Friday, May 2, 2025
15 C
Beni
15 C
Beni
Friday, May 2, 2025
Home Blog Page 279

रुमले भिरको तामाखानी एक शताब्दीदेखि अलपत्र

0

एक सय १० वर्ष अघि वि.सं १९७१ सालमा बन्द भएको म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको रुमले भिरको तामाखानी अलपत्र अवस्थामा पुगेको छ ।

स्थानीयलाई रोजगारी र राज्यलाई आम्दानीको प्रशस्तै संभावना रहेको उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएको भएपनि त्यसपछि भने उत्खनन् हुन सकेको छैन ।

खानी उत्खनन् गरेर तामा निकाल्न सिपालु छन्त्याल जातीहरुले तत्कालीन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाका बताउँछन् । तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण वन्द भएको सो तामाखानी देशमा संघीय गणतन्त्रात्मक व्यवस्था लागुभएको यतिका वर्ष वितिसक्दा पनि अझै संचालनमा नआउँदा राज्यले वार्षिक लाखौं रुपैयाँ राजस्व गुमाउँदै आएको स्थानीय वासिन्दाहरुको भनाइ छ ।

“राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थियौँ तर यतिका वर्ष वितिसक्दा पनि खानी संचालन गर्ने विषयमा कुनै सुरसार छैन”, स्थानीय ७७ वर्षिय गिरबहादुर छन्त्यालले भन्नुभयो ।

ठाडाखानीमा छन्त्याल र विक जातीका मानिस बसोबास गरेको बस्ती हो । एक सय १० वर्ष अघि उनीहरु रुमले भिरको तामाखानी उत्खनन् गरी तामासँग अन्न साँट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका-६ का पूर्व वडासदस्य टेकजीत छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार रुमले भिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट दुईसय मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक लाखौं आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ ।

“यहाँको तामाखानी वर्षौंदेखि बन्द छ,”उहाँले भन्नुभयो “तामाखानी सञ्चालनका लागि यहाँका जनताले गाउँपालिका र सम्बन्धित सरोकारवालालाई आग्रह गरिरहेका छन् । तर सुनुवाइ भएको छैन ।”

तामाखानी सञ्चालनमा ल्याउन सके वार्षिक करोडौं राजस्व आम्दानी हुनुका साथै स्थानीयले दीर्घकालीन रोजगारी पाउने उहाँले बताउनुभयो । तामाखानी सञ्चालनको पहल थाल्न वडा कार्यालयले गाउँपालिकालाई पनि दबाब दिइरहेको रघुगंगा गाउँपालिका-६ का अध्यक्ष मनकुमार शेरपुजाको भनाइ रहेको छ ।

स्थानीय सम्पदा, श्रोत र साधनहरुको व्यवस्थितरुपमा प्रयोग गरी स्थानीय तहलाई आर्थिक रुपमा बलियो बनाउन सकिने यस्ता अनेकौं सम्पदाहरु जिल्लामा प्रशस्तै रहेका भए पनि तीन तहका सरकारको प्राकृतिक श्रोत साधनको उपभोग सम्वन्धी स्पष्ट नीति नहुँदा यस्ता सम्पदाहरु अलपत्र अवस्थामा रहेको स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ ।

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

0

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।

धार्मिकग्रन्थ र संस्कृत साहित्यमा निलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग–भुषुण्डीको निवास क्षेत्रका रूपमा व्याख्या गरिएको संस्कृतविद् डा जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन सङ्घले गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिले सम्मान गरेको छ) ले बताउनुभयो ।

संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’मा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात् उत्तर दिशामा देवतास्वरूपका हिमालय नामका पर्वतराजहरू विराजमान छन् भनेर वर्णन गरेका छन् ।

भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग–भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गर्नुभएको छ । काग–भुषुण्डीलाई कागस्वरूपका एक सन्त ज्ञानी ऋषि मानिन्छ ।

नेपाल ऋषि प्राध्यापक डा गुरुङले श्रीराम चरित्रमानसमा निलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन् ।

“वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन् । सरोवरचाहिँ दामोदरकुण्ड हो । निलगिरिबाट दामोदरकुण्डसम्मको भूभाग मुक्तिक्षेत्र हो”, डा गुरुङले भन्नुभयो । उहाँका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदरकुण्डका काग सेता र ठूला हुन्छन् । दामोदरकुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग–भुषुुण्डीको स्वरूप मानिने उहाँको भनाइ छ । मधेस र पहाडखण्डमा पाइने कुश दामोदरकुण्डमा उम्रेको पाइन्छ । दामोदरकुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उहाँले बताउनुभयो ।

को थिए काग–भुषुण्डी ?

श्रीराम चरित्रमानसमा उल्लेख भएअनुसार कागको रूपमा देखिने काग–भुषुण्डी भगवान् श्रीरामका परमभक्त थिए । उनलाई भविष्य तथा भूतकालको पूर्ण ज्ञान पहिले नै हुन्थ्यो । उनी समय बन्ने र बिग्रिने पाङ्ग्रालाई देख्न सक्दथे । पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिला राम कथा भगवान् शङ्करले पार्वतीलाई सुनाउँदा काग–भुषुण्डीले सुनेका थिए ।

रावणको पुत्र मेघनादले रामसँग युद्ध गर्दैगर्दा भगवान् रामलाई नागपाशले बाँधेका थिए । त्यसपछि पक्षीराज गरुडले नागपाशमा बाधिएका सम्पूर्ण नागलाई मारेर भगवान् श्रीरामलाई बन्धनबाट मुक्त गराएका थिए ।

“भगवान् राम नागपाशमा बाँधिएको देख्दा गरुडलाई बाँधिएका व्यक्ति राम भगवान् हुन् कि होइनन् भन्ने कुरामा शङ्का लाग्यो । गरुडको सन्देहको निवारणका निम्ति नारद ऋषिले उनलाई ब्रह्माजीकोमा पठाए । ब्रह्माजीले शङ्करजीकोमा पठाइदिनुभयो । भगवान् शङ्करले पनि गरुडको सन्देहको निवारणका निम्ति काग–भुषुण्डी भएको ठाउँ निलगिरि पर्वतमा पठाएपछि काग–भुषुण्डीले भगवान् श्रीराम चरित्रको कथा सुनाएर गरुड़को सन्देह हटाउनुभएको श्रीराम चरित्रमानसमा उल्लेख गरिएको छ”, नेपाल ऋषि प्राध्यापक डा गुरुङले भन्नुभयो ।

उहाँका अनुसार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधारशिविर नजिकै पञ्चकुण्ड ताल र ताल नजिकै काग–भुषुण्डी ऋषिले तपस्या गरेको भनिएको काग–भुषुण्डी डाँडो छ ।

धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाइ झण्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ । वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल निलो रङमा देखिन्छ । यो ताल समुद्री सतहबाट चार हजार ५० मिटरको उचाइमा रहेको छ ।

तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छायाँ) देख्न सकिन्छ । तालबाट माथि चार हजार एक सय ९० मिटरको उचाइमा ग्राउण्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चार हजार तीन सय पाँच मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पर्दछ । तालको छेउबाट निलगिरि र अन्नपूर्णको सबै क्षेत्रलाई अवलोकन गर्न सकिन्छ ।

बेनी नगरमा क्यूआर कोडसहित घरको नम्बर डिजिटल प्रणालीमा

0

म्याग्दीको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गदैं नगरबासीको गोपनियतालाई कायम गदैं नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने गरी घरमा नम्बर टाँस्ने काम समेत सुरू गरिएको बताए ।

‘सबै घरमा डिजिटल नम्बर जडान गरिने छ,‘नगरबासीलाई करको दायरामा ल्याउनेभन्दा बढी सेवा दिन यो प्रविधिको प्रयोग हुन्छ’ मेयर केसीले भने।

डिजिटल घर नम्बर प्रणाली जडान भएपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोग चाहिएमा छिमेकीलाई समेत नगरपालिकाबाटै खवर गर्न सकिने सहित दर्जनौ सुविधा भएकाले डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने मेयर केसीले बताए ।

उनले नगरबासीको ब्यक्तिगत विवरण सुरक्षित हुने भएकाले घरपरिवारका सदस्य सहित शैक्षिक योग्यता, अनुभव तथा समाजमा गर्न सकिने सहयोगका बारेमा समेत अपटेड हुदाँ भविस्यमा नगरबासीसँग सहकार्य गरी काम गर्न सकिने जनशक्तीको पहिचान समेत हुने भएकाले विवरण उपलब्ध गराउन समेत अनुरोध गरे ।

घरमा डिजिटल नम्बरिङपछि सेवासुविधाको दुरुपयोग रोक्न सकिने, आफ्नो सूचनाहरू अपडेट गर्न सकिने, सुत्केरी, गर्भवती तथा जटिल रोग र बिरामी परेको अवस्थामा आवश्यक औषधि तथा एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको बेनपा–८ का वडा अध्यक्ष उत्तमकुमार कमार्चायले बताए ।

नगरपालिकाले वडा नं ८ बाट सुरू गरी सबै १० वटै वडाका घर अगाडी जडान गर्ने छ । डिजिटल घर नम्बर प्रणाली शुभारम्भ कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दीमा छुटेका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

0

म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो ।

शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्वय समिति सरोकारवाला र सञ्चारकर्मीसँगको कार्यक्रममा लक्षित बालबालिका विद्यालय उमेर समुहका भएको बेनी नगरपालिका र पाँच गाउँपालिकाका १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइने सूचना अधिकारी गणेश सुबेदीले बताए ।

खोप लगाउन छुटेका बालबालिका जन्मिएको समयमा आई पी भी खोप अभाव रहेका अवस्थामा अहिले अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए ।

बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउन ५७ जना अनुगमत समिति समेत बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापा लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी लिग क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सबैलाइ अवसर

0

म्याग्दीको बेनीमा जारी जिल्ला क्रिकेट लिग प्रतियोगिताको फाइनल पुग्नका लागि चारै टिमका लागि समान अवसर देखिएको छ । जेठ ५ गते देखि शुरु भएको ४ टिम सहभागी रहेको जिल्ला लिगको दोश्रो चरणको खेल सकिदा सम्म सबै टिमले समान दुई दुई अंक हासिल गर्दै फाइनल पुग्ने सम्भावना समान देखाएका हुन् ।

जेठ ५ गते भएको पहिलो चरणको खेलमा रिभरसाइड बगरफाँट र बेनी नगरपालिका बिजयी भएर दुई दुई अंक हासिल गरेका थिए भने दोश्रो चरणको खेलमा म्याग्दी क्रिकेट क्लब र रत्नेचौर क्रिकेट समुहले विजयी हासिल गर्दै फाइनल पुग्ने सम्भावना जिवित राखेका छन् ।

चार टिम रहेको लिगमा सबै टिमले तीनतीन खेल खेले पछि शिर्षस्थानमा रहेका दुई टिम फाइनल प्रवेश गर्ने र १२ गते शनिबार फाइनल खेल हुनेछ । बिहीबार भएको खेलमा विजयी हासिल गर्दै म्याग्दी क्रिकेट क्लब नेट रनरेटका आधारमा शिर्षस्थानमा पुगेको छ । रिभरसाइड बगरफाँट दोश्रो, रत्नेचौर क्रिकेट समूह तेश्रो र बेनी नगरपालिका चौथो स्थानमा रहेका छन् ।

शुक्रबार बेनी नगरपालिका र रत्नेचौर क्रिकेट क्लब तथा म्याग्दी क्रिकेट क्लब र रिभरसाइड बगरफाँट बिच खेल हुने र दुवै खेलका विजेताहरु फाइनल प्रवेश गर्ने जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले जानकारी दिनुभयो ।
बिहीबार भएको खेलमा बेनी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै म्याग्दी क्रिकेट क्लब विजयी भएको छ । त्यस्तै रिभरसाइड बगरफाँटलाई पराजित गर्दै रत्नेचौर क्रिकेट समूहले आफ्नो फाइनल पुग्ने सम्भावनालाई जिवित राखेको छ ।

बेनी नगरपालिकाले १९ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो । जवाफी ब्याटमा उत्रिएको म्याग्दी क्रिकेट क्लबले ११ ओभर ३ बलमा १ विकेट गुमाएर लक्ष भेटेको थियो ।रत्नेचौर क्रिकेट समूहले निर्धारीत २० ओभरमा ४ विकेट क्षतीमा १७० बनाएको थियो । जवाफी ब्याटीङमा उत्रेको रिभरसाइड बगरफाँटले २० ओभर खेल्दै १६३ रन बनाएको थियो ।

पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

0

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ ।

रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।

“साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो”, भगवती मैदानका बासिन्दा रिम मल्लले भने, “सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।” विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताइ ।

“पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो”, उनले भने, “यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु तीन सय भाडा रहेकामा हाल दुई सय ५० कायम गरिएको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले रु १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।

पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।

भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले बताए । रासस

धार्मिक आस्थाको धरोहर मालिकाधुरी !

0

धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी । समुद्री सतहदेखि तीनहजार तीनसय मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त मज्जाले देख्न सकिन्छ । यसका साथै मनोरम हिमश्रृङ्खला, ग्रामीण भूगोल, मानव बस्ती, तरेली परेका पहाडका डाँडाकाँडा तथा थुम्कालगायत रमणीय दृश्यहरु देखिन्छन् ।

मालिका धुरीबाट धौलागिरि, गूर्जा, चुरेन, सिस्ने, मानापाथी, पुतली, पुथा, निलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे डेढ दर्जनभन्दा बढी हिमालसहित म्याग्दीको ३५ वटाभन्दा बढी गाउँ, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी, वनपैदावर, लालीगुराँस, जडीबुटीलगायत अवलोकन गर्न सकिन्छ । मालिका धुरीमा रहेको मालिका, कालिका र जालपाको दर्शन तथा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट पैदलयात्रा गरी दुई दिन र यातायातमार्फत एकैदिनमा सजिलोसँग मालिका धुरी पुग्न सकिन्छ। मालिका गाउँपालिका–७ बिम, ६ नम्बर वडा दरबाङको दुखु तथा रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको ठाडाखानी गाउँको सिरानमा मालिका धुरी पर्दछ । यहाँ पुग्नका लागि बिम, दुखु, ठाडाखानी र पर्यटकीय क्षेत्र टोड्केको बाटो भएर जान सकिन्छ । मन्दिरमा बैशाख पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीकाको दिम पूजाआजा हुन्छ । मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन्। यसपटक खानेपानीको सुविधा थपिएको छ ।
तस्वीर सौजन्य शिव गौतम

हिरोको जुम स्कुटर बेनीमा, पुरानोसँग एक्सचेन्जको सुविधा

0

हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुुरानो स्कुटरसँग नयाँ एक्चेन्ज अपर पनि रहेको बताउनुभयो ।

हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । कम्पनीले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स–सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ । यसको ह्याण्डलबारमा नै माउन्ट गरिएको हेलोजीन एलईडी बल्ब छ ।

त्यस्तै, जुम ११० को रियरमा पनि एक्स–सेप एलइडी टेल लाइट रहेको छ । यसको टेलल्याम्प डिजाइन र हेडल्याम्पको डिजाइन भने फरक देखिन्छ । यसको हेडल्याम्पमा भने कारमा हुने कर्नरिङ लाइट फिचरसमेत दिइएको छ ।

हिरो जुममा कम्पनीले स्मार्ट कनेक्ट फिचर दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ । हिरोले जुम स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.०५ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ ।

भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध हिरो जुम ११० स्कुटर ५ कलर अप्सनमा छ । तीन भेरियन्ट मध्ये हिरो जुम भीएक्स र जेडएक्स भेरियन्ट नेपालमा उपलब्ध छन् । सीजी मोटर्सले दुई भेरियन्टको मूल्य क्रमशः २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० मूल्य तोकेको छ ।

जेसिज सप्ताह: पुलाचौरमा प्रभावकारी भाषणकला तालिम सम्पन्न !

0

म्याग्दी जेसिजको २६ औं स्थापना दिवसको अवसरमा आयोजित जेसिज सप्ताह-२०२४ अन्तर्गत  दोस्रो दिन प्रभावकारी भाषण कला कार्यक्रम सम्पन्न भएको छ । दोश्रो दिनको अवसरमा बिहिबार  बेनी नगरपालिका-५ अवस्थित जेसिज गाउँ पुलाचौरमा आमा समुह र युवा क्लवका पदाधिकारी तथा सदस्यहरु लाई प्रभावकारि भाषणकला तालिम दिइएको हो ।

बेनी नगरपालिका-५ नं. वडा कार्यालयको सभाहमा सम्पन्न भएको कार्छयक्रममा भिरमुनि युवा क्लव,पुरुण्डे युवा क्लव,नयाँ गाउँ युवा क्लव, एकता युवा क्लव र भृकुटी आमा समुह बाट गरि जम्मा ३० जना पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा म्याग्दी जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्रीले प्रशिक्षण दिनुभयो ।

कार्यक्रम  म्याग्दी जेसिजका शाखा अध्यक्ष जेसि दिनेश बानियाँको अध्यक्षता, म्याग्दी जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्रीको प्रमुख आतिथ्यता, म्याग्दी  जेसिजका कार्यकारीणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेलको स्वागत, र  संचालन जेसिजका उपाध्यक्ष जेसि गोकुल सुनारको रहेको थियो । कार्यक्रममा म्याग्दी  जेसिजका मेडिया म्यानेजर जेसि कपिल बानियाँको जेसिज आस्था पाठ बाचन गर्नुभएको थियो ।

मोना फ्रान्समा महिला भलिबल खेलाडी संगठित

0

रोजगारको सिलसिलामा यूरोपेली मुलुक फ्रान्स पुगेका महिला भलिबल खेलाडी संगठित हुन थालेका छन् । म्याग्दीबाट फ्रान्समा पु्गेका महिला भलिबल खेलाडीलाई म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सले संगठित गरी महिला टिम बनाएको छ ।

हालै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्सको ‘एन.आर.एन स्पोर्टस डे’को भलिबल प्रतियोगितामा पहिलोपटक समुह बनाएर मौतिपूर्ण भलिबलमा सहभागि मोना फ्रान्स महिला टोलीले उपाधी समेत जितेको थियो ।
यूरोपका विभिन्न देशबाट फ्रान्समा पुगेका महिला भलिबल खेलाडीको सेट टिम बनाएर आगामी दिनमा हुने प्रतियोगितामा सहभागि बनाउने मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले बताए ।

‘भलिबलका अनुभवी खेलाडीहरु पाएका छौ, अब संस्थागत विकाससँगै उहाँहरुलाई खेलमा समेत जोड्छौ’ अध्यक्ष केसीले भने । पुरुषको शसक्त टिम भएकाले फ्रान्समा हुने नेपाली संघसंस्थाका प्रतियोगितामा उपाधी जित्ने गरेकोमा अब महिला टिमले समेत भलिबलमा बर्चस्व कायम गर्ने दावी गरे । मोनाले फ्रान्समा रहेका म्याग्देली भलिबल खेलाडीलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।

मोना फ्रान्सको महिला भलिबल टिममा सुस्मा शेरपुञ्जा, टकमाया सेन्चुरी, भिमा बुढा मगर, खिमा पाइजा, चन्द्र केसी कार्की, शोभा गुरुङ, आयुश्मा राना, सुनिता बोहोरा शाही छिन् । यसपटक मोनाले पुरुष र महिलामा एन.आर.एन स्पोर्टस डे’मा उपाधी जितेको थियो ।

पहिलोपटक महिलाको सहभागिता भएकाले आगामी बर्ष महिलालाई समेत आर्कषक पुरस्कारको ब्यवस्था गरिने एनआरएन फ्रान्सका खेलकुद संयोजक महेन्द्र बोहोराले बताए । उनले महिला टिमको सहभागिताले भलिबल खेलमा थप रौनकता छाएको बताए । यसैबीच मोना फ्रान्सले समेत निकट भविस्यमा भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ ।

 

error: Content is protected !!