Tuesday, April 29, 2025
17.2 C
Beni
17.2 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 292

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

0
default

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

0

डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए। तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन। विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उनको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ। डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उनलाई एकैछिन फुर्सदै हुँदैन।

‘विभिन्न स्थानका लागिरहेको वन डढेलोले देश नै जलिरहेको छ, म कसरी विदेश जान सक्छु र रु’ उनी भन्छन, ‘आजभोलि त निन्द्रा नै राम्रोसँग लाग्दैन्। कतै डढेलेले ज्यानै लिएको छ त कतै, चराचुरीङ्गी र वन्यजन्तु डढेलोसँगै तितरबितर छन् त कतै जङ्गलका काठ चलेर राज्यको अथाह सम्पत्ति खरानी भइरहेको छ।’

उनका अनुसार देशभर वन डढेलोको अवस्था झनझन विकराल बन्दै गइरहेको छ। बिहीबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागेको छ।

जङ्गलमा लागिरहेको आगोले कतिबेला कुन बस्ती जलेर खरानी हुने हो भन्ने चिन्ताले उनलाई सताएको छ। प्राधिकरणमा डढेलो विज्ञको रुपमा काम गरिरहेका उनलाई डढेलोको समयमा कसरी डढेलो व्यवस्थापन कार्य र क्षति न्यूनीकरणमा लागि परेका छन्। नेपालमा सञ्चारकर्मीदेखि विभिन्न डिभिजन वन कार्यालय, वन उपभोक्ता समूहलगायतले उनीसँग नै डढेलोबारे जानकारी लिइरहन्छन्।

गत मङ्गलबार बिहान ११ः३० बजेतिर प्राधिकरणलाई ललितपुर गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो फैलिएको भन्ने खबर आउँछ। डढेलोको कारण नजिकै रहेको कुष्ठरोग अस्पतालसमेत जोखिममा रहेको थाहा पाएपछि डढेलोविद् शर्मासहितको टोली आगो नियन्त्रणका लागि ललितपुर गएका थिए।

‘जङ्गलको आगोबाट अस्पताललाई कसरी सुरक्षित गरेर राज्यको सम्पत्ति जोगाउने भन्ने चिन्ता भयो’, शर्माले भने, ‘लेलेतर्फको जङ्गलमा लागेको डढेलो फैलिँदै आनन्दवनसम्म आइपुगेको रहेछ। हामीले पोटेबल फाएर ड्रोन, पोटेबल फाएर पम्प, चारवटा दमकलको सहायताले बल्लतल्ल आगो निभायौँ।’

ललितपुरका विभिन्न स्थानमा लागेको डढेलो कतै नियन्त्रणमा आउन सक्यो कतै अझै बाँकी नै छ। डढेलोकै कारण गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वरमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारी र रमेश पहारीको मृत्यु समेत भइसकेको छ। शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन्। ‘८० प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डडेलोको घटनाहरु हुने गर्छन्, शर्माले भने।

डिभिजन वन कार्यालय ललितपुर डिभिजन कार्यालयका वन अधिकृत थीरप्रसाद कोइरालालाई पनि अहिले देशका विभिन्न स्थानमा लागिरहेको डढेलोले चिन्तित बनाएको छ। डढेलोका कारण जङ्गलमा लागेको आगोले चराचुरुङ्गी र अन्य वन्यजन्तुहरु पनि जलेका छन्। उनीहरुको बासस्थानमै खलल पुगेको छ, काठ, दाउरा, जडीबुटी पनि डढेलोका कारण क्षति पुगेको उनको भनाइ छ।

गत चैत १९ गते पनि रौतहट जिल्ला गैँडाटारको राष्ट्रिय वनमा डढेलो लागिरहेको छ, भन्ने खबर पाउना साथ डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रको मन अतालिन थाल्यो। जङ्गलसँगै जङ्गल आसपासमा रहेका काठ दाउरा कसरी सुरक्षित गर्ने भनेर। वनमा लागिरहेको आगो नियन्त्रण गरेर काठ दाउरा जोगाउन सर्लाहीको हरिवन, बाराको निजगढ, गौर र चन्द्रपुर नगरपालिकाबाट चार वटा बारुणयन्त्र घटानास्थल गए। आगो नियन्त्रणको प्रयास रहँदारहँदै पनि घाटगद्धी गरिएको साल, कू–काठ, दाउरा जलेर खरानी भयो।

यसैगरी चैतको दोस्रो साता मधेस प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले महत्तरीस्थित गौसला नगरपालिका–११ को राष्ट्रिय वनमा आगो लागिरहेको र काठ जलिरहेको भन्ने खबर मन्त्रालय मातहतको डिभिजन वन कार्यालय महोत्तरीलाई पठाउँछन्। त्यसपछि महोत्तरीका डिभिजन वन अधिकृत सन्तोष झासहितको टोली आगलागीका कारण जलिरहेको काठ बचाउन जङ्गलतिर लागे।

आगो नियन्त्रणका लागि निरन्तर २८ घण्टा खटिएको अनुभव अधिकृत झा सुनाउछन्। तर त्यति लामो सयमसम्मको प्रयास गर्दागर्दै पनि एक करोड ६० लाख मूल्य बराबरको काठ र दाउरा आँखै अगाडि जलेर खरानी भएको देख्दा उनी निकै भावुक बने। नेपाल–भारतबीचको विद्युत् व्यापारका निर्माण गरिएको हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका क्रममा छ वर्षअघि काटिएको काठ बिक्री हुन नसक्दा जङ्गलमै राखिएको थियो।

हिजो तस्करीबाट काठ जोगाउन मुस्किल आज वन डढेलाबाट काठ कसरी जोगाउने भन्ने मुस्किल रहेको बताउँछन, धादिङका डिभिजनल वन अधिकृत विष्णु आचार्य। ‘कतिपय जिल्लामा जङ्गलभित्र काटेर राखिएको काठ बिक्री भएका छैनन्। कतिपय स्थानका ढलापढा तथा सुखढ खडा काठहरु यतिकै छन्। पातपतिङ्गर उत्तिकै छन्’, उनले भने, ‘अनि यसले जङ्गलको आगो छिटो फैलाएको छ र जङ्गलमा रहेका काठदाउरा, वन्यजन्तु तथा अन्य जैविक विविधताको संरक्षण कसरी गर्ने  भन्ने चुनौती रहेको छ।’

सुक्खायाम बढेसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको वन डढेलोको कारण देशका विभिन्न स्थानमा आगलागीका घटना बढिरहेका छन्। वन तथा वातावरण मन्त्रालयका अनुसार वन डढेलोका कारण के कति काठहरु जले भन्ने यकिन तथ्याङ्क भने आइनसकेको जानकारी गराएको छ। डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापढा तथा सुखढ काठहरु वन डढेलोबाट जोगाउन मुस्किल रहेको अन्य डिभिजनल वन अधिकृतहरुको गुनासो छ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पनि डढेलो नियन्त्रणमा आउन नसक्दा वन क्षेत्रभित्र रहेका काठ जोगाउन चुनौती थपेको बताउँछन्। ‘वन डढेलो नियन्त्रणका लागि हामीले जनचेतनामूलक कार्यक्रमहरु गर्दै त आइरहेका छौँ, यसो हुँदाहुँदै पनि वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण हुन सकिरहेको छैन’, उनले भने, ‘डढेलो नियन्त्रणका नीति कार्यान्वयनमा केन्द्रीय सरकार र स्थानीय तहसँगको सहकार्य जरुरी छ।

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले पनि वन क्षेत्रमा लाग्ने डढेलोको कारण काठ दाउरा जोगाउनै मुस्किल भइरहेको बताएका छन्। ‘वन डढेलोको घटनाहरुबाट कसरी काठ र दाउरा जोगाउने भन्ने नै अहिलेको मुख्य चुनौती रहेको छ’, उनले भने, ‘वन डढेलो धेरैजसो मानवीय कारणले लाग्ने भएकाले नियन्त्रणका लागि हामीले सिसी क्यामरा जडानलाई प्राथमिकता दिएर अगाडि बढेका छौँ।’ सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले वन क्षेत्रका काठले बजार नपाउँदा डढेलासँगै जलिरहेको बताए।

‘हामीले समयमा नै वनको काठ नै बाहिर बजारमा ल्याउनुपर्छ भनेका थियौँ, तर काठले बजार नपाउँदा बजारमा नआउने उता विदेशी काठ आयात गर्नुपर्ने यो कस्तो बिडम्बना हो’प्रतिप्रश्न गर्दै उनले भने, ‘डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम गर्न सामुदायिक वन कार्ययोजना परिमार्जन गर्नुपर्ने, वन उद्यम विकास गरेर वन पैदावारको सदुपयोग गर्नुपर्ने, तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, नियन्त्रणका पर्याप्त आधुनिक औजारहरुको व्यवस्था हुनुपर्छ।’

वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपक खरालले पछिल्लो सय बढ्दै गइरहेको वन डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८१/८२ का बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्रथामिकतामा राखिने जानकारी दिए। ‘अहिले देशका विभिन्न स्थानमा आगोलागीका घटनाहरु बढिरहेका छन्। हामीले प्रदेश सरकारसँग पनि समन्वय गरेर डढेलो नियन्त्रणका प्रभावकारी गतिविधि अगाडि बढाउन निर्देशन दिएका छौँ’, उनले भने।

मन्त्रालयले डढेलोबाट काठ जोगाउन सुरक्षित सतर्कता अपनाउन भन्दै डिभिजनल वन कार्यालयलाई परिपत्र गरिसकेको थियो। मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सबैलाई काठ व्यवस्थापनको लागि परिपत्र गरिसकेको भए पनि काठ दाउरा जलेको खबर दुःखद् पक्ष रहेको बताए।

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ। कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापर्वाहीका कारण वन डढेलो बढेको सराकारवालाहरुको भनाइ छ। वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ। ‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा उल्लेख छ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ।

यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तन लगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ।

नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनहरुमा वन डढेलोको विषय समावेश गरिने वन तथा भूसंरक्षण मन्त्रालय र अन्तर्गतका निकायहरुको संस्थागत संरचना सुधार गरी वन क्षेत्रबाहेकका अग्निप्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ। रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि विज्ञहरुले सुझाएका छन्। -रासस

सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

0

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्।

बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए। सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए।

महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने औँल्याए।

अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पु¥याउन आह्वान गरे।

धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि  बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्ने उनको छ।

युवा सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न अनुरोध गरे। -रासस

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् ।

म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारका लागि लगानी भित्र्याउन पहल सँगै प्रर्वद्धनका लागि बुधबार आधार शिविर प्रस्थान गरेको टोली शुक्रबार पैदलयात्रा सकेर फर्किएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ लगायत सुरक्षा अधिकारी, जनप्रतिनिधी, प्राविधिक, पत्रकार र स्थानीय अगुुवाहरु गरि ४० जनाको टोली आधार शिविर पुगेर फर्किएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

टोलीमा सहभागी प्राविधिक टोलीले मौरीज हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको पदमार्गमा म्याराथुन प्रतियोगिता आयोजना गर्नका लागि सम्भाव्यता पनि गरेको छ ।

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर सम्म पैदलयात्रा गरिएको हो । पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकहरु पुुग्न थालेका छन् ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको नेतृत्वमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. २ करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको रु. पचास लाख बजेटमा भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गर्ने तयारी भएको छ । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

0

कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।

बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन् । आइपिएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिए ।

“कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ”, उनले भने, “हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ ।”

शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काक्रो, आलु र गोलभेँडाको सामुहिक खेती गरिएको छ । बेनी–१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आइपिएम पाठशालामा २९ जना कृषक सहभागी भएका उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी–२ को बगरफाँटमा काँक्रो र मङ्गला गाउँपालिका–२ तोराखेतमा आलु खेतीका लागि सञ्चालन भएको पाठशालामा २५÷२५ कृषक सहभागी भएका छन् । बेनी–३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ ।

ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आइपिएम सहजकर्ता शर्माको भनाइ छ । बेनी–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ ।

बेनी–१ अर्जमको देउराली आइपिएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताए।

“तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौँ”, उनले भने, “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।”

“खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ”, कृषक सुन्दर थापामगरले भने।

पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए। “आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छौँ”, उनले भने, “परम्परागत तुलनामा आइपिएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ ।”

गत आर्थिक वर्षमा बेनी–१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको थियो । बेनी–१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताए ।

एउटा पाठशाला सञ्चालन गर्न एक लाख ५० हजारका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ । रासस

मल्लाज दम्पत्ति हत्या प्रकरणः गरगहना र पैसा लुट्न १५ दिनदेखि योजना

0

गरगहना र पैसा लुटपाटकाको उदेश्यले दुई युवाले पर्वतको मल्लाजका दम्पत्तिको हत्या गरेको रहस्य खुलेको छ ।

चैत १९ गते पर्वतको जलजला गाउँपालिका–२ मल्लाज दहका ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी घरभित्रै मृत फेला परेका थिए ।

घरको ढोकामा ताल्चा लागेको अवस्थामा मृत फेला परेको घर्ती दम्पत्तिको हत्यारा पत्ता नलाग्दा प्रहरीको टाउको दुखाइ बनेको थियो ।

हत्या आरोपमा प्रहरीले पर्वतको जलजला गाउँपालिका–२ नेपानेका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोटका दीपक दर्जीलाई पक्राउ गरेको हो ।

‘गरगहना र पैसा लुटपाट’ को उदेश्यले दम्पत्तिको हत्यामा संग्लन विक र दर्जीलाई पर्वत प्रहरीले बिहीबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरेको छ ।

विकलाई जलजलाबाटै र दर्जीलाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए । अभियुक्तले गरगहना र पैसा लुट्न दम्पत्तिको हत्या गरेको वयान दिएको भुषालले बताए ।

‘१५ दिनदेखि नै हत्याको योजना बुनेको देखिन्छ’, उनले भने, ‘घटनाको अघिल्लो दिन पनि दिउँसो आधा घण्टा घटनास्थल पुगेर रेक्की गरेका रहेछन् ।’

काठको चिर्पट र हसियाँ प्रहार गरेर हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष स्विकार गरेका छन् । डिएसपी भुषालका अनुसार हत्यारद्वय लागुपदार्थ दुव्र्यसनीमा फसेका व्यक्ति हुन् ।

कृष्ण विरुद्ध सवारी ज्यान मुद्वामा २०७५ सालमा बाग्लुङमा मुद्वा चलेको थियो । दर्जी ६ महिना अघि मात्रै सुधार गृहबाट निस्किएका हुन् ।

‘लागु पदार्थमा फसेकासँगै घरको आर्थिक अवस्था पनि कमजोर भएकाले गहना लुटपाट गर्न हत्या गरेको खुलेको छ’, डिएसपी भुषाले सुनाए ।

हत्यारा पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले मात्रै सम्भव नभएपछि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) समेत पर्वत आएर अनुसन्धान गरेको थियो ।

दम्पत्तिको हत्यापछि घरमा भएको नगद, गरगहना र रिचार्ज कार्डसमेत लुटेर भागेका थिए । हत्यापछि उनीहरु पैदल हिँडेर मालढुंगा पुगेका थिए । मालढुंगाबाट सवारीसाधन चढेर पोखराको बागलुङ बसपार्कमा झरेको प्रहरीले जनाएको छ ।

मृतकको शरीरबाट निकालेको गहना कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाका ६० बर्षिय कर्णबहादुर विकलाई सुन गाल्न लगाएर उनीहरु बागलुङ फर्के । बाग्लुङको पूर्णिमा सुनचाँदी पसलमा सुन विक्री गरेर प्राप्त पैसा बाँडेर विक र दर्जी छुट्टिएको बताउँछन् ।

अभियुक्तद्वयको ४ बर्ष अगाडि नै चिनापर्ची थियो । बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नलाई दीपकले योजना बुनेका थिए । हत्यामा संग्लन कृष्णसँग मृतक सूर्यबहादुर चिनजान थियो । लुटपाटको क्रममा परिचय खुल्ने भएपछि हत्या गरेको प्रहरीसमक्ष वयान दिएका छन् ।

कृषकलाई सिचाई र बजारको चिन्ता

0

म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् ।

व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय पोखराको सहयोगमा टिआई नेपालले बिहिबार बेनीमा आयोजना गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका योजना तथा कार्यक्रम सँग सम्बन्धित सार्वजनिक सुनुवाईमा सहभागी कृषकहरुले सिचाई र बजारको समस्या औल्याएका हुन् ।

बेनी नगरपालिका–९ तोरीपानीका ज्ञानबहादुर विश्वकर्माले मकैको विउको न्युनतम मूल्य निर्धारण गरि बजारको खोजीका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट सहजिकरण गरिदिन आग्रह गर्नुभयो ।

अर्का कृषक गोरी दर्जीले यसपाली आलु धेरै उत्पादन भएपछि रु. ३० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने अवस्था आउँदा ज्याला र लागत पनि नउठेको गुनासो गर्नुभयो । बेनपा ६ का मुक्ति खड्काले प्राविधिक जनशक्तिको कमीले कृषकले प्राविधिक सेवा पाउन समस्या भएको गुनासो गर्नुभयो ।

बेनपा–४ बास्कुनाका तिलक गुरुङले रोगकिरा नियन्त्रणका लागि विषादी छर्कन आधुनिक यन्त्र उपकरणको अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो । मरेकका कृषक इन्द्र थापाले सिचाईको असुविधाले खडेरीमा खेतीबाली मर्न थालेको बताउनुभयो ।

बेनपा २ का कृषक सोवित शर्माले कृषि कर्जाको सदुपयोग र कृषि बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकलाई उत्पादनमा आधारित अनुदान दिन थालेको र कृषि उपजको बजारीकरणका लागि कालीपुलमा कृषि बजार भवन निर्माण थालिएको बताउनुभयो ।

उहाँले उत्पादीत कृषि उपज भण्डारण गरेर बेसिजनमा बजारमा लैजान सिंगामा चिस्यान गृह निर्माण गरि प्रयोगमा ल्याइएको बताउनुभयो । कृषकहरुले योजनाको माग गर्दा सिचाईका कार्यक्रम माग गर्न नगर प्रमुख केसीले आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष आलु खेतीलाई जोड दिइएको र पहाडी काष्ठफल सम्बन्धी नाफा कार्यक्रम लागू हुन लागेको जानकारी गराउनुभयो । गत वर्ष जनशक्ति अभावमा बजेट कार्यान्वयनमा समस्या भएपनि यसपाली पर्याप्त जनशक्ति रहेको र स्थानीय तहसँग समन्वय गरेर प्राविधिक सेवा दिने गरिएको बताउनुभयो ।

 

मृतकका आफन्तले अनुसन्धनमा खटिएका पर्वत प्रहरीको प्रशंसा सहित सम्मान गरे

0

पर्वतको जलजला गाउँपालिका–२,मल्लाजमा दहमा हत्या गरिएका एक दम्पत्तीका आफन्त घटनामा संलग्नको पहिचान गरी कानुनी कारवाहीको दायरमा ल्याएको भन्दै पर्वतका प्रहरीलाई धन्यवाद सहित खादा ओडाएर आभार प्रकट गरेका छन् ।

सिंगो नेपाली समाजलाई नै स्तब्ध बनाउने घटनामा संलग्न कृष्णबहादुर विश्वकर्मा र दिपक दर्जीलाई घटनाको एक महिना नवित्दै पक्राउ गरेको र अनुसन्धानको क्रममा प्रहरीबाट भएको सहयोगलाई सम्मान गरेको मृतकका आफन्त भरत थापाले बताउनुभयो ।

‘पेशागत जिम्मेबारी भएपनि हामीले अपराधी खोज्न उहाँहरुबाट भएको मेहनतलाई सम्मान गरेका हौ,‘प्रहरीलाई समुदायको सहयोगले अपराधी समात्न सकिन्छ भन्ने सन्देश दिन आवश्यक थियो’ थापाले भन्नुभयो । मृतकका आफन्तले पर्वत प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेपछि प्रहरी नायव उपरीक्षक खुमलाल भुषाल, प्रहरी निरिक्षक केशक केसी,केन्द्रिय अनुसन्धान ब्यूरोका होविन्द्र बोगटी,गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिषेयज्ञ चिकित्सकलाई समेत धन्यवाद दिएका छन् ।

सोही अवसरमा घटनापछि अनुसन्धानमा समुदायको सहयोग अविस्मरणीय भएको प्रनाउ भु्षालले बताउनुभयो । उहाँले अनुसन्धानमा करिब २ हजार जनासँग सोधपुछ गरिएको र जलजला, बेनीबजार, पर्वत र बागलुङ क्षेत्रमा समेत मागेको सूचना र प्रमाण सहजै पाएको प्रनाउ भुषालको भनाई थियो ।

जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले घटनाका अपराधी पत्ता नलागेको भए समुदाय नै त्रासले विस्थापित हुने जोखिम रहेको अवस्थामा अपराधीको पहिचान भएपछि समुदाय समेत त्रास मुक्त भएको बताउनुभएको थियो । वडा अध्यक्ष जिसीले आगामी दिनमा यस्ुता घटना हुन नदिन समाजमा अराजक तत्वको पहिचान आवश्यक सम्भावित घटना हुन नदिन समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

माटोको ढिस्कोले पुरिएर घाईते भएकी महिलालाई लायन्स क्लवको सहयोग

0

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकदशक अगाडी गम्भीर घाईते हुनुभएकी पर्वतको जलजला गाउँपालिका वडा नं २ पूर्णगाउँकी  एक महिलालाई लायन्स क्लवले ४५ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । लायन्स क्लव अफ बेनी मल्लाज, लायन्स क्लव अफ बेनी जलजलाले ४६ हजार ११० रुपैयाँ आर्थिक सहयोग संकलन गरी पीडित भगवती गौतमलाईको घरमा पुगेर हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचार तथा अन्य खर्चमा सहज हुने गरी आर्थिक जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बेनी मल्लाजका कोषाध्यक्ष किरण कार्कीले बताउनुभयो ।

सहयोग हस्तान्तण कार्यक्रममा लायन्स क्लव मल्लाजका अध्यक्ष चन्द्रबहादुर क्षत्री, लायन्स क्लव बेनी जलजलाका अध्यक्ष नारायण पौडेल लगायतको उपस्थिती रहेको थियो । विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाको रुपमा चिनिएको लायन्स क्लवले शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा

0

बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ। पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहेका छन्। बिहान पढ्नका लागि विद्यालय गएका उनीहरू बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा छन्।

जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गीन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहेका छन्।

‘विद्यालय जाने बेलामा परेकाले पढ्ने किताब कापी त हामीसँगै छ’, रजनीले भने, ‘खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ।’ बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाए।

सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुँवा नियाल्दै भने, ‘यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भए पनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ।’ जिउमा लगाउने कपडाबाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उनले बताए।

सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासी भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताए। ‘अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ’, उनले भने, ‘सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ।’

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन्।

गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिदेखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ।

पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ। घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन्।

गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताए। तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उनले बताए।

त्यस्तै,नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ। त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलोपटक भएको जनाएको छ।

घटनापश्चात तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनःनिर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनःनिर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न प्रयन्त गरिने उनले बताए।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ। -रासस

error: Content is protected !!