---Advertisement---

म्याग्दीले गुमायो भलिबलका अनुभवी खेलाडी मुन्ना केसी

On: November 28, 2026 12:48 PM
Follow Us:

म्याग्दीको भलिबल खेलको विकास र विस्तारमा लामो समय योगदान पु¥याउनुभएका पुराना भलिबल खेलाडी एवम् पूर्व जिल्ला क्याप्टेन मुन्ना केसीको निधन भएको छ । गएको कात्तिक १० गते उपचारको क्रममा प्रदेश अस्पताल बेनीमा निधन भएको केसीको शनिबार कालिगण्डकी नदीमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

स्वर्गीय केसीको सम्मानमा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, निर्वतमान अध्यक्ष दिनेश केसीसहित भलिबल खेलाडीसहितको उपस्थितिमा भलिबल संघको झन्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो। स्वर्गीय केसी बि.स २०५० आसपासमा जिल्लाको भलिबल क्याप्टेन हुनुभएको थियो ।


विसं २०४६ मा विद्यालयस्तरीय प्रतियोगिताबाट भलिबल खेल्न सुरु गर्नुभएका स्वर्गीय केसीले विसं २०५१, २०५४ र २०५८ मा क्षेत्रीयस्तरका प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो भने विसं २०६१ मा राष्ट्रियस्तरको प्रतियोगितामा सहभागि हुनुभएको सहकर्मी एवम् पूर्व भलिबल खेलाडी गंगा केसीले बेनीअनलाइनलाई बताउनुभयो । ‘म्याग्दीको भलिबलमा साथीको ठूलो योगदान छ,एउटा अनुवभी खेलाडी गुमाएका छौ’ केसीले भन्नुभयो । खेल जीवनका क्रममा जिल्लाभित्र मात्र नभई विभिन्न स्थानमा आयोजित क्लबस्तरीय प्रतियोगितामा समेत सहभागिता जनाउनुभएको थियो।


खेलाडीका रूपमा मैदानमा बिताएका वर्षहरूमा हासिल गरेको अनुभवलाई केही बर्ष नयाँ पुस्ताका खेलाडी उत्पादनमा उपयोग समेत गर्नुभएका स्वर्गीय केसीको निधनले भलिबल क्षेत्रमा अपुरणीय क्षती पुगेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । खेलाडी जीवनपछि पनि भलिबलसँगको सम्बन्धलाई निरन्तरता दिँदै प्रशिक्षण र खेलाडीको क्षमता विकासमा योगदानलाई सधै सम्झिने र भलिबलका नयाँ पुस्ताको नजर पुग्ने गरी थप काम गर्ने अध्यक्ष बानियाँको भनाई छ ।

म्याग्दी भलिबल ट्रेनिङ सेन्टरको टोलीलाई प्रशिक्षण दिनुभएका केसीले खेलाडीलाई राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । घर जाने क्रममा म्याग्दी जेसीज आसपासको क्षेत्रमा लडेर घाइते हुनुभएका उहाँको ढाडको शल्यक्रियासमेत गरिएपछि बिरामी अवस्थामा घरमै आराम गरिरहनुभएको थियो।

Leave a Comment