Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 1142

पोखरा थिएटरमा न्यू होराइजनको ‘अभाव’ नामको नाटक मञ्चन

विश्व रङ्गमञ्च दिवसको अवसरमा पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयका विद्यार्थीले तयार गरेको ‘अभाव’ नामको नाटक मञ्चन गरिएको छ । शनिबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयका नेपाली शिक्षक मनोहर पौडेलले लेखेको नाटक, मीना रेग्मीको निर्देशनमा तयार गरिएको थियो ।

पोखरा थिएटरले आयोजनामा ‘विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा गण्डकी प्रदेशमै उत्कृष्ट तेस्रोमा पर्न सफल करिब १५ मिनेटको नाटकमा एक गरिवी र निमुखा परिवारले जीवन ब्यथित गरिरहेको, विपन्नताका कारण झेल्नु परेको अभावै अभाव, गरिबको कोखमा जन्म लिएपछि बालबालिकाले भोग्नुपरेको समस्या सहित गरिवको प्राथमिकतालाई जोड दिइएको थियो । विद्यार्थीले नाटकमार्फत चरम गरिबीको झल्को दिदाँ हलमा सहभागी भाबुक भएका थिए ।

नाटकमा कक्षा १० का विद्यार्थी शुष्मा आचार्य, कक्षा ९ मा अध्ययनरत सञ्जीवनी शाही र दीपेश रोका, कक्षा ७ मा अध्ययनरत श्रद्धा रेग्मी, कक्षा ५ मा अध्ययनरत सोफिया गर्वुजा र रुपेश अधिकारी, कक्षा ४ मा अध्ययनरत आरोशी मल्ल तथा केजीमा अध्ययनरत विवेचना गुरुङको दमदार प्रस्तुती रहेको थियो ।

प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दी, तनहुँ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको थियो । महोत्सवमा ‘न्यायको खोजी’ प्रथम बन्न सफल भएको थियो ।

यो भानुभक्त आवासीय माध्यमिक विद्यालय, कास्कीले तयार पारेको नाटक थियो । महोत्सवमा पोखराको जनप्रिय माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘लगानी’ द्वितीय हुन सफल बनेको थियो । महोत्सवमा प्रथम हुने विद्यालयले पचास हजार रुपैयाँ, द्वितीय हुनेले नगद पच्चिस हजार रुपैयाँ, तृतीय हुनेले १२ हजार ५ सय रुपैयाँ र सान्त्वना हुनेले पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र हात पारेका थिए ।

नाटकमा धौलागिरी क्षेत्रमै उत्कृष्ट भएकाले भविस्यमा विद्यार्थीको सम्भावना अनुसार थप अगाडी बढ्ने होराईन आमाविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकता दिने गरेको छ ।

पुरस्कार वितरण तथा प्रोत्साहनका लागि विद्यालयका अध्यक्ष दलबहादुर जिसी लगायतको उपस्थिती समेत रहेको थियो । नाटक महोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले भाषा, कला, संस्कृति र सङ्गीतको क्षेत्रमा महत्त्वका साथ काम गर्न खोजेको बताए ।

 

म्याग्दीको बेनीमा आँखा शिविर सुरु, १०५ जनाको आँखा परीक्षण

म्याग्दीको बेनी अस्पतालमा शनिबारदेखि सर्वसाधारणहरुलाई लक्षित गरेर आँखा शिविर सुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको आयोजनामा आँखाको उपचार गर्नका लागि शिविर सञ्चालन गरिएको हो।

शनिबार बेनी अस्पतालमा सञ्चालित आँखा शिविरमा कुल १ सय ५ जनाले आँखा परीक्षण गराएका छन् । उक्त शिविरमा ४ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने पहिचान भएको अस्पतालको आँखा उपचार शाखा इन्चार्ज प्रकृति ढुङ्गानाले जानकारी दिएकी छन् । आँखा शिविरमा लायन्स क्लब अफ म्याग्दी दोभान र बेनी महारानीका लायन सदस्यहरुले स्वयंसेवा गरेका थिए ।

आँखा शिविरका लागि हिमालय आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योती संघ बेनी म्याग्दी, बेनी अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले प्राविधिक सहयोग उपलब्ध गराएका छन् । आँखा शिविरको आयोजकहरुमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, म्याग्दी दरबाङ, बेनी पिस सिटी, बेनी महारानी, म्याग्दी मंगला, अन्नपूर्ण म्याग्दी, बेनी लभ्लीहिल र लियो क्लब अफ बेनी म्याग्दी रहेको जनाइएको छ ।

यसअघि जिल्लाको स्थानीय तहमा सञ्चालित आँखा शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको आइतबार र सोमबार बेनी अस्पतालमा निःशुल्क अप्रेसन गर्ने तयारी गरिएको छ । लायन्स क्लबहरुले हरेक वर्ष निःशुल्क रुपमा आँखा शिविरको आयोजना गरी गरिब तथा विपन्नको उपचार गर्दै आइरहेको जनाएका छन् ।

बेनी नगरपालिकाको सिङ्गा र पुलाचौरमा सामाजिक सुरक्षाभत्ता वितरण

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा र ५ नम्बर वडा पुलाचौरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । नगरपालिका र वडा कार्यालयहरुको समन्वयमा प्रभु बैंक लिमिटेड बेनी शाखामार्फत चालु आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता लक्षित वर्गलाई वितरण गरिएको हो ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म दुवै वडा कार्यालयबाट कुल ५ सय ९९ जनालाई ५३ लाख १५ हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता वापतको रकम वितरण गरिएको प्रभु बैंक लिमिटेड बेनी शाखाले जनाएको छ । ज्येष्ठनागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरु ३ सय ७१ जनालाई ३८ लाख ७८ हजार रुपैयाँ भत्ता वितरण गरिएको प्रभु बैंक बेनी शाखाका प्रमुख लालकुमारी खड्काले बताउनुभयो ।

यसैगरी एकल–विधवा र ज्येष्ठ दलित १ सय ५१ जनालाई १० लाख ८८ हजार, आंशिक अपाङ्ग ३१ जनालाई दुईलाख ७९ हजार चारसय र ४६ जना दलित बालबालिकालाई ६९ हजार छ सय रुपैयाँ भत्ता उपलब्ध गराइएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

गाउँमै पुगेर वडा कार्यालयबाटै आफ्नै हातले भत्ता बुझ्न पाउँदा ज्येष्ठनागरिक तथा लक्षित वर्ग खुसी भएका छन् । बेनी जाँदा पैसा खर्च हुनुभन्दा वडा कार्यालयबाट भत्ता बुझ्न पाउँदा समयको समेत बचत भएको बेनपा–४, राक्सेका ७२ वर्षीय ज्येष्ठनागरिक नन्दलाल पाध्याले बताउनुभयो ।

सरकारले ज्येष्ठनागरिकलाई अनिवार्य रुपमा बैंक खातामार्फत नै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेपछि स्थानीय तहको पहलमा बैंकमा खाता खोलेर भत्ता दिन थालिएको हो ।

यसअघि तत्कालीन गाविस सचिवहरुले घरमै पुगेर भत्ता वितरण गर्दा अनियमितता हुने तथा पैसा हराउन सक्ने जस्ता समस्याका कारणले गर्दा सरकारले हरेक नागरिकको बैंक खाता हुनुपर्ने अवधारणा ल्याएपछि बैंकबाटै भत्ता दिने गरिएको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै वडा कार्यालय र नगरपालिकाको समन्वयमा नागरिकलाई घरदैलोमै राज्यका सेवासुविधा पु¥याउन वडास्तरमै भत्ता वितरणको व्यवस्था मिलाइएको बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

प्रभु बैंक बेनी शाखाले विगत २ वर्षदेखि म्याग्दीको बेनी नगरपालिकाको विभिन्न वडामा नगरपालिकाले पठाएको लक्षित वर्गको तथ्याङ्कको आधारमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइरहेको छ ।

बैंकमार्फत वर्षमा ३ पटकसम्म चौमासिकका दरले ज्येष्ठनागरिकलाई भत्ता उपलब्ध गराउने गरिन्छ । म्याग्दीका ६ वटै स्थानीय तहमा शाखा विस्तार गरेको प्रभु बैंकले सबै स्थानीय तहमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइरहेको छ। इन्टरनेट तथा मोबाइल बैंकिङ, एटिएम तथा क्युआर कोडलगायत सेवासुविधा रहेको प्रभुको देशैभर २ सयबढी शाखा छन् ।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा पहिलोपटक १ सय रुपैयाँका दरले सामाजिक सुरक्षाभत्ता तथा वृद्धभत्ता दिन थालिएको थियो । नेकपा एमालेको तर्फदेखि पहिलो प्रधानमन्त्री बनेका अधिकारीको पालामा मासिक एकसय रुपैयाँबाट सुरु भएको रकम बढेर अहिले तीनहजार पुगेको छ ।

दरबाङ्गमा हुने प्रथम मालिका महोत्सव स्थगित

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा चैत २७ गते देखि हुने भनिएको प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै आयोजक म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिले महोत्सव स्थगित गरेको हो ।
मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा विकास, पर्यटन र व्यापारको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थियो । महोत्सव नयाँ कार्यतालिको अर्को मिति कोरोना जोखिम कम भएपछि जानकारी गराईने उद्योग बाणिज्य संघ मालिका ईकाइका अध्यक्ष लेक बहादुर पुनले जानकारी दिनुभयो ।

विद्यार्थीले खाजा खर्च कटाएर स्वर्गीय सहकर्मीको परिवारलाई सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका-४ जनता मावि दग्नाममा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर दुर्घटनामा ज्यान गुमाएकी साथीको परिवारलाई सहयोग गरेका छन् । काठको मुढाले लागेर ज्यान गुमाएकी दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको सातौं पुन्यतिथिको अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी सहितले परिवारलाई सहयोग रकम सहित समवेदान प्रकट गरेका हुन्।

कक्षा ९ म अध्ययनरत दीक्षाका साथीहरुको अगुवाईमा ९ हजार ४८५ रुपैयाँ संकलन गरिएको प्रधानाध्यापक गुन पुनले बताए । ‘विद्यार्थीको अभियानमा शिक्षकले पनि साथ दिनुभएको थियो,‘सहयोग रकम सानो भएपनि सन्देश ठूलो दिएको छ’ प्रअ पुनले भने । उनका अनुसार स्वर्गीय गर्बुजाको सम्झनामा विद्यालयमा पनि कार्यक्रम गरिएको थियो ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो । मुढा काट्नेको असावधानीकै कारण ज्यान गएको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सद्भावना र ज्ञान रंगमा रंगीने पर्व-फागुपूर्णिमा (होली)

हिन्दु संस्कृतिको परम्परामा पर्वहरुको आफ्नो छुट्टै महत्व रहेको हुन्छ। हरेक पर्वको पछाडि आत्मा र परमात्माको अतितमा भएका उत्थान तथा पतनको जीवन्त कहानी देख्न सकिन्छ। जसरी शरीरबाट आत्मा निस्किएपछि मुर्दाको कुनै महत्व रहदैन, त्यसरी नै आध्यात्मिक रहस्यलाई जाने बिना पर्वहरु मनाउनुको सार्थकता पनि रहदैन। जति पर्व भारतखण्डमा मनाउने गरीन्छ सायद नै यति धेरै पर्व विश्वका अन्य देशमा मनाउने गर्दछन्।

हामीहरुले मनाउने हरेक पर्वको क्रमलाई देख्दा त्यसभित्र कुनै न कुनै रहस्य समाहित रहेको स्पष्ट देखिन्छ, जसले मनुष्यलाई आध्यात्मिक शक्ति प्रदान गरेको हुन्छ।

बदलिदो समय चक्रमा भौतिक दृष्टिकोणद्वारा सोच्नाको कारणले हामीहरुले अहिले पर्वहरुलाई केवल लौकिक वा भौतिक रुपबाट मात्र मनाउने गरिएको छ तर अलौकिक स्तरसम्म सोच्न सकेका छैनौ। हामीले मनाउदै आएका पर्वहरुमध्ये एक विशेष पर्व फागु पूर्णिमा(होली) पर्वले पनि अन्य पर्वहरु जस्तै मानव समाजको कल्याण र सन्तुलनलाई दिगो बनाउनको लागि गरिएको विशेष कर्महरुको रहस्य खोल्दछ।

फाल्गुन महिनाको पूर्णिमाको अवसरमा मनाइने यो पर्वमा होलीका दहन गर्ने(जलाउने) तथा स्थुल रंगमा रंगीएर स्वयंलाई रंगीवीरंगी बनाउनु र पुरानो कपडा परिवर्तन गरेर नयाँ कपडा लगाएर निःश्वार्थ भावबाट बिना भेदभाव एकले अर्कोसँग गला मिल्नु आदि यस्ता क्रियाकलापले अवश्य नै अलौकिक महत्वलाई दर्शाएको हुन्छ।

भारतीय संस्कृति र शास्त्रहरुमा पंडितहरुको मान्यता छ कि यो पर्व प्राचीन कालदेखि नै चल्दै आएको हो। यस अवसरमा मनुष्यहरुले वेदको ‘रक्षोहगं बलगहम्’ आदि राक्षस विनाशक मन्त्र द्वारा होलीका दहन गर्ने प्रचलन रहेको छ। म्नुष्यहरुको यो मान्यताले यो कुरा सिद्ध गर्दछ की हामीहरु राक्षसी आहार, आचार, व्यवहार आदिबाट आफ्नो रक्षा गरौ।

यस प्रकार स्थूल रंगहरुको खेल खेल्नु अर्थात् आत्मालाई ज्ञान रंग अथवा सत्संगको रंगमा रंगाउनु र होलीका दहन गर्नुले हामीलाई यो कुरा याद दिलाउँछ की पाप कर्म, नकरात्मक सोचलाई सत्कर्म तथा सकारात्मक सोचको दृढ संकल्परुपी अग्निद्वारा जलाउनु पर्छ। रंगको अनेक रुप रहेका छन्ः ज्ञानको रंग, गुणको रंग, संगको रंग आदि–आदि। वर्तमान परिप्रेक्ष्यमा मनुष्य तमोप्रधान हुनाको कारण आध्यात्मिक रहस्यहरुलाई दरकिनारा गरेर पूर्ण भौतिक रुपमा यो पर्व मनाउने गरेको पाइन्छ।

भारतीय वर्षको गणना अनुसार फाल्गुनको पूर्णिमाको रात्रि वर्षको अन्तिम महिनामा पर्दछ। यसको अर्थ कलियुग अर्थात आसुरी युगको अन्त तथा सतयुग अर्थात दैवी युगको आरम्भको समय हो। होलीका जलाउने समय निकृष्ट वस्तुहरु यहाँसम्म कि आफ्नो शरीरमा अनेक गन्दा रंगहरु लगाएर ती कपडाहरु पनि होलीका दहनमा हाल्ने गर्दछन्

जसको अर्थ यो अन्तिम समयमा हामी आफूले पहिले गरेका नराम्रो कर्म तथा आफूमा लुकेर रहेका विकारीपनलाई योग अग्नि अर्थात् परमात्माको ज्वलास्वरुप स्मृतिबाट त्यसलाई नष्ट गनुपर्दछ। वास्तवमा यो आत्मा र परमात्माको संगमा रहेर ज्ञान रंगको होली खेल्नुको यादगार पर्व हो। हामीहरु होलीका दहनमा आफ्नो झुठोपना, ईष्र्या, द्वेष, नफरत, अहंकार, वासना तथा आसुरी प्रवृत्तिहरुलाई जो स्वयंलाई तथा अन्यलाई प्रभावित गरेको हुन्छन् त्यसलाई स्वाहा गर्नुपर्दछ।

अग्निलाई महर्षिहरुले योग अग्निको संज्ञा दिएका छन्। परमात्माको याद नै यस्तो योग अग्नि हो जसको यादमा निरन्तर तापिनाले आत्मामा सच्चा, शुद्ध दैवी गुणको निखार आउँछ। यस योग अग्नि द्वारा पाप त दग्ध हुन्छन् नै साथै आसुरी प्रवृत्तिहरु पनि नष्ट भएर जान्छन्। फेरी दैवी गुणहरुको आगमनबाट जीवनमा खुशीको अपार संचार हुन थाल्दछ।

यस अग्निमा सबै मनुष्य आत्माहरुलाई तपाउनु पर्दछ किनकी यो होलीका दहन गर्नु केवल एक जनको लागि मात्र होइन बल्की ५ विकारले ग्रसीत सम्पूर्ण मानवका लागि हो। त्यसैले होली पर्व कसैले कसैलाई भेदभाव नगरी मनाउने गर्दछन्।आजसम्म हामीहरु केवल विसंगतिहरुको, एक अर्कालाई संगको रंग लगाउने, मायाको रंगमा तथा केवल स्थुल रंगको मात्र होली खेल्देै आयौ। जसमा होलीको आध्यात्मिकता नै ओझेलमा पर्न पुग्यो। हिन्दी शब्द होली को अर्थ जे भयो सो भयो भन्ने हुन्छ।

जे वित्यो सो वित्यो वितेको कुरालाई चिंता नगरौ र अबको कर्म एकदम ज्ञान–योग युक्त भएर गर्ने गरौ। अंग्रेजी शब्द ‘ज्इीथ्’ को अर्थ हुन्छ पवित्र। जब मनुष्य विविध प्रकारका व्यसन, कुरीती, काम–क्रोध आदि विकारको वशिभूत भएर तथा स्वास्थ्यको दृष्टिकोणबाट हानिकारक रंगको होली खेल्दा–खेल्दा विकारी, साम्प्रदायिक भेदभाव, ईष्र्या तथा नफरतको दलदलमा फस्दै जान्छ तब कल्याणकारी, वरदाता भोलेनाथ शिवबाबा यस पतित सृष्टिमा अवतरित हुनुहुन्छ र जसमा बुराईको प्रतिक नशाको रुपमा भांग आदिको प्रयोग गर्दछन् त्यस अशुद्ध नशालाई समाप्त गरेर नारायणी तथा ईश्वरीय नशाको ज्ञानामृत पान गराउनुहुन्छ। सम्पूर्ण मनुष्यात्माहरुलाई ज्ञानको होलीमा रंगाउनुहुन्छ।

हामी पनि ज्ञानबाट पूर्ण बनेर एक आपसमा यस्तो ज्ञानको रंग लगाउनुपर्छ जसबाट सबै मनुष्यात्माको भित्र विश्व वशुधैव कुटुम्बकम र सद्भावनाको साम्राज्य स्थापना हुन सकोस्। परमात्माले यस सृष्टिमा हामी आत्मालाई अमिट ज्ञानको रंगको होली खेल्नको लागि पठाउनुहुन्छ तर भौतिक चकाचौधमा तथा आत्मा विस्मृतिका कारण हामी सच्चा रंगलाई छोडेर तनलाई रंगाउने रंगको सहारा लिन थाल्दछौ।

अब स्थुल रंगको साथ–साथ यस्तो रंगको पनि प्रयोग हुन थालेको छ कि जुन मनुष्यको आँखामा वा अनुहारमा पर्नाले अनेक किसीमका रोगहरुको सिकार बन्न पुगेका छन्। माटो तथा अन्य गन्दा बस्तुहरुको समेत प्रयोग हुन थालेको छ।

अहिलेको समयमा यो पर्वले यस्तो विकृत रुप लिइसकेको छ कि मनुष्य यो दिन पनि जुवा तास खेल्ने, शराब, व्यशन, मांसाहार आदिको लतमा फस्ने गर्दछन्।

यस पर्वको सन्दर्भमा मनुष्यको यो भनाई छ कि स्वयं भोले बाबा शंकरले भांग आदिको सेवन गरेका हुन्। तर यसको आध्यात्मिक व्याख्याको अनुसार परमात्मा शिवले सृष्टिमा मानव जगतमा व्याप्त विकारीपनलाई आफूमा समाहित गर्नुहुन्छ तथा ज्ञान अमृतको बर्सा गर्नुहुन्छ। जुन ज्ञान रंगमा परमात्मा प्रेमी आत्माहरु रंगीएर ज्ञानपूर्ण बन्न पुग्दछन्, देव तुल्य बन्छन्।

प्रायः देख्ने गरीन्छ कि होलीको दिन आधा दिन रंग खेलेपछि स्नान गर्ने र नयाँ–नयाँ कपडा आदि लगाएर एक अर्कासंग गला मिल्ने गर्दछन्। केहि समयको लागि पहिले जस्तो भएपनि सबै कुरालाई भूलेर आपसमा मिलन मनाउने गर्दछन्। यसको वास्तविक अर्थ यहि नै हो कि जब परमात्माले हामीलाई ज्ञानको होलीमा रंगाउनुहुन्छ तब मनुष्य आत्माहरुलाई आत्माको ज्ञान प्राप्त हुन्छ।

केवल शरीरको भानमा आउनाले हामी अनेक धर्म र जातिको रुपमा बाडिन पुग्यौ तर आत्मिक रुपमा हामी सबै आपसमा भाई–भाई हौ। एक परमात्मा शिवको सन्तान हौ। यो स्मृतिमा रहेर आफूले आफैलाई आत्मा निश्चित गरेर शारीरीक भेदभावलाई भुलेर गुणरुपी रंगको लेनदेन गर्नु नै सच्चा होलीको सार्थकता सिद्ध हुन्छ।

परमात्मा शिव द्वारा दिनुभएको आध्यात्मिक ज्ञानले रंगीएका मनुष्यात्माहरुद्वारा संपूर्ण संसारबाट भेदभाव तथा नफरतको आँधिको र सामाजिक विकृत्तिहरुको नाश हुनेछ। मनुष्य देव तुल्य बन्नेछन् र फेरी एक नयाँ युगको सुरुवात हुनेछ। त आउनुहोस् केवल स्थुल रंगमा होइन बल्कि आध्यात्मिक र ज्ञानको रंगमा रंगीएर आउनेवाला खुशीयाली दुनीयाँमा जाने परम सौभाग्य प्राप्त गरौ।
ओम शान्ति
ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,
बेनी, म्याग्दी

 

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

An excavator being used for the construction of Beni-Jomsom-Korala road section at Raguganga Rural Municipality-2 in Myagdi district, on Tuesday, February 06, 2018. Photo: RSS

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ ।

उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यह िचैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो ।

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।

सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्ने भएका छन् । सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निमार्ण शुरु गरिएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

गौस्वरा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर

बेनी नगरपालिका-२, स्थित गौस्वरा सामुदायिक वनमा बिहिबार रातीदेखि सयौं हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

काठ र सुकेका स–साना हाँगाबिँगा, पातपतिङ्गर पोल्ने क्रममा असावधानी पूर्वक आगलागी भएको थियो । सुरक्षाकर्मी र सयौं स्थानीयले शुक्रबार बिहानैदेखि आगो निभाउने प्रयास गरीरहेको भएपनि नियन्त्रण प्रयास सफल हुन नसकेको स्थानीय यूवा सुजन गौतमले बताए ।

डढेलो निभाउनका लागि सामुदायिक वन समूहका साथै जिल्लाबाट गएको टोलीले स्थानीय प्रविधिको प्रयोग गरेपनि हावाका कारण आगो अझ फैलिने क्रममा रहेको छ । गौस्वराको सामुदायिक बनबाट फैलिएको आगो छिमेकी बागलुङ जिल्लाको धम्जा गाउँ आसपासको जंगलसम्म पुग्ने जोखिम रहेकाले अव आगो निभाउन जोखिम मोल्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

आगलागी आसपासका क्षेत्रमा तत्काल मानवबस्तीमा जोखिम नभएपनि नियन्त्रणमा नआए बस्तीमा समेत असर गर्न सक्ने सम्भावना रहेकाले उच्च प्रविधिको प्रयोग गरी आगलागी नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् । वनमा लागेको आगोले करोडौ मूल्य बराबरको काठ जलिसकेको छ। डढेलोले शुक्रबार साँझदेखि ठूलो रूप लिएको छ ।

चन्दा दिने पैसा हुने, विपन्नको उच्च शिक्षालाई सहयोग जुटाउनुपर्ने

?????????????????????????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका–२, रूम लुक्सिरका १६ बर्षिय केशब बिक गतबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा राष्ट्रिय मावि रुमबाट ‘बि प्लस’ ग्रेड ल्याउने एक मात्रै विद्यार्थी थिए। चरम विपन्नताका कारण एसइईको नतिजा हात परेपनि उनी उच्च शिक्षाका लागि घरबाट बाहिर जान सकेनन्। आफ्ना साथीहरू उच्च शिक्षाका लागि सहरबजार तिर लागेपनि उनी करिब एकबर्ष गाउँघरमा सिकर्मी र डकर्मीको परिचयले चिनिनुपर्ने बाध्यता भयो ।

केशवजस्तै गाउँकै शिव पटेल र देबिसरा विकका लागि उच्च शिक्षा सपना जस्तै भएको थियो। पोशाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हतौडा, घरायसी काममा ब्यस्त हुनुपर्ने अवस्थामा उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि सहयोग जुटाएर म्याग्दी बहुमुखी क्याम्पसमा भर्ना गरिएको छ । यी तीन विद्यार्थी यथार्थ घटनाको उदाहरणीय पात्रो मात्र हो ।

म्याग्दीका स्थानीय तहमा विभिन्न बाहनामा आफ्ना निकटलाई चन्दा, कार्यकर्तालाई सहयोगका लागि प्रयाप्त बजेट भएपनि विपन्नले उच्च शिक्षाका लागि सहयोग माग्दा भने रित्तै फर्काउने गरेका छन् । विपन्न विद्यार्थीले स्थानीय सरकारबाट भन्दा बाहिरी क्षेत्रबाट सहयोग जुटाएर उच्च शिक्षाको यात्रालाई अगाढी बढाउने गरेका प्रसस्तै उदाहरणहरु हाम्रो समाजमा छ ।

म्याग्दीमा गरिबीले उच्च शिक्षाको बाटोमा छेकबार लगाएकोे अवस्थामा विपन्नतलाई सहज उच्च शिक्षाका लागि प्रयाप्त वातावरण बनाउन सकिएको छैन् । लगनशील, मिहनेती तथा अनुशासित विद्यार्थीले आर्थिक अभावकै कारण आधारभुत तहदेखि उच्च शिक्षासम्मको पढाई रोकेर घरमै बस्ने र रोजगारीका लागि विदेशसम्म जानुपर्ने बाध्यता छ।

विद्यालयको पोसाक, कापीकमल किन्न समेत फलामको चिउरा चपाएजस्तै हुने विपन्नलाई उच्च शिक्षा दिने गरी स्थानीयस्तरमै रहेका जनप्रतिनिधिले समेत चासो देखाउन सकेका छैनन् । गरिबीकै कारण विद्यार्थीले भोग्नु परेको समस्या सुन्दा आँशु थाम्नै सकिदैन् ।

नेपालको संविधान २०७२ ले आधारभूत तहको (कक्षा १– ८) शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहको (कक्षा ९–१२) शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि धेरै बालबालिका अभावै अभावले विद्यालयसम्म प्रवेश गर्न पाएका छैनन्।

निःशुल्क शिक्षाको आशय कुनै पनि विद्यार्थीलाई शुल्क पाठ्यपुस्तक, शैक्षिक सामग्रीको कारणले शिक्षा पाउने अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने भएपनि सामुदायिक विद्यालयमा समेत सहज पढ्न थान नसक्ने अवस्थाका बालबालिकाको अवस्थालाई कसैले चासो दिएको पाइदैन् ।

चरम गरिबीमा फसेका बालबालिकालाई राज्यका तीनै तहका सरकारले नियमित कार्यक्रम बाहेक कुनै विषेश प्याकेजको सुविधा दिन सकेको छैन्। गरिबीकै कारण शिक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको आवश्यक खर्चको अभावले कष्टकर जीवन विताउन बाध्य छन् ।

शिक्षा, स्वास्थ्य, सामाजिक अभियानमा स्थानीय सरकारको नीति तथा कार्यक्रममा आवश्यकता भन्दा नियमित कार्यक्रमहरु नै प्राथमिकतामा परेको देखिन्छ । राज्यले निशुल्क शिक्षा र निरक्षर उल्मूलनको नारा ल्याए पनि विपन्नको पहुँच सम्म पुग्न सकेको छैन । गरिब विपन्नको पहिचान गरी उच्च शिक्षासम्मको आवश्यक पर्ने शैक्षिक खर्च सुनिश्चितता गर्न कोष बनाउनुपर्छ ।

विद्यालय तहदेखि नै विद्यार्थीको पहिचान गरी शिक्षाको ग्यारेन्टी स्थानीय सरकारले दिनुपर्छ । यसका लागि सबै सरोकारवाला सबैले गम्भीर बन्न जरुरी छ । सस्तो लोकप्रियताका लागि सरकारले शिक्षा सम्बन्धि विभिन्न घोषणा कार्यक्रम गरी करोडौं खर्चिनुकौ आचित्य छैन् । नत्र, विपन्नलाई निशुल्क शिक्षा कागलाई बेल पाक्यो हर्ष न बिस्मात हुन्छ । बेनी साप्ताहिकबाट साभार

 

राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन

म्याग्दीको राहुघाट नदी बेसिनमा ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले प्रवर्द्धन गरेका १ सय २५ मेगावाटका आयोजना निर्माण भइरहेका हुन् ।

याे बेसिनमा अहिले प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीमार्फत ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाको करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको छ ।

यो आयोजनाको ६ किलोमिटर लामो मुख्य सुरुङमध्ये ८ सय मिटर खनेर सकिएको छ । विद्युतगृहमा भर्खरै जग खन्न सुरु गरिएको आयोजना प्रमुख गणेश केसीले बताए ।

आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाका कारण निर्माण प्रभावित हुँदा धकेलिने देखिएको छ । अहिलेसम्मको भौतिक प्रगति हेर्दा निर्माण अवधि अझै डेढ वर्षभन्दा बढी समय लाग्ने केसीले जानकारी दिए ।

यो आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी बनखेत सबस्टेसनमार्फत कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा जोडिनेछ ।

यस्तै, ३७ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । टुन्डी पावर कम्पनीमार्फत एउटै समूहले यी आयोजना अघि बढाएको हो ।

राहुघाट मंगलेको निर्माण गत मंसिरदेखि सुरु भएको हो । अहिले आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा एकसाथ काम भइरहेको छ । आयोजनाको बाँध र विद्युतगृहको काम रामेछाप शेर्पा कन्स्ट्रक्सन कम्पनीले तथा सुरुङको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीले गरिरहेको छ ।

आयोजनामा ५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण हुनेछ । सुरुङ ४ स्थानबाट खन्न सुरु भएको छ ।निर्माण सुरु भएको ३६ महिनाभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा कुमारी बैंकको अगुवाईमा ऋण लगानी जुटेको छ । बैंकले कूल लागतको ७० प्रतिशत ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । कम्पनीले आयोजना अघि बढाउन २०७३ कात्तिक २९ गते उत्पादन अनुमति पाएको थियो ।

आयोजना सम्पन्न भइपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्डमा लगेर जोडिनेछ । स्वीयार्डसम्म आवश्यक १८ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

कम्पनीले अघि बढाएको माथिल्लो राहुघाट पनि भर्खरै सुरु भएको छ । अहिले आयोजनाको पहुँच सडक र आवासगृह निर्माण भइरहेको छ । पहुँच सडक तथा आवास क्षेत्र निर्माणपछि आयोजनाको संरचना निर्माण गर्न सुरु गरिनेछ ।

माथिल्लो राहुघाट राघुघाट मंगलेको क्यासकेड आयोजना हो । कम्पनीले २०७५ चैत्र ११ गते विद्युत विकास विभागबाट यो आयोजनाको उत्पादन अनुमतिपत्र पाएको थियो । यो आयोजनाको विद्युत पनि कालीगण्डकी कोरिडोर प्रसारण लाइनमार्फत नै राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।