Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 1153

हाँडेभिरमा राखियो नेकपा एमालेको बोर्ड

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा एमाले म्याग्दीले पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा कायम गरिदिएपछि मंगलबार नेकपा एमाले म्याग्दीले बेनपा–२, हाँडेभिरमा रहेको पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

मंगलबार नेकपा एमालेका नेता तथा कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी नेकपाको बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखिएको अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए । ‘पहिलो दिनै खुसीयाली मनाएका छौ,‘अब बल्ल पार्टी कार्यालयभित्रबाट काम गछौं’ विश्वकर्माले भने । उनका अनुसार पार्टी एकता अगाडीकै अवस्थामा नाम सहितको विवरण समेत राख्न सुरु गरिएको छ ।

पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ । नेकपा एमालले जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा समेत एमालेको बोर्ड राख्न निर्देशन दिइएको जनाइएको छ । संसद विघटनपछि विभाजित बनेको ओली र माधब–प्रचण्ड समुहले पार्टी कार्यालय प्रयोग गरेका थिएनन् ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी नेकपाका गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

डा. पन्थी ‘प्रभावशाली महिला अवार्ड’बाट सम्मानित

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कोभिड–१९ अस्थायी अस्पताल अन्नपूर्ण गाउँपालिकामा कार्यरत डाक्टर लक्ष्मी पन्थी सम्मानित हुनुभएको छ । नारी दिवसको अवसर पारेर उहाँलाई नारच्याङको सिर्जनशील आमा समूहद्वारा ‘प्रभावशाली महिला अवार्ड’बाट सम्मान गरिएको हो ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा न्युनीकरणसहित अन्नपूर्णमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर, तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ भन्ने तालिम सञ्चालन, संक्रमित तथा बिरामीको घरमै पुगेर भेटघाट, विद्यालय तहमा स्वास्थ्य शिक्षा जस्ता स्वास्थ्यका क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै डा. पन्थीलाई प्रभावशाली महिला अवार्डले सम्मान गरिएको सिर्जनशील आमा समूहले जनाएको छ ।

डा.पन्थीलाई आमा समूहका अध्यक्ष नरिमाया गुरुङले दोसल्ला ओढाई सम्मानपत्र, मायाको चिनो टोकन अफ लभ प्रदान गरी नगद १० हजार रुपैयाँसहित सम्मान गर्नुभयो । नारी दिवसको अवसरमा नारच्याङमा विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउनुका साथै कोभिड अस्पतालका डाक्टर लक्ष्मी पन्थीले पु¥याएको योगदानको कदरसहित उहाँलाई सम्मान गरिएको आमा समूहका अध्यक्ष गुरुङको भनाइ छ ।

सम्मान ग्रहण गर्दै डा. पन्थीले आफूलाई प्रभावशाली महिलाको अवार्डबाट सम्मान गरेकोमा आमा समूहलाई हृदयदेखि धन्यवाद प्रकट गर्नुभयो । साथै उहाँले दुर्गमका एक सामाजिक डाक्टर ‘प्रभावशाली महिला’ भनेर आमा समूहको तर्फबाट सम्मान पाउँदा आफूलाई धेरै गर्व लागेको बताउनुभयो ।

आगामी दिनमा पनि दुर्गम र ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउने गरी जनस्वास्थ्यका अभियानहरु सञ्चालन गर्ने बताउँदै डा. पन्थीले दुर्गम तथा विकट क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा आफूलाई निकै खुशी र आनन्द मिलेको अनुभव समेत सुनाउनुभयो । प्रभावशाली महिलाको अवार्डले आउँदा दिनमा आफूलाई थप जिम्मेवार तथा सशक्त बनाएकाले आफ्नो क्रियाशीलता अझ बढ्ने डा. पन्थीको भनाइ छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा कोभिड अस्पतालका स्टाफनर्स अन्जना पूर्जाले सौन्दर्य नाच, दाना स्वास्थ्यचौकीका इन्चार्ज रबिना दर्जी, आमा समूहका मनमाया र जमया विकले गीत प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा म्युजिकल चियर, बेलुन फुटाउने जस्ता खेलहरु पनि खेलाइएको थियो ।

कार्यक्रममा मिरिस्तीखोला जलविद्युत आयोजनाका रामकुमार खड्का, निलगिरी हाईड्रोका विशाल अर्याल, दाना स्वास्थ्यचौकी इन्चार्ज रबिना दर्जी, प्रभा माध्यमिक विद्यालयका विद्यार्थीद्वय ललिता पुन र गीता थजालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम आमा समूहका अध्यक्ष नरिमाया गुरुङको अध्यक्षता, उपाध्यक्ष जमाया विकको स्वागत र सदस्य प्रतिज्ञा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

‘अब नारीलाई कमजोर ठान्ने र हेप्ने दिन गए’

नारीलाई हेप्ने, आफूँभन्दा तल ठान्ने प्रवृतिको अन्त्यका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मालिका गाउँपालिकाले दरबाङ बजारमा गरेको कार्यक्रममा आर्थिक, सामाजिक, राजनैतिक रुपमा समाज र राज्यले गर्ने विभेद थपिदै गएपनि अव कमजोर ठान्ने र हेप्ने दिन गएकाले महिला मानवअधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष रेखाकौशल रेग्मीले बताउनुभयो ।

पूर्वीय दर्शनले नारी जातिलाई महाशक्तिको रुपमा मानेको भए पनि पुरुषको अन्डरमा रहनुपर्ने भनेकाले विरोधाभाष रहेको बताउँदै रेग्मीले महिलालाई अगाडि बढाउनका लागि नीतिगत रुपमै व्यवस्था रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मालिका गाउँपालिका, मिलन म्याग्दी, युएसआईडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम, महिला अधिकार मन्च म्याग्दी र शान्तिका लागि साझा अभियान (कोक्याप)को संयुक्त आयोजनामा भएको कार्यक्रममा महिला अधिकार मञ्च म्याग्दीका सल्लाहकार एवं अधिकारकर्मी जमुना आचार्यले अब केटीको घरमा केटा हेर्न जाने नभई केटाको घरमा केटी हेर्न जाने अभियानको थालनी गर्नुपर्नेमा जोड दिँदै यसले महिला हिंसा न्युनीकरण गर्ने बताउनुभयो ।

उहाँले पाँचवटा ‘स’ शरिर, स्वतन्त्रता, सम्पति, शक्ति र सत्तामा महिलाको पहुँच बढाउन सकेमा महिला सशक्तिकरण हुने बताउनुभएको थियो । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले महिलाको आर्थिक सशक्तिकरण गर्न पालिकामार्फत विभिन्न आयआर्जन र व्यवसायमूलक क्षेत्र तथा उत्पादनमा जोड दिइएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा बेलुन फुटाउने खेल प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा केबि एकेडेमी दरबाङका प्रिन्सिपल लक्ष्मी थापा, साहारा अर्गानिक डिभाइन ग्रुप दरबाङ शाखाका सञ्चालक शारदा चोखाल र न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ममसरा कार्कीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष बिटालुको अध्यक्षता, कार्यपालिका सदस्य गौमती चपाइँको स्वागत र न्यु दरबाङ महिला सहकारीका सचिव लक्ष्मी सापकोटा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रमहरु भैरहेका छन् । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था छ ।

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारीक मामिलामा दम्पतिको समान हकको व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको पाइन्छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुनहरु बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको सेतोपाटीलाई बताए।विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो। बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ।

मृगौलापीडित बालिकालाई बचाउँन परिवारद्वारा अपिल

दुबै मृगौलामा खरावी देखिएपछि धवलागिरी गाउँपालिका-७, ताकमकी एक बालिकालाई उपचारमा आर्थिक समस्या परेको छ । १४ बर्षिया अञ्जना हर्मेलको दुवै मृगौलाले काम नगर्ने भएपछि आर्थिक अभावले अगाडी आर्थिक समस्याले थप उपचार गर्न नसक्ने भन्दै परिवारले बालिकालाई बचाई दिन अपिल गरेका हुन् ।

गाउँपालिकाले विपन्न उपचार कोषबाट समेत सहयोग गरेको छ । हाल पोखराको मृगौला एण्ड स्पशलाईज हस्पिटलमा उपचारर्थ हर्मेललाई सहयोग जुटाउने अभियान समेत सुरु भएको जनाइएको छ ।

मृगौला पीडितले प्रत्यारोण अगाडी नियमित डायलासिस गर्न, महंगो इन्जेक्सन सहितका औषधीको प्रयोग गर्नुपर्ने भएकाले विपन्नलाई आर्थिक सहायता विना उपचार सम्भव नभएकाले सहयोग गर्न गाउँपालिका अध्यक्ष थमसरा पुनले अनुरोध गर्नुभएको छ । मृगौला पीडित हर्मेलको परिवार बाढीपहिरोबाट विस्थापित भएर अर्काको घरमा बस्दै आएका छन् ।

 

म्याग्दी कांग्रेसका पूर्व जिल्ला सभापति खड्काको निधन

नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला सभापति डा.भुपेन्द्रबहादुर खड्काको निधन भएको छ । पूर्व जिल्ला सभापति खड्काको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौंमा रहेको नेपाली सेनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अचानक बिरामी भएपछि खड्कालाई बेनीबाट हेलिकप्टरमा थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो ।

२०३६ जनमत संग्रह र पञ्चायती ब्यवस्था बिरुद्ध सक्रियतासँगै खड्काप्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलनहरु तथा कांग्रेस पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कांग्रेस म्याग्दीका निर्वतमान सभापति रेशमबहादुर बानियाँले बताउनुभयो । स्वर्गीय खड्काले बि.स २०१४ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय खड्का २०५६ देखि २०६७ सालसम्म कांग्रेस म्याग्दीको सभापतिको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

तत्कालिन समयमा पञ्चायत बिरुद्धको आन्दोलनमा ज्यानको समेत जोखिम मोलेर खड्काले खेलेको भूमिकालाई जिल्लामा समेत चर्चा गर्ने गरिन्छ । यता नेपाली कांग्रेस म्याग्दीका अध्यक्ष खमबहादुर गर्बुजाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । खड्काको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं संगठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति गर्बुजाको भनाई छ । खड्कालाई कांग्रेसका केन्द्रिय नेताहरुको उपस्थितीमा मंगलबार पशुपति आर्यघाटमा पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्ने जनाइएको छ ।

कम्युनिष्टले नेपाली जनतालाई तीनबर्षसम्म उल्लु बनाए– काँग्रेस नेता गुरुङ

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले तीनबर्षसम्म पार्टी एकताको नाममा प्रचण्ड र केपी ओलीले जनतालाई भ्रम झरेको बताउनुभएको छ । एकता र सत्ताको लोभमा जनतालाई उल्लु बनाएर कम्यूनिष्टले जनमतको अपमान गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनुभएको छ ।

नेपाल शिक्षक संघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताउनुभयो ।

‘वर्तमान सरकार असफल भइसक्यो, अव पनि ओलीको नेतृत्वमा सरकारलाई निरन्तरता दिनु हुदैन’ गुरूङले भन्नुभयो । संबिधानको घाटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता नभएको समेत गुरूङको जिकिर थियो ।

नेपालमा कम्युनिष्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउदै नेता गुरुङले काँग्रेसमा पनि नेतृत्वको अघि पछि गरेर चाकडीले सिमा नाध्न थालेका भन्दै असन्तुष्टि जनाउनुभयो ।  प्रचण्ड र ओलीको बिवादले भोट हाल्ने जनताको समेत अपमान भएको उहाँको भनाई छ ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणी लामिछाने,नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवत्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, महिला संघका सभापति बिमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुबेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पोखरामा आवश्यक परेपछि बेनीमा लायन्सको रक्तदान कार्यक्रम

सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी महारानीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पोखरामा रगतको अभाव भएपछि क्लवको बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत सङ्कलन भएको क्लवले जनाएको छ । रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लवमा आवद्ध सहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

१६ जना महिला र १९ जना पुरुषले रक्तदान गरेको रक्तसंचार केन्द्रका संयोजक सुरत केसीले बताउनुभयो । उहाँका अनुसार यसअगाडीको सहित १ सय पिन्ट रगत पोखरा पठाइने छ । बिरामीलाई आवश्यक पर्ने रगतका लागि रक्तदान कार्यक्रम गरिएको क्लवकी अध्यक्ष संगिता श्रेष्ठले बताउनुभयो ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल लगायतको उपस्थिती रहेको थियो । पोखरामा दैनिक ९० युनिटको हाराहारीमा रगतको माग हुने हुने गर्दछ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा सबैभन्दा धेरै रगतको खपत हुने गरेको अवस्थामा पोखराबाट अनुरोध भएपछि रक्तदान कार्यक्रम गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ । साविकको धौलागिरी अञ्चल भित्रका चारजिल्लामा म्याग्दीमा सबैभन्दा धेरै रक्तदान कार्यक्रम हुने गरेको छ । म्याग्दीमा रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनि नभएको करिव एकदशक भइसकेको छ ।

 

झोलुङ्गे पुलले जोडिएको बागलुङ-पर्वतका बहुआयामिक सम्बन्ध

यी दुई जिल्लालाई दर्जनौँ झोलुङ्गे पुलले जोडेको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्याउने ठूलो कालीगण्डकी नदी छ । दुई जिल्लाको बीचबाट बगेको पवित्र कालीगण्डकी नदीका कारण दुई जिल्लाको सम्बन्ध भौतिक र भौगोलिकरुपमा टाढा छ । यी दुबै जिल्लालाई जोड्ने हालसम्म एकमात्रै मोटरेबल पुल मालढुङ्गामा छ । त्योबाहेक बागलुङ र पर्वत जिल्लाको सम्बन्ध जोड्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता छ । यी बाध्यतालाई हटाउन र दुबै जिल्लाबीच अटुट सम्बन्ध स्थापना गर्न झोलुङ्गे पुलले महत्वपूर्ण भूमिका खेलेको छ ।

पुलले यात्राको दूरी मात्रै छोट्याएको छैन । दुई जिल्लाका नागरिकबीच निकट सम्बन्ध स्थापित पनि गरेको छ । पछिल्लो ५० वर्षयता बागलुङ र पर्वतको सम्बन्ध कालीगण्डकी नदीको तीव्र बहावका बाबजुत २० झोलुङ्गे पुलले यात्रा र सम्बन्धमा सहजता थपेको छ । अझै नयाँ पुल थपिने क्रमसमेत जारी छ ।

दुई जिल्लाको सम्बन्ध जोड्न बागलुङ नगरपालिका–४ फोस्रे–पर्वतको जलजला गाउँपालिका जोड्ने झोलुङ्गे पुलदेखि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको बेलबगर–श्रीकाङ झोलुङ्गे पुलसम्म २० झोलुङ्गे पुल छन् । कालीगण्डकी माथि बागलुङ र पर्वत जोड्न बागलुङ नगरपालिका–४ फोस्रे र पर्वत जिल्लाको जलजला गाउँपालिका जोड्ने पुल, खनियाघाट झोलुङ्गे पुल, बाङ्गेचौर अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल, नयाँ पुलस्थित झोलुङ्गे पुल, बागलुङ–वलेवा बन्जी पुल, कुस्मा पर्वत यन्त्रिक पुल, गोपाङघाटको पुरानो झोलुङ्गे पुल, कल्लेरी घाटको पुरानो झोलुङ्गे पुल, बलेवाको कैया–कुस्मा जोड्ने ३४७ मिटर लामो झोलुङ्गे पुल, मोदोवेणी नागबौर झोलुङ्गेपुल, कैया–मुडिकुवा ३०० मिटर लामो झोलुङ्गे पुल, सरङ्गी मुडिकुवा झोलुङ्गे पुल, टाकुरी फलेवास झोलुङ्गे पुल, जैमिनी घाट फलेवास झोलुङ्गे पुल, ठेउलेखोला फलेवास जैमिनी झोलुङ्गे पुल, विनामारे मिरिङ्गी फलेवास झोलुङ्गे पुल, मिरिङ्गे सानो झोलुङ्गे पुल, सुम्सा फलेवास झोलुङ्गे पुल, वेलवगर–कर्नास झोलुङ्गे पुल र छिस्ती–दुर्लाङ झोलुङ्गे छन् ।

पर्वत र बागलुङ जोड्ने गरी यसरी निर्माण गरिएको पुलले दुई जिल्लाको सम्बन्ध, आयात निर्यात, रोजीरोटीलगायतका विषयमा सहज बनेको स्थानीय बताउँछन् । पर्वत जिल्लाको सदरमुकाम कुस्मामा रोजगारी गर्दा त्यही बाँस बस्नुपर्ने समस्या रहेको बागलुङ जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनीका नागरिक अहिले झोलुङ्गे पुलकै कारण एक घण्टामा नै घरमै पुग्ने गरेका छन् ।

सात वर्षअघि बागलुङ जिल्लाको बलेवादेखि कुस्मा नगरपालिका जोड्ने दुई साना झोलुङ्गे पुल मात्रै थिए । उक्त पुल तर्न तल खोचमै झर्नुपर्ने थियो तर, पछिल्लो समय निर्माण भइरहेका लामा र अग्ला झोलुङ्गे पुलले बागलुङ र पर्वत जिल्लालाई नयाँ ढङ्गले परिचितसमेत गराएको बागलुङ बलेवाका भरत बागलुङेले बताउनुभयो । “भौतिकरुपमा नजिकै भएको जिल्ला भए पनि कालीगण्डकीको खोचका कारण घण्टौँ लाग्ने यात्रा झोलुङ्गे पुल, यान्त्रिक पुल तथा बञ्जी पुलले छोटो बनाएको छ”, उहाँले भन्नुभयो, “पुलले दूरी मात्रै छोटो बनाएको छैन, बागलुङ र पर्वत जिल्लाको विविध आयामसहितको सम्बन्ध विस्तारसमेत भइरहेको छ, एक÷दुई घण्टाको यात्रा छोट्याएर १० मिनेटमा ल्याएको छ ।”

दुई जिल्लाको बीचमा कालिगण्डकी माथि बनेका नयाँ पुराना झोलुङ्गे पुलले यात्रा मात्रै छोट्याएको छैन । आर्थिक गतिविधि, पर्यटकीय क्षेत्र स्थापना तथा दुई जिल्लाबीचको जनजीवन सहज पुर्‍याउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “पुल, सडकजस्ता विकासका पूर्वाधार जति धेरै भए त्यति राम्रो हो, खोला तर्नकै लागि घण्टौँ हिँड्नुपर्ने, कतिले ज्यानै गुमाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “विश्वकै लामो पुलदेखि विश्वकै दोस्रो बन्जी पुलजस्ता पूर्वाधारले झनै बागलुङ र पर्वत जिल्लाको सम्बन्धलाई नजिक र प्रगाढ बनाएको छ ।” बागलुङ झोलुङ्गे पुलको जिल्लाको रुपमा समेत परिचित छ । अब यसलाई विश्वको लामो झोलुङ्गे पुल भएको जिल्लाका रुपमा समेत चिनाउनका लागि विश्व रेकर्डको तयारीमा रहेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

पुलका कारण बागलुङको दक्षिण भेगका जनता अध्ययन, रोजगारी तथा खरिद बिक्रीका लागि पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार जाने गरेका छन् । त्यस्तै कुस्मा नगरपालिका–१ र जलजला गाउँपालिकाका स्थानीय व्यवसाय, रोजगारी तथा अध्ययनका लागि अहिले दैनिकरुपमा बागलुङ बजार आउने गरेका छन् । दूरी मात्रै छोट्टाएको छैन, यसले कृषिउपजको सहज बजारीकरण, ढुवानी खर्चको बचत तथा अध्ययन र रोजगारीका लागि डेरा लिनुपर्ने अवस्थाको अन्त्य भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

दक्षिण बागलुङका १६ गाविसले प्रशासनिक बाहेकका सबै गतिविधि पर्वतबाट लिने गरेको उहाँको भनाइ छ । “पहिलाको तुलनामा धेरै सहज भएको छ, अझै पुल थपिने क्रम जारी छ, दुई वटा जैमिनी र बलेवादेखि र दुई ठूला मोटरेवल पुलसमेत निर्माण हुने कुरा छ”, उहाँले भन्नुभयो “मुख्य कुरा दुई जिल्लाको आर्थिक गतिविधि चलायमान हुने र कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा निकै ठूलो सहयोग पुगेको छ ।”

बागलुङ जिल्लामा हालसम्म साना ठूला गरेर ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङ अब पर्वतसँग जोडेर लामा र अग्ला पुल भएको जिल्लाका रुपमा चिनिन थालेको छ ।खेमराज गौतम, रासस

मंगलामा मनाइयो १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मंगला गाउँपालिकामा भब्य समारोहका बिच १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारासहित जनआर्दश महिला बहुउदेश्यीय सहकारी संस्थाको आयोजना, मंगला गाउँपालिकाको आर्थिक सहयोगमा बावियाचौरमा आयोजित कार्यक्रममको  गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो ।

अध्यक्ष रोकाले महिलालाई आर्थिक, सामाजिक रुपमै आत्मनिर्भर बनाउन विभिन्न आयमुलक गतिविधिलाई प्राथमिकता दिएको बतायनुभयो ।  उहाँले महिलालाई परिवारका अन्य सदस्यमा निर्भर हुदाँ हिंसाजन्य गतिविधिको समेत समाना गर्नुपर्ने अवस्था आएको बताउँदै गाउँपालिकाले वडास्तरमै विभिन्न तालिम तथा आम्दानीको स्रोतहरु पहिचान गरी बजेट विनियोजन गर्ने बताउनुभयो ।

सोही अवसरमा उपाध्यक्ष सिर्जना केसीले महिलालाई समानताका आधारमा प्रतिनिधित्व तथा आर्थिक, सामाजिक लगायत समाजका हरेक गतिविधिमा शसक्त रुपमा प्रतिनिधित्व हुने गरी सहभागी हुन समेत अनुरोध गर्नुभयो ।

बावियाचौर बजार परिक्रममा गरी आयोजित कार्यक्रममा कोरोना अस्पतालकी डा. रोश्नी पूर्जालाई सम्मान गरिएको थियो भने ६५ बर्ष पार गरेका ज्येष्ठ नागरिकलाई कोरोना खोप केन्द्रमा पुगेर फलफुल समेत वितरण गरिएको थियो ।

कार्यक्रमको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, शिक्षा संयोजक डेकबहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । अध्यक्षता संस्थाकी अध्यक्ष यशोधा रोकाले गर्नुभएको कार्यक्रममा डेढ सय महिलाको उपस्थिती रहेको थियो ।