---Advertisement---

बाढीले क्षति पुर्‍याएको बेनी खानेपानी आयोजनाको पुनःनिर्माण सुरु, १३ करोडको ठेक्का आह्वान

On: November 29, 2026 4:19 PM
Follow Us:

गत असोज महिनामा भएको बर्षा र भीषण बाढीबाट क्षतिग्रस्त बेनी खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया अघि बढाइएको छ। आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य सहित खानेपानी तथा ढल व्यवस्थापन  कार्यालय, कास्कीले १३ करोड रुपैयाँको ठेक्का आह्वान गरेको छ।

बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारसम्म पानी ल्याउने १४ किलोमिटर पाइपलाइन पुनःनिर्माणका लागि ठेक्का आह्वान गरिएको हो।

बाढीले पाइपलाइनमा क्षति पुर्‍याएपछि असोज ११ गतेदेखि बेनी बजारमा खानेपानी आपूर्ति अवरुद्ध भएको थियो। करिब डेढ महिनापछि अस्थायी पाइपलाइन मर्मत गरी कात्तिक २७ गतेदेखि पुनः पानी वितरण सुरु गरिएको अध्यक्ष गिरीले बताउनुभयो।

उहाँका अनुसार कात्तिक ५ गते म्याग्दी आउनु भएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समक्ष आयोजनाको पुनःनिर्माणका लागि प्रस्ताव पेस गरिएको थियो। मन्त्रीको पहलपछि सम्बन्धित निकायले स्थलगत सर्वेक्षण र लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाएको हो।

उपभोक्ता संस्थाले तत्कालीन पुनःनिर्माणका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन खानेपानी योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान सहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको थियो। पहिलो चरणमा बाढीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गरी नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले ठेक्का आह्वान गरिएको संस्थाले जनाएको छ।

बेनी नगरपालिकाका वडा नं. २, ७ र ८ का करिब एक हजार २०० घरपरिवारका २५ हजार बासिन्दा लाई दैनिक खानेपानी सेवा उपलब्ध गराउँदै आएको यस आयोजनाबाट प्रतिसेकेन्ड २० लिटर पानी आवश्यक पर्ने संस्थाको भनाइ छ।

रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुँदै आएको थियो। बाढीले मुहानबाट बजारसम्म पानी ल्याउने पाइपलाइनमा क्षति पुर्‍याएपछि आपूर्ति बन्द भएको थियो।

पुनःनिर्माण सम्पन्न भएपछि बेनी बजारमा खानेपानी आपूर्ति थप व्यवस्थित र नियमित हुने अपेक्षा गरिएको छ। प्रमोद शर्मा

Leave a Comment