---Advertisement---

दिपशिखा माविको महायज्ञमा सवा दुई करोड संकलन, मुक्तिप्रसाद रोकाद्वारा १६ लाख ६६ हजार दान

On: November 18, 2026 10:38 PM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सवा दुई करोड रुपैयाँ सहयोग जुटेको छ। विपन्न, भौगोलिक रूपमा विकट र अपायक स्थानका विद्यार्थीलाई आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गत बिहीबारदेखि आयोजित महायज्ञमा अष्ट्रेलियामा बस्दै आउनुभएका कुहुँ तुसारेपानीका मुक्तिप्रसाद रोकाले १६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गर्नुभएको छ।

महायज्ञमा सहभागी हुन बुधबार गाउँ आउनुभएका समाजसेवी रोकालाई घरबाट बाजागाजा र भजनकीर्तनसहित महायज्ञस्थलमा ल्याएर सम्मान गरिएको थियो। यसअघि स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा १५ लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग घोषणा गर्नुभएका रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापित गणेश–पोविसरा स्मृति कोषमा रहेको रकमसमेत विद्यालयको शैक्षिक अभियानमा समर्पण गर्नुभएको हो।

जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको उक्त कोषमार्फत विद्यालयमा वार्षिक रूपमा सञ्चालन हुँदै आएका शैक्षिक तथा खेलकुद कार्यक्रमलाई निरन्तरता दिने र कोषलाई समेत वृद्धि गर्ने घोषणा रोकाले महायज्ञस्थलमै गर्नुभएको थियो। बुधबार महायज्ञका प्रमुख अतिथिसमेत रहनुभएका रोकाले गाउँको विद्यालयलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

महायज्ञमा बुधबारसम्म प्राप्त प्रतिबद्धताअनुसार सवा दुई करोड रुपैयाँ जुट्ने सुनिश्चित भएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो। बिहीबार समापन हुँदासम्म निर्धारित लक्ष्यअनुसार रकम संकलन हुने उहाँको अपेक्षा छ। ‘हामी लक्ष्यनजिक पुगेका छौँ। आर्थिक संकलन अभियान महायज्ञपछि पनि निरन्तर रहनेछ,’ उहाँले भन्नुभयो।

भौतिक रूपमा उपस्थित हुन नसकेका सहयोगदाताले क्यूआर कोडमार्फत बैंक खातामा जम्मा गरेको रकमको विवरणसमेत संकलन भइरहेको छ। महायज्ञमा दैनिक भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। चौरासी पूजा, तुलादान, ग्रहशान्तिलगायत धार्मिक कार्यमा पनि भक्तजनको सहभागिता उत्साहजनक रहेको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताउनुभयो।

पण्डित दीनबन्धु पोखरेलबाट कथावाचन भइरहेको महायज्ञबाट तीन करोड रुपैयाँ संकलन गर्ने र दुई करोड रुपैयाँभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको छ। महायज्ञमा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक गतिविधि सञ्चालन भइरहेका छन्।

प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरी अध्ययनका लागि बालबालिकालाई सहरबजार पठाउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने विद्यालयको लक्ष्य छ। महायज्ञमा मंगला गाउँपालिकासहित बेनी नगरपालिका तथा मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाका शैक्षिक संस्थाका प्रतिनिधि र सर्वसाधारणको समेत सहभागिता रहेको छ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी अध्ययनरत छन्। विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ।

Leave a Comment