---Advertisement---

मालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

On: November 27, 2026 9:23 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि पालिका केन्द्र दरबाङमा सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा मालिका गाउँपालिकाभित्र सञ्चालित १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, भलिबल र कबड्डी गरी कुल ३० स्वर्ण पदकका लागि विद्यालयबीच प्रतिस्पर्धा हुने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अशोक रिजालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यस्तै, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ५० हजार र ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गर्बुजाले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीको शारीरिक, मानसिक तथा समग्र विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मोतिलाल चपाईं र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । उहाँहरूले विद्यार्थी खेलाडीलाई निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

प्रतियोगिता सुरु हुनुअघि बाजागाजासहित विद्यार्थी, खेलाडी, शिक्षक, जनप्रतिनिधि र स्थानीयवासीले र्‍याली निकालेका थिए ।

Leave a Comment