Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 680

धौलागिरिमा बेपत्ता युवाको तीन महिनापछि शव फेला

पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो ।

पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो ।

मृतक लामाको शव भने भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले जानकारी दिए । हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो । कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए ।

यस्तै, लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ छ । मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रासस

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ :दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुिगन् । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे । प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो ।

बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउछिन् । “धेरैँ पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ”, नेपाली भन्छिन्, “बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।”

स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताए। “हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौँ तर सुनवाई भएको छैन”, उनले भनिन् ।

बेलाबेलामा बिना सूचना काटिने विद्युत्ले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन् । अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन् ।

“एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एकजनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ”, कार्कीले भनिन्, “हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन् ।” यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ । स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो ।

बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ । छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ । “एक पटक गयो भने तीन-चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ”, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने, “बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।”

विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उनले सुनाए । बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ । धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताइन् ।

गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पुर्याउने योजना बनाएको छ । “क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने। रासस

बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम सकियो

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको सहयोगमा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म चलेको तालिममा नेतृत्व गर्ने शैली, नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्वका लागि आवश्यक पर्ने तत्वहरु, संस्थागत मूल्याङ्कनलगायत विविध विषयहरुमा सहजीकरण गरिएको आयोजकले जनाएका छन् ।

तालिमको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजु बस्नेत र केन्द्रीय सदस्य टिकाराम सापकोटाले सहजीकरण गर्नुभएको थियो । तालिमको समापन गर्दै केन्द्रीय अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिवार, आफन्तजन, छरछिमेक, समुदाय र सरोकारवालाहरुले सहयोग गरेमा उनीहरुमा परिवर्तन आउने बताउनुभयो ।

उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले राज्यले उपलब्ध गराउने सम्पूर्ण सेवासुविधाहरु पाउने वातावरण बनाउनका लागि सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले समाजमा रहेका अन्य व्यक्तिहरुको भन्दा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्था एकदमै फरक रहेको बताउनुभयो । बौद्धिक अपाङ्गताको क्षेत्रमा राज्यले उपलब्ध गराउँदै आइरहेको सेवासुविधा पर्याप्त नभएकाले यसको वृद्धि गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागीहरु विष्णुकुमारी आचार्य, प्रेम श्रीष र गणेश सुवेदीले अनुभव मन्तव्य सुनाउनुभएको थियो । तालिमको समापनसत्र बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र केन्द्रीय सदस्य टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा म्याग्दीसहित बागलुङ, पर्वत र कास्कीबाट गरी बौद्धिक अपाङ्गताका अभिभावक तथा व्यक्तिहरुसहित १६ जनाले सहभागिता जनाएका थिए ।

पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनल प्रवेश

बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित गर्दै रघुगंगा गाउँपालिका फाईनल प्रवेश गरेको थियो ।

प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा धवलागिरी गाउँपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गर्दै अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको थियो । पालिकास्तरीय भलिवलमा आठ टिमको सहभागिता रहेको थियो । भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

म्याग्दी महोत्सवस्थलमै शैक्षिक परामर्श

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीको खुलामञ्चमा जारी सातौं म्याग्दी महोत्सवस्थलमा रहेको शैक्षिक परार्मश दिने एभरेष्ट ग्लोबलको स्टलमा पनि दैनिक भिड देखिन्छ । महोत्सवको अवलोकन गर्न आउने अभिभावक, विद्यार्थीको उच्च शिक्षाको चासो देखाउने गरेका छन् ।

अध्ययनका लागि बिदेसिने युवाहरुलाई गन्तव्य मुलुकको शैक्षिक नियम, कानुन, व्यवस्था, आवश्यक योग्यता, पूर्वतयारी, आर्थिकलगायत पक्षमा परामर्शसँगै फोटो प्रतियोगिताले समेत यो स्टलमा भिड बढाएको छ । विदेश अध्ययनका लागि पोखरा, काठमाण्र्डा धाउनुपर्ने बाध्यताको अन्त्य गदैं बेनीबाटै परामर्श सेवा दिइँदै एभरेष्ट ग्लोबलकी बेनी शाखा प्रमुख अस्मिता केसी बानियाँले महोत्सवमा आउने विद्यार्थी र अभिभावकको चासो धेरै रहेको बताउनुभयो ।

‘दैनिक अध्ययनका लागि जान चाहनेहरु आउनुहुन्छ,‘एकबर्ष पछाडी तयारी गर्ने योजनामा रहेका विद्यार्थी समेत स्टलमै आएर चासो लिने गरेका छन्‘ शाखा प्रमुख केसीले भन्नुभयो ।म्याग्दीका विभिन्न विद्यालयमा कक्षा १२ सम्म पढ्दै गरेका विद्यार्थीले विदेश अध्ययन गर्न आवश्यक चासो देखाउने गरेको उहाँको भनाई छ ।

विदेश उच्च अध्ययन गर्न जाने विद्यार्थीलाई हामीले स्टलबाटै धेरै जानकारी दिएर अन्य थप जानकारीका लागि कार्यालयमै बोलाउने गरेको शैक्षिक परामर्श दिइरहेको शाखाले जनाएको छ । परामर्श तथा अध्ययनको अवसरका लागि महोत्सव समेत एउटा माध्यम बनेको छ । बेनीमा रहेको फिउचर सेलेक्ट र एभरेष्ट ग्लोबल एक आपसमा मर्ज भएर नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरिएको छ ।

सोही अवसरमा अवलोकन गर्न आउनेलाई अन्तिममा नगद ५ हजार सहित सम्मान गर्ने गरी फोटो प्रतिस्पर्धाले समेत चहलहपल बढेको कर्मचारी जगत गैरेले बताउनुभयो । म्याग्दीबाट अन्तर्राष्ट्रिय शिक्षा लिन चाहने विद्यार्थीका निम्ति पुलको काम गरेको एभरेष्ट ग्लोबलले विद्यार्थीको गन्तव्य मुलुकका युनिभर्सिटी, कलेजहरूका बारेमा समेत जानकारी दिने गरेको छ।

 

जलजलाको १३ औ गाउँसभा सम्पन्न

पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ । सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ ।

अल्या बजेटबाट जिम्मेवारी सरेका र समपुरक कोषबाट विभिन्न योजना तथा कार्यक्रमका लागि रु. दुई करोड ४८ लाख बिनियोजन भएको छ । अधुरा योजनालाई पूर्णता दिन र सिर्जना भइसकेको दायित्वको भुक्तानीका लागि बजेट बिनियोजन गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

यसैगरी गाउँसभा सदस्य टकबहादुर पुनको संयोजकत्वमा खिमबहादुर खत्री र बिष्णु पुन सदस्य रहेको लेखा समिति गठन भएको छ । वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ ।

समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न रु. तीस लाख बिनियोजन भएको छ । घर, टहरा र खेतीयोग्य जमिनमा असर गर्ने साँध सिमानाको अनावश्यक रुख हटाउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

संघीय सरकारसँगको साझेदारीमा छ वटा वडा कार्यालयको भवन निर्माण थालिएको, बेनी–भुरतुला सडक ढलान भैरहेको, घुम्ति शिविरबाट वडामै सेवा दिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

गत असारको गाउँसभाले बिनियोजन गरेको रु. ४८ करोड बजेट रु. २० करोड ६५ लाख २६ हजार ६५३ आम्दानी र रु. १६ करोड १८ लाख ४२ हजार ९७२ अथवा ३२.५९ प्रतिशत बजेट खर्च भएको छ । छ महिनामा रु. ६६ लाख ५२ हजार ७१ आन्तरिक आम्दानी भएको छ । विभिन्न ११ वटा कार्यविधि र मापदण्ड पारित भएको छ ।

गत पुष २९ गते गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको थियो । बुधबारको सभामा भने अधिकांश सदस्यहरु सहभागि भएका थिए । छलफलमा सहभागी हुदै गाउँसभा सदस्य टकबहादुर पुनले कार्यपालिका अन्तरगतको विषयगत समितिलाई सक्रीय बनाउनुपर्ने बताउनुभयो ।

भिमसेन बराइलीले पुँजिगत खर्च अपेक्षाकृत नभएकोमा असन्तुष्टि जनाउनुभयो । क्षेत्रबहादुर पुनले वडा कार्यालय भवन निर्माणको जिम्मा लिएका ठेकेदारले दोस्रो तेस्रो व्यक्तिलाई ठेक्का बेचेको भन्दा गुणस्तर र मापदण्ड अनुसार भवन बनाउनुपर्ने बताउनुभयो ।

लकबहादुर पुर्जाले विकृति र सामाजिक समस्याका रुपमा देखिएको मेलाजात्रालाई नियम गर्न आवश्यक देखिएको बताउनुभयो । सदस्य बिष्णु सार्कीले गाउँसभा र पालिकाका कार्यक्रम समयमै शुरु र सम्पन्न गराउन ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस म्याग्दीका संस्थापक बोगटीको स्मृति दिवसमा न्यानो कपडा वितरण र सम्मान

नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २७ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा स्वर्गीय बोगटीले राजनीति बाहेक शिक्षा र सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बक्ताको भनाई थियो ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पूर्व सहसभापति नेत्र बहादुर महतले स्वर्गीय बोगटीको राजनीतिक सक्रियताको जगमा नेपाली कांग्रेस म्याग्दीले गति लिएको बताए । उनले संस्थापक बोगटीलाई स्मृति दिवसमा मात्रै नभई हरेक पार्टीका कार्यक्रमहरुमा सम्झनुपर्ने र उहाँका आर्दशलाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

सोही अवसरमा ओम्बो ट्रस्टद्धारा भानु माविबाट एसइईमा प्रथम भएकी छात्रा बर्षा थापालाई नगद ५ हजार ५५५ रुपैयाँ र कदरपत्रले सम्मान गरिएको थियो भने ३ विपन्न परिवारलाई न्यानो ब्लाम्केट वितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीले बताए ।

कार्यक्रममा पूर्व वडा सभापति मीनबहादुर खत्रीलाई नगद र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा स्वर्गीय ओमबहादुरकी धर्मपत्नी, लिला बोगटी, नाति अभिषेक बोगटी सहितको उपस्थिती रहेको थियो । ओम्बो ट्रस्टद्धारा विगतमा समेत स्मृति दिवसका साथै विभिन्न कार्यक्रम गरी मनाउने गरेको थियो ।

चिर्पटले प्रहार गरी बुहारीको हत्या

नेपाली समाजमा ससुरा र बुहारीबीचको सम्बन्ध सुमुधुर हुन्छ । अर्को शब्दमा ससुरालाई दोस्रो बुबाको सम्मान समेत दिइन्छ। तर, म्याग्दीमा समान्य घरायसी विवादमा ससुराले बुहारीलाई दाउराले हानेर हत्या गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, फलियागाउँकी २८ वर्षीया अनिता रानालाई उनका ५३ वर्षीय ससुरा इन्द्रबहादुर भण्डारीले दाउराले प्रहार गरी हत्या गरेका हुन् ।

मंगलबार विहान १० बजे सामान्य विवादमा भण्डारीले एक्कासी दाउराले प्रहार गरेपछि बुहारी राना गम्भीर घाईते भएकी थिईन् । गम्भीर घाईते अवस्थामा उद्धार गरिएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मंगलबार नै चिकित्सकले मृत घोषित गरेका थिए । मृतक रानाको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।

मृतकका श्रीमान नेपाल प्रहरीमा कार्यरत छन् । अभियुक्त भण्डारीलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरिएको प्रहरी निरिक्षक एवम् सुचना अधिकारी राजन ढकालले बताए ।‘तत्कालै नियन्त्रणमा लिइएको थियो, चिर्पटले बुहारीको टाउकोमा प्रहार गरेको देखिन्छ‘ प्रनानी ढकालले भने । अभियुक्त भण्डारीलाई कर्तब्यज्यान मुद्धामा अनुसन्धान भइरहेको छ । घटनाबाट फलियाँगाउ स्तब्ध भएको छ ।

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन्।

यसअघिका वर्षहरूमा मंसिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू काला पत्थरमा परिणत हुँदै गएका छन्।

हिउँदमा पानी नपरेपछि हिउँदे खेती सिँचाइको अभावमा खेतबारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए।

‘पहिला यो समयमा मुस्ताङका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको छ‚‘ मुस्ताङ मार्फाका कृषक शोभा गुरुङले जानकारी दिइन्।

म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गत वर्ष पुस नलाग्दै हिउँ परेको थियो। यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन्।

समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गत वर्षभन्दा धेरै चिसो महसुस भएको उच्च लेकाली क्षेत्रका बासिन्दा बताउँछन्। हिउँ पर्ने समयमा हिउँ नपरेको र तापक्रमसमेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन्।

वनजंगलको तीव्र फँडानी, विभिन्न हानीकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताए। रासस

चिसो बढेपछि सुनसान छ ढोरपाटनको बुकी क्षेत्र

६ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो । बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले वस्तुभाउ लिएर उतै बस्छन् ।

जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै छ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो । ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईवस्तु र भेडाबाख्रा बेँसी झरेका छन् । “बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ”, उनले भने, “चिसो बढेपछि गोठ लिएर बेँसी झर्नै पर्छ ।”

बर्खायामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालालाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताए । छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूधलाई घीउ तथा मासुलाई सुकुटी बनाउने गरिएको उनले बताए । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन हो । बुकी क्षेत्रमा जन्मने पाडा÷बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् ।

हरियो घाँस सकिँदै जाने र जाडो सुरु भएपछि सबै वस्तुभाउ लिएर ढोरपाटन उपत्यका झर्ने पाखाथरका पशुपालक कृषक डिल्ली भण्डारीले बताए । जाडो सुरु भएपछि गोठालाको घुम्ती बसाइ गाउँमा झरेको छ । गर्मी महिनामा बुकी, मध्यम मौसममा ढोरपाटन उपत्यका र जाडो मौसममा बोबाङका गाउँ क्षेत्रमा गोठाला वस्तुभाउसहित आउने र जाने गर्छन् ।

गर्मीमा गाउँ छाडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । पहिले बुकी चरणमा जाने गोठालाले वडा कार्यालयलाई तिरो दिने चलन थियो । वडाध्यक्ष घर्तीका अनुसार कृषकले एउटा गाईभैँसीको रु पचास र एउटा भेडा बाख्राको रु पाँच लिने गरिएको थियो । आफू वडाध्यक्ष निर्वाचित भएपछि कृषकलाई चरण क्षेत्रको तिरो लिन छाडिएको उनले बताए ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक, कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक तथा पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान वैशाखमा फेरि बुकी जान्छन् । बुकीबाट झरेका वस्तुभाउलाई गोठालाले मलका लागि बारीमै छाड्ने गर्छन् । मल पुगेपछि खनजोत गरेर हिउँदे बाली लगाउने गरेको वडाध्यक्ष घर्तीले बताए । मकै छरेपछि वैशाख १५ गतेदेखि ढोरपाटन क्षेत्र उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ ।

गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । हिउँदमा हिमपात हुने र जाडो बढ्ने भएकाले जाडो छल्न बेँसी झरेको कृषकको भनाइ छ । ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का बासिन्दाको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो । ढोरपाटन उपत्यकामा पनि चिढो बढ्दै गएपछि केही स्थानीय जाडो छल्न गाउँ तथा सहरी क्षेत्रमा झर्न थालेका छन् ।रासस