हरिकृष्ण गौतम
आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला भलिबल टोलीमा म्याग्दीका तीन जना खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश भलिबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा कात्तिक २९ र ३० गते पोखरामा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट म्याग्दीका तीन जना मुख्य टोलीमा र एक जना वैकल्पिक सूचीमा पर्न सफल भएका हुन् ।

छनोट हुने म्याग्दीका खेलाडीहरूमा ओपन स्पाईकर रिक्जना बोटे (जर्सी नं. ११), सेटर रेविना घर्ती (जर्सी नं. २) र लिवेरो काजल छन्त्याल (जर्सी नं. १७) रहेका छन् । यस्तै, मिडल ब्लकर सोनी फगामी (जर्सी नं. ६) वैकल्पिक खेलाडीको रूपमा छनोट भएको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव मलिन रोकाले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

म्याग्दीले यसपटक छनौट खेलमा फितलो प्रस्तुतीका कारण सम्भावना भएका खेलाडीहरुले अवसरबाट बन्चित भएका छन् । विगतमा पूर्व राष्ट्रिय कप्तान अरुणा शाहीको कप्तानीमा गण्डकी प्रदेशस्तरीय च्याम्पियन सहित राष्ट्रिय खेलमा म्याग्दीको बलियो उपस्थितीले धेरै म्याग्देली खेलाडीले छनौटसहित महत्वपूर्ण जिम्मेबारी पाउने गरेका थिए ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ र महासचिव टुक बहादुर गुरुङद्वारा सोमबार जारी पत्रअनुसार छनोट समितिको निर्णयलाई अनुमोदन गर्दै प्रदेश खेलकुद परिषद्मा नामावली पठाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्न १४ जना मुख्य र ५ जना वैकल्पिक गरी कुल १९ जना महिला खेलाडी छनोट भएका छन्।

मिडल ब्लकर सोनी फगामी (जर्सी नं. ६) वैकल्पिक खेलाडी
छनोट भएका मुख्य टोलीका अन्य खेलाडीहरूमा पर्वतका चार, बागलुङ, कास्की र नवलपुरका दुई–दुई तथा स्याङ्जाका एक जना रहेका छन् । यस्तै, वैकल्पिकतर्फ कास्कीका दुई र म्याग्दी, मुस्ताङ तथा स्याङ्जाका एक–एक जना खेलाडी छनोट भएका छन् । यसपटक म्याग्दीको पुरुष टिमले समेत फितलो खेल प्रर्दशन गरेको छ।










