Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 681

म्याग्दी महोत्सवस्थलमै खोलिन्छ निशुल्क डिम्याट खाता !

के तपाईको सेयर बजारसम्बन्धि कारोबार गर्ने डिम्याट एकाउण्ट छैन ? यदि छैन भने तपाईले निशुल्क डिम्याट खाता खोल्न पाउनुहुने छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीको खुलामञ्चमा जारी सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले स्टल नै राखेर निशुल्क शेयर बजारसम्बन्धि जानकारी तथा डिम्याट खाताको सुविधा दिएको छ ।

महोत्सवस्थलमा रहेको स्टलमा डिम्याट खाता खोल्नुका साथै विभिन्न कम्पनीको लगानीका बारेमा समेत प्रत्यक्ष जानकारी दिने गरिएको ब्रोकर नं ३४ रहेको भिजन सेक्यूरिटिज प्रालिको बेनी शाखका प्रमुख बिशाल हमाल ठकुरीले बताए।‘महोत्सवमा घुम्न जानेलाई सेयरबजार बारेमा बुझन् अनुरोध गर्दछु,‘अहिले सर्वसाधारणका लागि जारी गरिएको सेयरका बारेमा पनि हामीले बुझाइरहेका छौ’ ठकुरीले भने ।

उनका अनुसार आगामी डिसेम्बर ३१ तारिक सम्म निशुल्क डिम्याट खोल्ने कार्यक्रम महोत्सव सकिएपछि गणेशटोलको कार्यालयबाटै गरिने बताए । डिम्याट खाता खोलन नागरिकताको फोटोकपी र दुईप्रति पासर्पोट साइजको फोटो चाहिन्छ ।

पौलस्त्य मावि अक्षय कोषले २ लाख बराबरको शैक्षिक साम्रागी सहयोग

म्याग्दीको बेनी नगरपालिका-५,भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषले २ लाख बराबरको शैक्षिक पोशाक वितरण गरेको छ । विद्यालयमा अध्ययतरत विद्यार्थीको शैक्षिक तथा विविध क्षेत्रमा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनतर १ सय ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको शिक्षक गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बि.स २०७५ सालमा स्थापना भएको कोषमा हालसम्म ८ लाख संकलन गरिएकोमा उक्त कोषको ब्याजबाट सहयोग गरिएको हो । सहयोग कोषका संस्थापक अध्यक्ष एवम् वडा अध्यक्ष गोविन्द बानियाँ, विब्यस अध्यक्ष नविन बानियाँ, कोषका अध्यक्ष दुर्गा बानियाँ, प्रअ प्रेमबहादुर बानियाँ लगायतले विततरण गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र अक्षयकोषको व्याजबाट विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन तथा शिक्षामा सहयोग गर्ने उद्देश्यसहित अक्षयकोषको स्थापना गरिएको विद्यालयले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा लायन्स क्लवले दियो ५३ लाख अत्याधुनिक उपकरण

विश्वकै सबैभन्दा ठूलो सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका-६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५३ लाखभन्दा बढी मुल्य पर्ने उपकरण सहयोग गरेको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय डिट्रीक्ट ३२५ आईष्ट समन्वय र लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेसनले लायन्स क्लव अफ म्याग्दी दरबाङको सिफारिसमा उपकरण खरिद गरेर उपलब्ध गराएको हो ।

नेपालमै अत्याधुनिक मानिएको करिब ४२ लाख मुल्ल बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराइएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिट्रीक्ट ३२५ आईष्टका प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर चन्द्रकुमार केसीले बताउनुभयो । ‘पश्चिम म्याग्दीका बिरामीलाई अव बाहिर जानुपदैन्, नेपालमा कमै प्रयोग भएको एक्सरे मेसिन प्रयोग गरिएको छ’ प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर केसीले भन्नुभयो ।

दरबाङमा जडान गरिएको उपकरणको प्रदेशसभा क्षेत्र नं २ का सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभएको थियो ।पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका सहित छिमेकी बागलुङको तामान गाउँपालिकाबाट समेत सेवा लिने केन्द्रमा पछिल्लो समय थपिएको उपकरण सहितका जनशक्तीले बिरामीलाई सहज भएको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, लायन्स क्लवका एरिया कोअर्डीनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सील अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेल लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लवमार्फत म्याग्दीमा शिक्षा, स्वास्थ्य लगायतको सामाजिक कार्यमा कराडौं लगानी भएको छ । लायन्स क्लवले अवका दिनमा प्रत्यक्ष बर्ष म्याग्दीमा कम्तिमा १ करोडको प्रोजेक्ट गर्न सक्ने जनाइएको छ ।

 

पुख्यौली नृत्यमा काफलडाडाको पुख्यौली समूह बिजयी

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला,गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक,व्यापार मेलाको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएको छ ।

परम्परागत कला संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो भएको साँस्कृतिक कार्यक्रम संयोजकम्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । मगर समुदायको बाहुल्य रहेको म्याग्दीमा सोरठी,यानीमायाँ र सरस्वती नृत्यको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘पुख्यौलीकलाहरू म्याग्दीको सम्पत्ति हुन्, ‘सहभागी संख्या कम भएपनि हामीले भविस्यमा पनि प्रतियोगिता सञ्चालन गर्नेछौ’ अध्यक्ष कटुवालले भन्नुभयो । म्याग्दीमा मगरसँगै छन्त्याल समुदायले पनि आफ्नो पुख्र्यौली संरक्षणका लागि बडा दसैं, छेवर, विवाह, कुलपूजाजस्ता शुभकार्यमा यस्ता नृत्य प्रदर्शन गर्दै आएका छन् । प्रतियोगितामा रघुगंगा पुख्र्यौली नृत्य, क्षेत्री समाज म्याग्दीले सहित ४ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम र दिृतीय हुनेले क्रमश नगद २५ हजार र १५ हजार पुरस्कार प्राप्त गरेका छन् । बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा बाह्मण समाज प्रथम, क्षत्री समाज द्धितिय भएको थियो । आगामी माघ ७ गतेसम्म हुने महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम सहित विभिन्न प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

ध्रुवसागर शर्मा
गलेश्वर, २ माघ ।

‘गाउँगाउँ जस्तो छैन
सहरसहर जस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । रुमका चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना । टुनी र सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली । तीन–चार हल गोरु नारेर दाइँ हाल्न मिल्ने ठूलो आँगन । आँगनकै छेउमा बाह्रैमास पानी झरिरहने धारो । घरको नजिकै धन्सार सहितको गोठ। वरिपरि खेतबारीको हरियाली । उत्तरतिर हेर्दा मुसुक्क मुस्कुराएजस्ता देखिने धौलागिरि हिमश्रृङ्खला ।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइँका कारण एक्लिदै जान थालेको छ । गाउँमा घरहरु त छन् तर, घरमा बस्ने मानिसहरु छैनन् । बस्ती पातलिदै जान थालेको छ । भीरपहरा र खोलाहरु छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् ।

विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरु थप सुविधाको खोजीमा सहरबजार र तराईतिर जानेक्रम भने नरोकिएको मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोका बताउनुहुन्छ । रुम मात्रै होइन, आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको जिल्लाका दर्जनौँ गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् ।

एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराइले पातलिँदै गएका छन् । अहिले अवस्था पूरै फेरिएको छ । मालिका, मङ्गला र बेनी नगरपालिका विभिन्न बस्तीबाट सबैभन्दा बढी बसाइँसराइ भएको छ । कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोस दिने मानिस छैन ।

जिल्लाका ग्रामीण भेगहरुमा पुग्दा बाक्ला घरहरु त देखिन्छन् तर घरमा बस्ने मानिसहरु भेटिदैनन् । ताल्चा लगाइएको घरको ढोका अगाडिको पिँढी र आगनमा झार उम्रिएको छ । प्लाष्टिकले ओत दिएर घर अडाइएको छ । घरहरुमा भेटिएका केही थान मानिसहरु पनि उमेरले जेष्ठ नागरिकहरु नै थिए । रित्तिएका घरहरुका खेतबारी पनि बाँझा छन् । अगेनीमा ऐजैरु पलाएको छ ।

पछिल्लो आम निर्वाचनमा कूल मतको ४३ प्रतिशत मत मात्र खसेको बेनी नगरपालिका–३ तोराखेत गाउँको अवस्था पनि यस्तै छ । क्षेत्री र दलित समुदायको मिश्रित बसाई रहेको यो गाउँ पहिराका कारण पनि उजाडिएको छ । एक दशकअघिसम्म २१७ धरधुरी रहेको यो गाउँमा अहिले ३९ घर परिवारको मात्र बसोबास रहेको र अरु सबै बसाइँसराइ गरी अन्यत्र गइसकेको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताउनुभयो ।

गाउँघर रित्तिदै जाने सिलसिला रुम र तोराखेतको मात्र होइन, जिल्लाका अधिकांश बस्तीहरुको यो साझा समस्या हो । जिल्लाको पश्चिमी क्षेत्रका वडाहरुमा बर्सेनि सयौँ परिवारले गाउँ छोड्ने गरेका छन् । गाउँमा उत्पादनमुखी काममा लाग्नुभन्दा घरमुलीको जागिरको पैसाले सहरको बसाईमा रमाउनेको सङ्ख्या अधिक देखिन्छ ।

उता शिक्षा र स्वास्थ्य सेवा गाउँ घरमा उपयुक्त नपाएका कारण पनि ग्रामीण समुदायको बसाई रित्तिदै गएको देखिन्छ । शहर केन्द्रित बसाई पछिल्लो दुई दशकदेखि बढेर गएको हो । पचासको दशकमा देशमा सुरु भएको सशस्त्र जनयुद्धले धेरै गाउँका मानिसहरु सदरमुकाम र बजार क्षेत्रमा झरे । युद्ध सकिएको साठीको दशकमा यो क्रम रोकिने विश्वास थियो तर बसाइँसराइ रोकिएन ।

पछिल्लो राजनीतिक मुद्दा पनि बसाइँसराइ रोक्नुपर्छ भन्ने भएको छ । निर्वाचनका बेलामा म्याग्दी जिल्लाका प्रतिनिधिसभाका सांसद खमबहादुर शेरपुंजा ९खम्वीर० ले पनि गाउँको बसाइँसराइँ रोक्ने योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले गाउँमा मोटरबाटो निर्माण भएको, घरघरमा खानेपानी र अन्य पूर्वाधार बन्दै गरेको भए पनि गाउँका बस्ती रित्तिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
एक दशकअघि ५२ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २२ घरधुरी मात्रै छन् । त्यसैगरी दुई सय १७ घरधुरी भएको उपल्लो ज्यामरुककोट क्षेत्रबाट ६२ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रकान्त शर्माले बताउनुभयो । बेनी नगरपािलका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले पाँच वर्षमा ४६ बढी परिवारले बसाइँ सरेको जानकारी दिनुभयो । गाउँमा विकासले विस्तारै गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उहाँको भनाइ छ ।

गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको मालिका गाउँपालिका–५ देविस्थानका ६४ वर्षीय शेरबहादुर बुढाले बताउनुभयो । बसाइँ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्नसमेत समस्या हुने गरेको उहाँको भनाइ छ । म्याग्दीबाट प्रायः काठमाडौँ, पोखरा, चितवनलगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने गरेका छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा थपिदै गए पनि बसाइँसराइ घट्नुको साटो बढिरहेकामा स्थानीय जनप्रतिनिधिहरुलेसमेत चिन्ता व्यक्त गरेका छन् ।

बढ्दो बसाइँसराइले गाउँघर खाली बन्दै गएका छन् । बस्ती पातलिँदा असुरक्षा बढ्दै गएको रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । प्रायः छोराहरू वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको उहाँको भनाइ छ । “कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर झरेका छन्”, भण्डारीले भन्नुभयो, “आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जङ्गलमा परिणत हुँदै गएका छन् ।”

अहिले जिल्ला बाहिर मात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र सदरमुकाम बेनी, दरबाङ, गलेश्वर, पोखरेबगर, बाबियाचौरलगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जङ्गली जनावरको आतङ्कलगायतका कारण वर्षौं पहिलेदेखि शुरु भएको बसाइँसराइ गाउँगाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । “युवा नहुँदा गाउँ, गाउँघरजस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्”, आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाएका ज्यामरुककोटका चन्द्रबहादुर कार्कीले भन्नुभयो, “मुलुकमा आएको ठूलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० कक्षा पास गरेपछि सहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरुप्रति त कसैको आँखै लाग्दैन ।”

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको सङ्ख्या बढ्दै गए पनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवा भने नगण्य मात्रामा रहेका छन् । “स्कुले बालबालिकादेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ”, बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भन्नुभयो, “कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौँ रु भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।”

युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा बस्ने नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेको छ । रोजगारीका लागि विदेश पसेका युवाबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको बैंक तथा वित्तीय संस्थाहरुको तथ्याङ्क छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोराछोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यति सजिलै बिर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।
बसाइँसराइका कारण जनसङ्ख्या घट्यो

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँसराइँ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार २०६८ सालको तुलनामा ०।५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।

विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो । “म्याग्दीको जनसङ्ख्या घट्नुमा वैदेशिक रोजगार र बसाइँसराइ नै प्रमुख कारण हो”, सापकोटाले भन्नुभयो । राससबाट

घराम्दी गाउँमा स्वास्थ्य इकाई स्थापना, स्थानीयवासी हर्षित

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको घराम्दी गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चितता र स्थानीय सरकारको अनुभूति गराउन गाउँमै स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो ।

वडामा रहेको स्वास्थ्य चौकी र छिमेकी गाउँ टिकोटमा रहेको स्वास्थ्य इकाईमा पुगेर सेवा लिन झन्झट र सास्ती हुने भएकाले गाउँमै इकाई स्थापना गरिएको वडा अध्यक्ष माइलन पूर्जा पुनले बताउनुभयो ।

‘स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्,‘स्थानीयको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याइएको हो,’अध्यक्ष पुनले भन्नुभयो। घराम्दी गाउँबाट टिकोटमा रहेको इकाईमा पुगेर सेवा लिन करिब डेढ घण्टा लाग्ने भएकाले प्राथमिक उपचारमा सहज हुने गरी इकाई स्थापना गरिएको अन्नपूर्ण गापा स्वास्थ्य शाखाले जनाएको छ ।

करिब ७५ घरघुरी रहेको घराम्दीमा ३५० भन्दा बढीको बसोबास रहेको छ । घराम्दी हिस्तानको दोस्रो ठुलो बस्ती हो । इकाई उद्घाटनमा गाउँपालिकाका स्वास्थ्य प्रमुख समुन्द बरुवाल सहितको टोलीको उपस्थिती रहेको थियो ।

ग्रामिण क्षेत्रमा आपतकालिन स्वास्थ्य सेवाका लागि इकाई प्रभावकारी मानिन्छ ।इकाईको स्थापना भएपछि स्थानीयबासी समेत उत्साहित भएका छन् । इकाईमा स्वास्थ्यकर्मी सहित प्रयाप्त औाषधी, उपकरण सहितको ब्यवस्था गरिएको छ ।

संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राख्दै कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगराउने कानुनी व्यवस्था गरेको भन्दै अन्नपूर्ण गाउँपालिकाले यसअगाडी पाउद्धार, घोडेपानी, खिवाङ र टिकोटमा इकाई स्थापना गरेको छ भने आवश्यकता परेमा वडाका जनप्रतिनिधिको सिफारिसमा थप गर्ने जनाएको छ ।

म्याग्दी आउँदै गरेका कृषि प्रसार अधिकृत विमान दुर्घटनामा अस्ताए

पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।

विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए ।

“यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।” नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर पुगेका थियो । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए ।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा छन् ।

म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीको नयाँ कार्यसमिति चयन

म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । बेनी नगरपालिका–६ डम्बरामा आयोजित साधारणसभाको अवसरमा हेमन श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष अर्जुन आचार्य, सचिव विनोद सुबेदी, कोषाध्यक्ष रामकृष्ण सुबेदी रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा इश्वर आचार्य केशब, सुयोग श्रेष्ठ, नगेन्द्र बस्नेत, भगवती पौडेल सुबेदी, नन्दकली सापकोटा, ओसिन श्रेष्ठ, बेलबहादुर केसी,टुंङ्गनाथ कँडेल,शिल भण्डारी शर्मा रहेको सचिव विनोद सुबेदीले जानकारी दिनुभयो । सोही अवसरमा गठित दरबाङ इकाई समितीमा विष्णु केसी, खगेन पुन, जिवन पुन र मकेस किसान रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले ब्यवसायी बिचको एकता र सहकार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले मोवाइल चोरी गरी बिक्री गर्ने प्रबृत्ति तथा ब्यवसायीक गुनासो र सम्भावनाको क्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।

अधिवेशनको अवसरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका केन्द्रिय सचिव ताराप्रसाद बाबुराम आचार्य, मोवाइल बिक्रेता विनोद केसी, सुदिप कँडेल लगायतको उपस्थिती रहेको थियो । अधिवेशनमा आर्थिक प्रतिवेदन रामकृष्ण सुबेदी, अधिवेशन सहित कार्यक्रमका बारेमा जानकारी इश्वर आचार्यले गर्नुभएको थियो ।म्याग्दी जिल्लमा रहेको मोवाइल तथा इलेक्ट्रिक्स ब्यवसायीको साझा संस्था संघले ब्यवसायसँगै बिपन्न परिवारलाई खाद्यान्न र शैक्षिक साम्रागी सहयोग लगायतका कार्यहरु गरेको छ ।

मुदी नाउरा गाउँ, अब बस चल्छ सरर….

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४,मा पर्ने नाउरा सम्म बस सेवा सञ्चालन हुन थालेको छ । म्याग्दी यातायात कम्पनी प्रालीले मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि नाउरा जोड्ने सडकमा आइतबारदेखि बस सञ्चालन गरेको हो। नाउरामा निर्माणाधिन अपर म्याग्दीखोला जलविद्युत आयोजनाले बनाएको पहुँचमार्गबाट स्थानीयबासीलाई यातायात सुविधा पुगेको हो ।

सो सडकको खारा–खाम्ला क्षेत्रमा सडक निर्माणमा धवलागिरी गाउँपालिकाले पनि लगानी गरेको छ । नाउरबाट प्रत्येक बिहान १०.३० बजे दरवाङका लागि बस छुटाउने म्याग्दी यातायात कम्पनी प्रा.ली.का अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

बस सञ्चालन भएपछि बगर, मुदी, खिवाङ, चेचुङ, बाँसबोट, छहरी, कल्लेनी, शिवरात्रीखोला, भारवाङ, बिम, खारा, इल्पु लगायत बस्तीका बासिन्दा लाभान्वित हुने कल्लेनीका खगिन पुनले बताउनुभयो । यो सडकबाट जलविद्युत लगायत विकास आयोजना र धौलागिरि चक्रीय पदमार्ग तथा हिमाल आरोहणमा जाने पर्यटकहरु पनि लाभान्वित हुने जनाइएको छ ।

नाउरा देखि दरवाङ रु. २९०, खाम्ला–दरवाङ रु. २५०, खारा बाँसबोट–दरवाङ २००, छरी–दरवाङ १७०, कल्लेनी–दरवाङ १४०, भारवाङ–दरवाङ रु. ८० प्रतिव्यक्तिका दरले भाडादर निर्धारण गरिएको छ ।

केही दिनअघि मात्र बेनी देखि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दर्मीजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडकमा पनि बस सेवा शुरु भएको थियो । धवलागिरी गाउँपालिकाको मुना हुदै मुदी सम्म पनि बस सञ्चालनका लागि यातायात व्यवसायीहरुको टोलीले केही दिनअघि अध्ययन गरेका थिए । ग्रामिण क्षेत्रमा सडक निर्माण र विस्तार भएसँगै यातायात सेवा पनि विस्तार हुन थालेको छ ।

 

 

 

भारतकाे अयाेध्या पठाइने कालीगण्डकीका शिलाको पूजाअर्चना

छिमेकी देश भारतको अयोध्याधाममा भगवान् राम र सीताको मूर्ति बनाउनका लागि लैजाने कालीगण्डकी नदीको शिलाको पूजाअर्चना भएको छ । म्याग्दीको बेनी नगरपालिका ६ गलेश्वरको कालीगण्डकी नदी किनारमा आज (आइतवार) धार्मिक विधि र परम्पराअनुसार शिलाको पूजापाठ गरिएको हो ।

हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल मानिने अयोध्याधाम लैजानका लागि कालीगण्डकीको नदी किनारमा पहिचान गरिएका शिलाको पूजा गरिएको बेनी नगरपालिकाले जनाएको छ । हिमालपारिको जिल्ला मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भइ मुक्तिनाथ मन्दिरका एक सय आठ वटा धाराको जल मिसिएर म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मूर्ति बनाउन लागिएको हो ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधि, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसी, पण्डित भीमनाथ पराजुली, अयोध्याधामको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्त लगायतले कालीगण्डकी नदी किनारबाट उत्खनन तथा पहिचान गरिएका शिलाको पूजा गर्नुभएको थियो । यसअघि उच्चस्तरीय एक टोलीले अवलोकन गरेपछि आज माघे सङ्क्रान्ति पर्वको अवसरमा शिलाको पूजाअर्चना गरिएको छ ।

अयोध्याधाममा निर्माणाधीन राम मन्दिरको परिसरमा कालीगण्डकीको शिलालाई मुख्य मूर्ति कुँदेर राख्नका लागि लैजान लागिएको बेनी नगरपालिकाका मेयर केसीले बताउनुभयो । भू–गर्वविद्, शिलाविद्, प्राविधिक तथा विज्ञसहितको टोलीले दुई हप्ताको समय लगाएर कालीगण्डकी नदी किनारमा दुई वटा शिलाको पहिचान गरेको थियो । कालीगण्डकीका शिलालाई अयोध्या लैजान उपहारस्वरूप दिइएको छ । नदी किनारको छेउमा शिला पठाइएको सङ्केतका रूपमा गण्डकी प्रदेश सरकारको सहयोगमा स्तम्भ बनाइने मेयर केसीले जानकारी दिनुभयो ।

भारतको अयोध्याधाममा कालीगण्डकीको शिला पठाउन समन्वय गर्नुभएका कांग्रेस नेता निधिले गलेश्वरको कालीगण्डकीबाट शिला लैजाँदा नेपाल र भारतको बीचमा धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले रामको मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीको शिला लैजाने चाहना गरेपछि आफूले समन्वय गरेर नेपालको तर्फबाट अयोध्यामा कालीगण्डकी नदीको शिला पठाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

कालीगण्डकी नदी किनारबाट पहिचान गरी उत्खनन गरिएका ‘देवशिला’ को नामकरण गरिएका दुई वटा शिला लामो समयसम्म टिक्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राममन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका उप–प्राध्यापक नवराज न्यौपानेसहितको टोलीले कालीगण्डकी नदी किनारमा शिलाको पहिचान गरी नाप–जाँच गरेको थियो ।

आज धार्मिक विधिअनुसार पुजाअर्चना गरिएको शिलालाई एक हप्तापछि जनकपुर लगिनेछ । गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने त्यस शिलालाई बेनी नगरपालिकाले भजनकिर्तन र बाजागाजासहित बिदाइ गर्ने जनाएको छ । नेपालको जनकपुर हुँदै भारतको अयोध्या पठाउन लागिएको कालीगण्डकीको शिलाका कारण धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतको अयोध्यामा राम र सीताको मूर्ति बनाउन पठाइने कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका दुई वटा शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका छन् । त्यस शिलालाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउन अनुमति दिएका छन् ।