गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगितामा म्याग्दी जिल्ला टोली च्याम्पियन बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको म्याग्दीबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोलीमा ६ जना खेलाडी छनोट भएका छन्। गण्डकी प्रदेश बास्केटबल संघद्वारा आयोजित प्रदेशस्तरीय छनोट प्रतियोगितामा म्याग्दीले प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगिताको समापनसँगै आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १८ सदस्यीय पुरुष बास्केटबल टोली घोषणा गरिएको संघका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिनुभएको छ। संघले सार्वजनिक गरेको अन्तिम खेलाडी सूचीमा म्याग्दीका पुस्कल छन्त्याल, ओमकार रखाल, सुदिप कार्की, रनिक गर्बुजा, दर्शन पाइजा र डिम्पल छन्त्याल परेका छन्। प्रदेश टोलीमा छनोट हुने खेलाडीमध्ये म्याग्दीका ६ जना छन्।
त्यसैगरी पर्वतबाट सुजन सेरपुर्जा, मिनबहादुर पुन, रविन गर्बुजा र खुमबहादुर मगर गरी चार जना छनोट भएका छन्। कास्कीबाट राज गुरुङ, दर्पण थापा र सुदिप रसाइली गरी तीन जना तथा मनाङबाट कर्म जिग्मे ढाका गुरुङ र तेन्जिङ गुरुङ गरी दुई जना छनोट भएका छन्। बागलुङका जैसाङ सुनुवार, लमजुङका रोहित गुरुङ र तनहुँका रविन श्रेष्ठ पनि प्रदेश टोलीमा परेका छन्। प्रदेशस्तरीय प्रतियोगितामा च्याम्पियन बन्नुका साथै राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश टोलीमा सर्वाधिक खेलाडी पठाउन सफल भएपछि म्याग्दीको बास्केटबल खेल क्षेत्र उत्साहित बनेको छ।










