Friday, June 27, 2025
22 C
Beni
22 C
Beni
Friday, June 27, 2025
Home Blog Page 690

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर भटाभट मर्न थाले

देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् ।सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

व्यावसायिकरूपमै फार्ममा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बङ्गुर फार्ममा गरिएको बङ्गुरमा पशुपक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो ।

यहाँका ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ ।

केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताउनुभयो । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् ।

यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाइ छ ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा साढे दुई सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताउनुभयो ।

यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुनसक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाको २६ र पूर्वराज घर्तीको सातवटा बङ्गुर मरेको विवरण सङ्कलन भएको छ ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाइ छ । जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ ।

पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

– रासस

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै

धवलागिरि गाउँपालिका-३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे ।

तत्कालीन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक पूर्वाधार निर्माण गरेर सेवाप्रवाह भइरहेको यस गाउँपालिकावासीले सरकार गाउँमै पुगे पनि विकासका आधारभूत पूर्वाधारसँगै सेवा र सुविधाबाट समेत अझै बञ्चित छन् ।

मुख्यगरी सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने सडक र गाउँपालिकादेखि वडा जोड्ने सडकको अवस्था दयनीय छ । यस गाउँपालिकाको वडा नं १ गुर्जामा अझै सडक सञ्जाल पुग्न सकेको छैन भने दर्जन बढी अन्य वडाका बस्तीमा पनि सडक पुगेको छैन ।

सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मुना जोड्ने अधिकांश सडक कच्ची छ । हिउँदमा धुलो, बर्खामा हिलोका कारण सडक जीर्ण अवस्थामा छन् । विकासका आधारभूत पूर्वाधार मानिने सडकको सहज पहुँच नभएकै कारण धवलागिरिवासीले गाउँमा सरकार पुगे पनि विकासको अनुभूति गर्न नपाएको मुनाका स्थानीय युवा विजय भण्डारीले बताए ।

“सरकार त गाउँमा आयो, तर अहिलेसम्म मोटरबाटो राम्रो बन्न सकेको छैन, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, खानेपानीलगायतका अन्य पूर्वाधारको पनि कमि नै छ”, उनले भने । हिलो, धुलो, भिर र साँघुरा सडकमा दैनिकरूपमा सदरमुकाम बेनी आउने दर्जनौँ सवारीसाधन जोखिमपूर्ण तवरले ओहोर-दोहोर गर्नुपर्ने बाध्यतामा छन् ।

मुनामा अहिलेसम्म बैंकको स्थापनासमेत भएको छैन । सडकको सहज अवस्था र सुरक्षाको बन्दोबस्त नहुँदा धवलागिरि गाउँपालिकाको वित्तीय कारोबार ताकममा रहेको प्रभु बैंकको शाखामार्फत हुने गरेको छ । उपभोक्ता समितिले समेत पालिकामै वित्तीय पहुँच नहुँदा सास्ती व्यहोरेका छन् । भर्खर मात्रै मुनाको घट्टेखोलामा गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण शुरु भएको छ ।

सडकको अवस्था स्तरीय नभएको र दुर्गम पालिकाका रूपमा रहेकाले कर्मचारीसमेत आउन नमान्ने र आएका पनि टिकेर नबस्ने भएकाले सदरमुकामबाट पालिकासम्म स्तरीय सडक बनाउने योजनाका लागि पहल थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । धवलागिरि गाउँपालिकाको मुनालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी-बावियाचौर-दरबाङ-ताकम-मुना सडक पश्चिम म्याग्दीकै भाग्यरेखा मानिन्छ ।

जिल्लाका तीन स्थानीय तह समेटिएको यस सडकलाई स्तरीय बनाउन बजेट विनियोजन भएर आयोजना सञ्चालन भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले योजना थलिएका छन् । बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्मको सडक कालोपत्रको काम सकिए पनि त्यहाँदेखि माथिको सडक कालोपत्र र ग्राभेलका लागि सञ्चालन भएका आयोजना थलिएका छन् ।

थलिए दुई आयोजना

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने बेनी-दरबाङ-मुना सडकखण्डअन्तर्गत सिमबाट रनवाङसम्मको चार किलोमिटर सडकलाई कालोपत्र गर्न सञ्चालन भएको सडकको काम सुस्तगतिमा अघि बढेको छ । डिबिएसटी प्रविधिको कालोपत्र गर्ने गरी २०७८ पुस १८ मा पूर्वाधार विकास कार्यालयसँग अमर-देवसयर जेभीले रु १० करोड ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक पराकिलो बनाउनेलगायतका काम शुरु गरेको यस योजनाको आगामी असारसम्म निर्माणकार्य सम्पन्न गर्ने म्याद रहेको छ ।

हिउँदयाम मध्य भइसक्दासमेत निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रनबाङबाट मालिका गाउँपालिकाको केन्द्र दरबाङसम्मको छ दशमलव आठ किलोमिटर लामो सडकलाई कालोपत्रका लागि सञ्चालन भएको योजना अधुरै छ ।

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको बिरुवा-क्याराभान जेभीले अहिलेसम्म जम्मा ५० पतिशतमात्रै भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले जानकारी दिए । गत वर्षदेखि नै काम छाडेको निर्माण कम्पनी अहिलेसम्म पनि कार्यक्षेत्रमा नफर्किएपछि लिखित र फोनमार्फत पटक-पटक ताकेता गरिएको उनले बताए ।

“मुख्य ठेकेदारले काम नगर्ने, पेटीमा काम गर्नेले मूल ठेकेदारबाट पैसा नपाएपछि बीचैमा काम छाड्ने भएकाले जिल्लाका ठूला आयोजना अधुरा र अलपत्र पर्ने अवस्थामा पुगेका हुन्, हामीले निरन्तर ताकेता गरिरहेका छौँ, बहुवर्षीय योजनामा बजेट पनि आएको छ, तर निर्माण कम्पनीले काम गर्ने तत्परता देखाएका छैनन्”, उनले भने ।

यस योजनामा निर्माण कम्पनीले रु १४ करोड ९७ लाख भुक्तानी लगिसकेको छ । यस वर्षका लागि मात्रै रु पाँच करोड बजेट आएको र निर्माण कम्पनीले काम गरे थप बजेटको समेत सुनिश्चिता गर्ने मन्त्रालयबाट प्रतिबद्धता आएको कार्यालयले जनाएको छ ।

दरबाङ-धारापानी ग्राभेल हुँदै, धारापानी-मुना सडक अनिश्चित

मालिका गाउँपालिकाबाट धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकखण्डअन्तर्गत धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजनाले तीव्रता पाएको छ । दरबाङ-दाङखोला-धारापानीसम्मको सात किलोमिटर सडकलाई ग्राभेलका लागि योजना सञ्चालन भएको छ ।

विस २०७६ चैत ४ मा रु १४ करोड ३८ लाखमा ठेक्का सम्झौता गरेको कुँबर-ब्राइट जेभीले सडक पराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने कामलाई तीव्रता दिएको छ ।

दरबाङबाट दाङखोलासम्मको कामलाई तीव्रता दिइएको र ग्राभेलका लागि सबवेससमेत सडकमा पुर्‍याइसकिएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद हुमागाईँले जानकारी दिए । उनका अनुसार बादिकाको भिरमा सडकलाई फराकिलो बनाउने, ग्याविन पर्खाल लगाउने कामसमेत शुरु भएको छ ।

दरबाङबाट धारापानीसम्मको सडकलाई छदेखि सात मिटर फराकिलो बनाउने र ग्राभेल गर्ने गरी सञ्चालन भएको योजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

अघिल्लो वर्ष बादिकाको उकालो भिरमा सडकको नयाँ ट्रयाक नै खनेर ग्रेड मिलाइएको छ । गत असारसम्म रु आठ करोड ९१ लाख खर्च भएको यस योजनामा यस वर्ष रु चार करोड बजेट आएको र निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेमा थप बजेटसमेत माग गरिने कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट धवलागिरि गाउँपालिका-७ धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजना सञ्चालन भए पनि त्यहाँदेखि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकलाई भने कुनै पनि निकायबाट बजेट विनियोजन भएको छैन ।

धारापानीबाट मुना नजिकैसम्मको करिब १० किलोमिटर सडकलाई गत वर्ष भौतिक पूर्वाधार सहरी विकास मन्त्रालयले सर्भे गरी डिपिआर तयार गरेको भए पनि अहिलेसम्म स्तरोन्नतिसहित कालोपत्रका लागि बजेट विनियोजन भएको छैन । गाउँपालिकाको केन्द्रसम्मको जीर्ण सडकलाई स्तरीय बनाउनका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए ।

“दरबाङबाट धारापानीसम्म ग्राभेल गर्ने सडकलाई पनि कालोपत्र योजना माग गरेका छौँ, धारापानीबाट मुनासम्मको सडकलाई कालोपत्रसहितकै योजना सञ्चालन गर्न फाइल बोकेर प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएका छौँ”, उपाध्यक्ष पुनले भने ।

मध्यपहाडीको वैकल्पिक सडक अधुरै 

धवलागिरिको केन्द्र खोरिया हुँदै जलजला-ढोरपाटन-रुकुम जोड्ने सडक अधुरो रहेको छ । यो सडक निर्माण भएमा बागलुङ हुँदै निर्माण गरिएको मध्यपहाडी लोकमार्गभन्दा ६० किलोमिटर छोटो हुनेछ । मध्यपहाडीको वैकल्पिक सडकका रूपमा बेनी-दरबाङ-ताकम-मुना हुँदै ढोरपाटन र रुकुम जोड्ने गरी सडक निर्माण गर्न गाउँपालिकाका जनप्रतिनिधि र जिल्लाका सांसदले समेत माग गर्दै आएका छन् ।

धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका र प्रदेश सरकारमार्फत पूर्वाधारतर्फ सडक विस्तारको योजनालाई प्राथमिकतामा राखेको छ । वडा नं २ लुलाङ पुगेको सडकलाई गुर्जासम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष रु एक करोड २० लाखको योजना सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकाबाट रु ४५ लाख र प्रदेश सरकारमार्फत रु ८० लाख बजेट विनियोजन भएको र निर्माणकार्य सुरु गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिए ।

त्यसैगरी वडा नं ४ मुदीको खिबाङमा सडक सञ्जाल पुर्‍याउन प्रदेश सरकारमार्फत रु ५० लाखको योजना आएको छ भने मल्कबाङबाट मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले रु २५ लाख विनियोजन गरेको छ । गाउँपालिकामार्फत सञ्चालित हुने योजना सर्भे र सम्झौताको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए । रासस

पछैमा निर्माण गर्न लागिएको रावण उद्यान अधुरै

म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो ।

बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘कर्मचारीले भौतिक र वित्तीय प्रगति विवरण नपठाएका कारण बजेट काटिँदा उद्यान निर्माणको काम रोकिएको हो,’ उनले भने,’बजेटलाई निरन्तरता दिन मन्त्रालयसँग समन्वय गरिएको छ । मन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीले भुक्तानी नपाएर काम गरेका छैनन् ।’

समस्या पहिचान भएपछि तत्कालै प्रतिवेदन पठाएर चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको र निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गरिएको नगर प्रमुख केसीले बताए । उद्यान बनाउन काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा रु एक करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले उद्यान निर्माणस्थल घेराउका लागि पर्खाल निर्माण र मूर्ति तयार पारेको छ ।

पर्यटन मन्त्रालयले रु दुई करोड ११ लाख र नगरपालिकाले रु एक करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरिएको थियो । विसं २०७९ पुसमा उद्यान निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि बजेट अभावका कारण सफल नभएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले बताए । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मूर्ति राख्ने, बगैँचा निर्माण, नाबी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र दुई सय मिटर कालोपत्र गर्ने योजना छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लगाएको हो ।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत् राखेर पूर्वाधार बनाइने भएको छ । धर्मग्रन्थ भागवत रामायणको पाँचैँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेकोबारे रामायणमा व्याख्या गरिएको छ । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खला, सूर्योदय, बेनीबजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बेनीबजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । रासस

बरंजामा विद्यार्थीहरुको दन्त परिक्षण शिविर सम्पन्न

म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औसधि वितरण गर्ने लगायत दाँतलाई सुरक्षित राख्ने सम्वन्धी परामर्श समेत प्रदान गरिएको छ ।

त्यस्तै नाक, कान तथा घाँटी सम्वन्धी विरामीहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । कान नसुन्ने, कम सुन्ने, घाटि दुख्ने, पिनास हुने, कान पाक्ने कानको जाली फुटेका विरामीहरु पहिचान गरि निशुल्क औसधि वितरण, स्वास्थ्य परामर्श तथा जटिल रोग देखिएकाले बेनी अस्पताल तथा पोखरा जानका लागि पनि सल्लाह दिईएको छ ।

शिविरमा बेनी अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. अर्विन श्रेष्ठको नेतृत्वमा डेन्टल हाइजेनिष्ट संगीता धमेल, डेन्टल असिस्टेन्ट सरद केसी, रेश्मा खत्री, बरंजा स्वास्थ्य चौकीका प्रमुख रोशन कुमार महतो, बावियाचौर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सुनिता सापकोटा लगायतले सेवा दिनुभएको थियो । आफ्ना नानीबाबुहरुलाई गाउँमै निशुल्क रुपमा दाँत लगायतका स्वास्थ्य परिक्षण गराउन पाउँदा अभिभावकहरु खुसि व्यक्त गरेका थिए ।

शिविरको विद्यालयका भूपू विद्यार्थी तथा हाल बेनी अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत डा. रामु सापकोटाले उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुले अध्ययन संगै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने बताउनुभयो । आफुलाई तथा आफ्नो परिवारमा आएको स्वास्थ्य समस्यालाई लुकाएर नराखी तुरुन्त अस्पतालमा चेकजाँच गर्ने बानी बसाल्न पनि आव्हान गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण थापा (विलव) लगायतले बोल्नुभएको थियो । कार्यक्रम भूपू विद्यार्थी क्लवका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षता, उपाध्यक्ष लेखनाथ रोकाको स्वागत र सचिव गणेश केसीको संचालनमा सम्पन्न भएको थियो ।
शिविरको समापन सत्रमा मंगला गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष याम रोका, वडा नम्वर ४ का अध्यक्ष लाल बहादुर रोका, विद्यालयका शिक्षकहरु, भूपू विद्यार्थीहरु तथा स्थानीय अगुवाहरुको समेत उपस्थिति रहेको थियो । विद्यार्थीहरुका लागि उपयोगि शिविर आयोजना गर्न आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै क्लवका अध्यक्ष सापकोटाले यस्तै गतिविधिहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

मानव मूत्र: पैसा कमाउने सूत्र

म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनका किसानले करिब आधा दशकदेखि खेतीपातीमा मानव मूत्र प्रयोग गरिरहेका छन्। गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानव मूत्र प्रयोग गरी खेती गर्दा उत्पादन बढेपछि यसको प्रयोग गर्ने क्रम बढ्दै गएको छ।

सुन्तलाको पकेट क्षेत्र, कागतीलगायतका फलफूल खेतीमा गरिएको प्रयोग सफल भएको स्थानीय धनबहादुर रोकाले बताए। ‘विशेषगरी सुन्तला खेतीमा प्रयोग गरिरहेका छौं’, कृषक रोकाले भने, ‘मलमूत्रले सुन्तला उत्पादन वृद्धि भएको छ’, ‘जैविक किटाणुसमेत नष्ट गर्ने गरेको छ।’

अर्मनमा करिब ६० घरधुरी कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गरेकोमा अधिकांशले मानव मूत्र प्रयोग गर्ने गरेको स्थानीय कृषक प्रेम रोका मगरले बताए। सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको बताए। गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्लामै पहिलोपटक २०७५ सालदेखि मानव मूत्र संकलन गर्न सुरुआत गरिएको थियो। अहिले यो अभियान उपलब्धिमूलक बनेको छ।

अर्मनको सिको गरी अन्य वडामा समेत प्रयोग भइरहेको अवस्थामा अब व्यवस्थित गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए। ‘विद्यालय र सार्वजनिक स्थानमा मानव मूत्र संकलनका लागि प्लास्टिकका ग्यालिन (जर्किन) राखिएको छ। शौचालयमा मूत्र बिर्सजन गर्नुको साटो स्थानीय र बटुवाले समेत जर्किन (ग्यालिन) मा गर्ने गरेका छन्’, खत्रीले भने। गाउँपालिका अध्यक्ष रोकाले पाँचवटै वडामा उक्त कार्यक्रम लागु गर्न आवश्यक तयारीमा जुट्न कृषि शाखालाई निर्देशनसमेत दिएको बताए। एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने गाउँपालिका अध्यक्ष रोकाले बताए।

’पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको छ’, रोकाले भने। अर्मनको शिशु कल्याण माविमा संकलन गरिएको मानव मूत्र प्रतिलिटर २५ रूपैयाँमा खरिद गरी सुन्तला खेतीमा प्रयोग गरेपछि यसले उत्पादन राम्रो दिएलगत्तै स्थानीयले निरन्तर प्रयोगमा जोड दिएको गाउँपालिका अध्यक्ष रोकाले बताए। सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि यहाँका कृषक थप उत्साहित बनेका छन्। समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उनले बताए। ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ’, बानियाँले भने। प्राविधिक बानियाँका अनुसार प्रत्येक घरघरमा पनि मानव मूत्र संकलन गरिँदै आइएकोमा अब तालिमसहित थप सहयोगको आवश्यकता रहेको बताए। पिसाबमा क्याल्सियम र फास्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ। एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ।

विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह

बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ ।

बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर सञ्चालनका लागि सहकारीले ३ वर्ष अगाडी शर्मालाई युवा स्वरोजगार कोष मार्फत को कर्जा लगानी गरेको थियो ।

पसल जलेर नस्ट भएपछी सोही मिति सम्म सस्थामा किस्ता बापत बाँकी रहेको रु. ६७ हजार ५०० बराबर को रकम युवा स्वरोजगार कोष र राष्ट्रिय बिमा कम्पनीको सहकार्यमा मिनाहा गरेको प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

कर्जा लगानि गरेकै समय मा पसल को बिमा गरिदिएको लोकदीप साकोसले पसल जलेर तिर्न सक्ने अवस्था नभएपछि बाँकी रहेको किस्ता मिलाउन को लागि बिमा कम्पनीमा पहल गरेको थियो । ढिलै भएपनी आफुले तिर्नुपर्ने किस्ता बापत रकम तिर्नु नपर्दा राहत मिलेको सञ्चालक शर्माले बताउनुभयो ।

साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले सहकारी संस्थाप्रतिको विश्वास र सहकार्य तथा सामुहिक भावनाको विकासमा जोड दिनुभयो । उहाँले उत्पादनशिल क्षेत्रमा लगानीका साथै सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीले भूमिका निभाउनुपर्ने अपेक्षा गर्नुभयो ।

वि.स. २०६९ मा २५ जनाबाट स्थापना भएको सहकारीमा हाल ८८९ जनाको रु. एक करोड ६३ लाख ५६ हजार ९०० शेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा रु. १३ करोड ६२ लाख ८१ ह्जार १०२ निक्षेप संकलन र रु. १४ करोड ६५ लाख ९१ हजार ५६२ कर्जा लगानी गरेको कोषाध्यक्ष देवेन्द्र पौडेलले बताउनुभयो ।

संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा (गौतम)को अध्यक्षता, सचिव ओमप्रकाश शर्माको सञ्चालन र उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा सेयर सदस्य सन्तोष रावल, लेखा संयोजक खोमराज उपाध्याय र जेष्ठ सेयर सदस्य नैनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

२०७८ को कक्षा १२ को परिक्षामा जिल्ला प्रथम हुने सेयर सदस्य कल्पना सापकोटाकी छोरी करुणा सापकोटा, उत्कृष्ट कर्मचारी कुशम खड्का थापा लगायत उत्कृष्ट सुझावकर्ता, बचत कर्ता, ऋणी लगायत आठ वटा बिधामा सम्मान गरिएको थियो । सहकारीको कार्यसञ्चालनको बारेमा प्रश्नावली तयार पारेर सेयर सदस्यहरुबाट सुझाव संकलन गरिएको थियो ।

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक 

म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका गाउँपालिकासँगको समन्वयमा भएका गतिबिधि विवरण सार्वजनिक गरिएको हो।

म्याग्दीमा सन २०१३ देखि शुरु भएको परियोजना सन २०१७ देखि गैरसरकारी संस्था मार्फत सञ्चालन भएको छ । धवलागिरीको सात वटै र मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा परियोजना लागू भएको छ । संगम मार्फत शिक्षा, जिविकोपार्जन, बालसंरक्षण, विपद् व्यवस्थापन तथा कदम मार्फत जनस्वास्थ्य र सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन हुदै आएको छ ।

संगमका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरले दक्षिण कोरीयाका प्रायोजकहरुले एक हजार ३५१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र पोशाक सहयोग गरेका बताउनुभयो । सिकाई उपलब्धी बढाउन विद्यालयहरुलाई सूचना प्रविधि सम्बन्धि सामग्री सहयोग र शिक्षकहरुलाई तालिम दिइएको बताउनुभयो । २१८ जनालाई उच्च शिक्षामा सहयोग, पाँच वटा बाल विकास कक्षा व्यवस्थापनमा सहयोग गरिएको बताउनुभयो ।

चार वटा सहकारी संस्था मार्फत गुर्जा, लुलाङ, मुना र मुदीका ७१ जनालाई सहयोग गरिएको छ । १० वटा वडाका विद्यालयमा बाल क्लव गठन गरी बाल अधिकार, बाल संरक्षण र बाल बिवाह विरुद्धको तालिम दिइएको छ । कदमका जनस्वास्थ्य निरिक्षक निरमाया मिजारले परियोजनाको साझेदारी र समन्वयमा स्वास्थ्य संस्थाको प्रसुति गृहलाई सामग्री सहयोग, एक हजार १७२ जना स्पोन्सर र दुई हजार ३७३ जना अन्य बालबालिकालाई सहयोग गरिएको बताउनुभयो ।

बालबालिकाको विद्यालयमै स्वास्थ्य परिक्षण, स्वास्थ्य संस्थाको सूचना व्यवस्थापन, महिनावारी स्वच्छता सम्बन्धी तालिम, महिला स्वास्थ्य स्वमसेविकाहरुलाई तालिम, स्वास्थ्य उपकरण, ४ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कर्नर स्थापना, ५ वटा स्वास्थ्य संस्थामा स्वच्छ खानेपानी व्यवसथापन गरिएको छ । ताकम स्वास्थ्य चौकी परिसरमा हात धुने स्थान सहितको खानेपानी धारा निर्माण भएको छ ।

गुड नेवर्स इन्टरनेशनलका म्याग्दी जिल्ला परियोजना संयोजक मनकुमार राईले साझेदार संस्थाहरु मार्फत शिक्षा, स्वास्थ्य, आयआर्जन सुधारका साथै बालअधिकारको पैरवी, सरसफाई र विपद् व्यवस्थापनका गतिबिधि सञ्चालन भएको बताउनुभयो । परियोजनामा स्थानीय तहहरुले पनि साझेदारी गरेका छन् । बैठकमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले परियोजनालाई उद्देश्य अनुरुप कार्यान्वयन र लक्ष्य प्राप्तिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

परियोजनाका उपलब्धीहरु समुदाय स्तरमा देखिनुपर्ने जिसस प्रमुख थापाको भनाई थियो । कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी पुन, धवलागिरी गाउँपालिका १ का अध्यक्ष झक छन्त्याल, ३ का अध्यक्ष देवेन्द्र रोका, कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, कदमका अध्यक्ष हरिप्रसाद पौडेल, कदमका कार्यकारी निर्देशक दिपक पौडेल लगायतको उपस्थिति थियो ।

कालिपुलको अस्थायी संरचनामा चल्यो बेनी नगरको डोजर (फोटो फिचर)

म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ। बेनी नगरपालिकाले बजारभित्र बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक-पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि नगरपालिकाले भत्काएको छ ।

नगरपालिकाका मेयर सुरत केसीको अगुवाईमा बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्क आसपासका क्षेत्रमा सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाएका यातायात कम्पनीहरु, व्यवसाय गर्दै आएका ब्यापारीसँष्को सम्झौता म्याद सकिएपछि थप नगरी ठाउँ खाली गरिएको नगरप्रमुख सुरत केसीले बताए ।

‘यो अभियान निरन्तर रहन्छ,‘अतिक्रमण हटाउने र संरक्षणको अभियानलाई सघाउन अनुरोध गरेका छौ’मेयर केसीले भने । नगरकार्यपालिकाले म्याद थप नगरेपछि सम्बन्धित पक्षलाई ब्यक्तिगत तथा सार्वजनिक सूचनाको माध्यमबाट हटाउन गरिएको अनुरोधलाई विभिन्न बाहनामा अटेर गरेपछि डोजर लिएर ठाउँ खाली गरिएको बताए । मेयर केसीले बजारभित्रका अन्य स्थानमा समेत सम्बन्धित पक्षले अटेरी गरेमा बाध्य भएर भत्काउन पर्ने बताए ।

कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुरेष्ट, सार्वजनिक शौचालय, कालिपुल यूनाइटेडको क्लव भवन, म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको घेराबार पर्खाल भत्काइएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनले सोही क्षेत्रमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि हटाइने बताए ।

सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको डिपिआर अनुसार निर्मित टर्मिनल भवन, कालिगण्डकी नदी कटानबाट जोगाउन आवश्यक पर्ने संरचनालाई सहज हुने गरी बाँकी अस्थायी संरचना एक हप्ताभित्र खालि गरिने उनले बताए ।

यता वडा नं २ र ७ मा पर्ने नगरकार्यपालिका अगाडी रहेको मोटेरेबल पुल आसपासमा निर्मित संरचना र बिरेन्द्रचोकमा रहेको टहरा, ठेलाहरु समेत हटाउन पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन्। बजारभित्र नगरपालिकालाई सस्तो भाडा दिएर चर्को भाडा असुल्ने, सार्वजनिक जग्गामा निर्मित संरचना सुटुक्क बिक्री गर्ने तथा अनुमति विनै मनपरी संरचना थप गर्ने गरिएको छ । सार्वजनिक टहरा भत्काएर पछि पार्क, पार्किङस्थल लगायत आवश्यक संरचना बनाउने नगरपालिकाले जनाएको छ ।

अफ्रिकन स्वाइन फिभर: धमाधम मर्न थाले बंगुर

गएको एक साता यता म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बंगुर मर्न थालेका छन्।सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा सङ्क्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ।

व्यावसायिक रुपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए।

पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बंगुरमा पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरकाे पुष्टि भएको थियो।

नौलीबगरमा ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखा सहितको टोलीले अनुगमन गरेको थियो। बंगुर फार्मबाट लैजाने मासु पसल सहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ।

केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए। बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन्। यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने प्रमुख आचार्यको भनाई छ।

बेनी नगरपालिका–७, मंगलाघाटमा साढे २ सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगर पशु शाखाले जनाएको छ। ‘फिभरको इन्ट्री भएको छ, ‘अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित छौ’ पशु प्राविधिक प्रदिप गौतमले भने। ‘यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुन सक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको छ’ गौतमले भने।

उनले ‘रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामे ५, टकबहादुर बुढाथोकीको ६५ वटा, टिका रोकाको २६ वटा पूर्वराज घर्तीको ७ वटा’ बंगुर मरेको विवरण संकलन गरिएको बताए।

‘केही फार्म रित्तिन थालेको छ,‘बाहिरी जिल्लाबाट ल्याएकोमा सङ्क्रमण फैलिएको भेटियो’ शाखा प्रमुख गौतमले भने। उनका अनुसार सबैतिर नफैलिएकाले सङ्क्रमण देखिएको स्थानमै केन्द्रित भएर रोकथाम र सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाई छ। जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकको भनाई छ।

घरपालुवा सुँगुर–बंगुर तथा जंगली प्रजातिमा विषाणुका कारण सर्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो। अफ्रिकन स्वाइन फिभर फैलिन नदिन सुँगुर पालिएको खोर र फार्म परिसर सफा राख्ने र समय–समयमा निः सङ्क्रमण गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ।