सात समुद्रपारि अष्ट्रेलियामा रहेर पनि जन्मभूमि म्याग्दीप्रतिको माया, नेपाली संस्कृति संरक्षणको हुटहुटी र सामाजिक सेवाको भावनालाई एकै ठाउँमा जोड्दै म्याग्दी जलजला परिवार अष्ट्रेलियाले आयोजना गरेको देउसी–भैलोबाट ३० लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।
नेपाली कला, संस्कृति र परम्पराको प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्यले आयोजित कार्यक्रममा १३० जना सहयोगदाताबाट २८ हजार ४४० अमेरिकी डलर ७५ सेन्ट अर्थात् नेपाली ३० लाख ४३ हजार १६० रुपैयाँ संकलन भएको अध्यक्ष किशान पुन मगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

अष्ट्रेलियामा रहेका म्याग्देली तथा नेपाली समुदायको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा व्यक्तिगत तथा पारिवारिक रूपमा सहयोग गर्नेहरूले आर्थिक योगदान गरेका थिए। सबैभन्दा बढी दीपक भण्डारी (ओएसएस एजुकेसन एन्ड भिसा सर्भिसेज) ले एक हजार १११ अमेरिकी डलर ११ सेन्ट सहयोग गरेका छन्। त्यस्तै सुरेन्द्र श्रेष्ठ (रेस्ट रियल इस्टेट) ले ८८८ डलर ८८ सेन्ट, इम रोका र हिरा छन्त्यालले जनही ७०५ डलर तथा संस्थाका अध्यक्ष किशान पुन मगरले ६६६ डलर सहयोग गरेका छन्।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा देउसी–भैलो संयोजक विज्ञान जुग्जालीले समन्वय गरेका थिए। प्रमुख गायक राम गगन र दिलिशा बुढाथोकी तथा अतिथि गायक दिल सुनारले सांगीतिक प्रस्तुति दिएका थिए। पवित्रा रोका, गीता जुग्जाली, बिन्दु पुन, सुप्रिया कुमाई, सुनीता गुरुङ, अग्नु फगामी, अनिता पुन, फुलु पुन, प्रशान्त गुरुङ र निलेन्द्र गौचनलगायत कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
अष्ट्रेलियामा हालै सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाबाट धवलागिरि गाउँपालिका–७, धारापानीका पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। अध्यक्ष पुन मगरले अष्ट्रेलियामा म्याग्दीको पहिचान, भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै म्याग्देली समुदायबीच एकता र सहकार्य अभिवृद्धि गर्ने संस्थाको लक्ष्य रहेको बताए।
आगामी दिनमा खेलकुदका साथै सामाजिक सेवाका गतिविधिलाई समेत निरन्तरता दिइने उनले बताए। कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने दाताहरू, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, कलाकार, सांस्कृतिक नृत्य समूह र अन्य समुदायका महानुभावप्रति संस्थाले आभार व्यक्त गरेको छ। अध्यक्ष पुन मगरले सबै सहयोगदातालाई धन्यवाद दिँदै संस्थाको सामाजिक अभियानमा साथ र सहकार्य जारी राख्न आग्रह गरेका छन्।









