग पु¥याएको छ। अवैध बन्दुकसहित फेला परेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Leave a Comment