Friday, June 27, 2025
22.3 C
Beni
22.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 8

११ महिनामा चालु खर्च ४१ प्रतिशत मात्रै

 म्याग्दीमा चालु आर्थिक वर्षको ११ महिनामा पुजीगत (विकास) खर्च ४१ प्रतिशत हाराहारी भएको छ ।

प्रदेश तथा संघ तर्फको कुल विकास खर्च एक अर्ब नौ करोड ३५ लाख ११ हजारमध्ये ४५ करोड ७८ लाख ६१ हजार पाँच सय ९४ रुपियाँ अर्थात् ४१ दशमलव ८७ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा संघ सरकार तर्फको विकास बजेट खर्च ४२ दशमलव ५८ प्रतिशत भएको छ । असारको २५ गते भन्दा पछाडी कुनै पनि सरकरी भुक्तानी हुँदैनन् त्यसैले त्यस दिन भित्र भुक्तानी गर्न मिल्ने गरी करिब २० दिन काम गरेर ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था देखिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षमा म्याग्दी जिल्लाको विकास बजेट २८ करोड ४८ लाख ९६ हजार रहेको छ । उक्त रकममध्ये हालसम्म १२ करोड १३ लाख १८ हजार नौ सय २३ रुपियाँ अर्थात् ४२ दशमलव ५८ प्रतिशत रकम खर्च भएको छ ।

चालु खर्च भने हालसम्मको अवस्था हेर्दा सन्तोषजनक मान्न सकिने उहाँको भनाइ छ । चालु तर्फ भने तीन अर्ब ३८ करोड ३ लाख ६० हजार छ सय पाँच रुपियाँमध्ये दुई अर्ब ७८ करोड ८९ लाख ७६ हजार आठ सय ३१ रुपियाँ अर्थात् ८२ दशमलव ५१ प्रतिशत खर्च भएको छ ।

संघ सरकारको मात्रै नभएर प्रदेश सरकार तर्फको बजेटको अवस्था पनि उस्तै देखिएको कोलेनिकाले उपलब्ध गराएको रेकर्डले देखाउछ । चालु तर्फ प्रदेशको बजेट ४८ करोड ९९ लाख २२ हजार रहेकोमा २९ करोड ५८ लाख ६१ हजार तीन सय ३८ रुपियाँ अर्थात् ६० दशमलव ३९ प्रतिशत खर्च भएको छ ।

जिल्लामा प्रदेशबाट आएको विकास बजेटको खर्च भने अहिलेसम्म सन्तोषजनक हुन सकेको छैन । प्रदेशबाट जिल्लाको विकास बजेट ८० करोड ८६ लाख १५ हजार रुपियाँ रहेकोमा हाल सम्म ४१ दशमलव ६२ प्रतिशत रकम खर्च भएको छ । कोलेनिकाले दिएको तथ्य अनुसार म्याग्दीमा विकास बजेट ३३ करोड ६५ लाख ४२ हजार ६ सय ७१ रुपियाँ खर्च भएको छ ।

म्याग्दी जिल्लाको समग्र प्रदेश तथा सङ्घीय सरकारको बजेट चार अर्ब ९६ करोड ३७ लाख ९३ हजार छ सय पाँचमध्ये ७१ प्रतिशत अर्थात् तीन अर्ब ५४ करोड २६ लाख ९९ हजार सात सय ६३ रुपियाँ खर्च भएको छ । विकास खर्च तर्फ भने जिल्ला भरको प्रदेश तथा संघ तर्फको गर्दा पनि ४१ प्रतिशत हाराहारी मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक सुवेदीको भनाइ छ । 

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर-भकुण्डे सडक कालोपत्र थालियो

सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए। विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ । 

यो सडक तत्कालिन समयमा जिबिस उपसभापति भुपेन्द्र थापाले सुरु गर्नुभएको थियो भने पछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कालोपत्रे सहितको सडकका लागि बजेट विनियोजन गर्नुभयो । आगामी आवका लागि समेत सडकमा ३ करोड बजेट परेको छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७/७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो । 

म्याग्दी क्याम्पसका दुई विद्यार्थीले पाए टिम्बुर खेतीका लागि ७ लाख २० हजार अनुदान

विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता विकास कार्यक्रमबाट म्याग्दी बहुमुखी क्याम्पसका दुई विद्यार्थीले टिम्बुर खेतीका लागि ७ लाख २० हजार अनुदान पाएका छन्। नमुना लेवल अनुसारको व्यवसाय गर्न क्याम्पसका विएडमा अध्ययनरत छात्रा श्रीया श्रेष्ठ र एमविएसमा अध्ययनरत छात्र श्रीकृष्ण अधिकारीको हिमालयन ट्वाक्क टिम्मुर नामको व्यवसायिक योजना देशभरबाट ४६ वटा व्यवसायिक योजनाहरूमध्येमा उत्कृष्ट भएसँगै निःशुल्क बिउँपूजि पाएको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो

‘यो हाम्रो लागि ठुलो उपलब्धी हो, अब विद्यार्थीलाई उद्यमी बनाउने अभियानमा थप बल पुगेको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै उद्यमशिलता तालिमका लागि गरिएको मेहनत सफल भएको भन्दै आगामी दिनमा छनौट भएका विद्यार्थीको ब्यवसायिक सफलतामा समेत आवश्यक रचनात्मक सहयोग गर्ने क्याम्प प्रमुख सुबेदीको भनाई छ ।

क्याम्पसले तीन महिनासम्म उद्यमशीलता तालिममा उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको थियो । २४ वाट क्याम्पसवाट आयोगमा पेश गरिएका १ सय २२ वटा व्यावसायीक योजनाहरु मध्ये म्याग्दी क्याम्पसका श्रेष्ठ र अधिकारीले कुल १० लाख भन्दा बढी लगानी सहितको प्रस्ताव गरेका थिए ।क्याम्पसमा ४० दिने उद्यमशीलता सहायता कार्यक्रममा सहभागी भएर उत्कृष्ट ब्यवसायीक योजना तयार गरी विद्यार्थीको ब्यवसायीक परियोजनामा न्यूनतम साढे ८ लाखदेखि साढे ४० लाखसम्मको लागत पेश गरिएकोमा एउटा प्रस्ताव राष्ट्रि«यस्तरमा छनौटले आगामी दिनमा विद्यार्थीमा आर्कषण हुने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

विद्यार्थीले उद्यमशिलताका लागि प्रस्तुतसँगै म्याग्दी महोत्सवमा समेत स्टलमा ब्यवसाय गरेका थिए । क्याम्पसमा तालिममा विद्यार्थीले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकबाट व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको परियोजना संयोजक रामजीप्रसाद सुबेदीले बताउनुभयो । उक्त विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवका लागि जिल्ला बाहिर समेत लगिएको थियो

अन्नपूर्णमा सार्वजनिक सुनुवाइ : ११ महिनामा पुँजीगत खर्च २० प्रतिशत

 ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दीगो, कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आइतबार पोखरेबगरमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

चालु आवमा कुल ५४ करोड ८४ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा जेठ महिनासम्म २६ करोड २४ लाख ६४ हजार तीनसय ४७ रुपैयाँ ६७ पैसा अर्थात् ४७ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको अन्नपूर्ण गाउँपालिकाकाले जनाएको छ । चालु आवमा विनियोजितमध्ये २८ करोड ५९ लाख ७८ हजार छ सय ५२ रुपैयाँ ३३ पैसा मौज्दात रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले चालु आवमा गाउँपालिकामार्फत सम्पादित योजना, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै वार्षिक बजेटको चालुतर्फ ३४ करोड ९२ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २२ करोड २२ लाख ८९ हजार दुईसय ५० रुपैयाँ २२ पैसा अर्थात् ६३ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ अब १२ करोड ७० लाख सातसय ४९ रुपैयाँ ७८ पैसा खर्च हुन बाँकी रहेको छ ।

यसैगरी पुँजीगततर्फ कुल १९ करोड ९१ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म चार करोड एकलाख ७५ हजार ९७ रुपैयाँ ४५ पैसा अर्थात् २० दशमलव १७ प्रतिशत मात्रै बजेट खर्च भई १५ करोड ८९ लाख ७७ हजार नौसय दुई रुपैयाँ ५५ पैसा खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताउनुभयो । उहाँले आन्तरिक स्रोत अनुमानभन्दा बढी सङ्कलन गरिसकिएको छ भने केही योजनाहरुमा काम गर्न बाँकी रहेको र ठूला योजनाहरुको भुक्तानी बाँकी रहेकाले पूँजीगत खर्च कम देखिएको बताउनुभयो । चालु आवमा अन्नपूर्णमा जम्मा १ सय ४० वटा योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट १ सय १० वटा र ठेक्कामार्फत १९ वटा योजनाहरुको काम भएकोमा ११ वटा योजनाको सम्झौता भएको छैन ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा हुकुम पुन, अनिश गर्बुजा, गोपाल बरुवाल, कृष्णप्रसाद बरुवाल, पूर्णबहादुर गर्बुजा, नरिमाया पूर्जा पुन, शिवबहादुर खड्काले जिज्ञासा र प्रश्नहरु सोध्नुभएको थियो । सहभागीहरुले विद्यालयमा कार्यरत लेखा सहायक शिक्षकहरुको सेवासुविधा बढाउनुपर्ने, बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने, नारच्याङमा हेलिकप्टर उडानको अनुमति दिनुपर्ने, गाउँपालिकामा जग्गाको बारेमा निवेदन दिँदा पनि सुनुवाइ नभएको, अन्नपूर्ण हीरक महोत्सवको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, जलविद्युत आयोजनामा स्थानीयले शेयर हाल्न पाउनुपर्ने, विरेठाँटी–मुक्तिनाथ केबुलकारको स्टेशन नारच्याङ र घोरेपानीमा बनाउनुपर्ने, कर घटाउनुपर्ने, किसानलाई गोरु पाल्न प्रोत्साहन गर्नुपर्ने, बिजुली नियमित गराउनुपर्ने, स्थानीय बजार अनुगमनमा जोड दिनुपर्ने जस्ता मागहरु गरेका थिए ।

सहभागीहरुले राखेको जिज्ञासा तथा प्रश्नको उत्तर दिँदै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले खेतीयोग्य तर बाँझो जमिनमा कृषि, फलफुल, जडिबुटी र तरकारी खेतीका लागि कृषक समूहलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले जलविद्युत आयोजना निर्माणको क्रममा पानी सुकाउन नपाइने र स्थानीयलाई आयोजनामा शेयर हाल्ने वातावरण निर्माणका लागि गाउँपालिकामार्फत पहल गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कँडेलले एक करोडसम्मका योजनाहरु उपभोक्ता समिति र त्यसभन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियामा जाने सार्वजनिक खरिद सम्बन्धी नियम रहेकाले उपभोक्ता समितिले निर्माण गर्ने योजनाहरुमा स्थानीयले अपनत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु रमेश पूर्जा, लोकबहादुर फगामी, रामबहादुर खड्का, मईलन पूर्जा पुन र पर्यटन अभियन्ता चित्र तिलिजाले जवाफ दिनुभएको थियो । गाउँपालिकाको प्रशासकीय अधिकृत भगवती खड्का कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रमको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र म्याग्दी शाखाका सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

गण्डकी प्रदेशस्तरीय “म्याग्दी भलिबल कपको तयारी अन्तिम चरणमा

गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ ।

सो प्रतियोगिताको तयारी अन्तिम चरणमा  पुगेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।  प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बाँनियाले बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च समेत आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल संघका महासचिब कुमार किशानले जानकारी दिए । 

यो प्रतियोगिता गण्डकी प्रदेशको भलिबल विकासमा एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको अध्यक्ष बाँनियाले जनाएका छन् । उनले भने–हामी निश्चित उद्धेश्यका साथ यो प्रतियोगिताको आयोजना गर्दैछौं । सबैको सहकार्यका लागि म आह्वान गर्न चाहन्छु ।” उनले म्याग्दी जिल्ला गण्डकी प्रदेशमा भलिबल खेलको उद्गम थलो भएका कारणले पनि यो प्रतियोगिताको अझै महत्व रहेको उल्लेख गरे ।

प्रतियोगिताको उद्घाटन असार ७ गते संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री खम बहादुर गर्वुजाले गर्ने तय भएको महासचिव किशानले जानकारी दिएका छन् । 

लोकतान्त्रिक निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की

नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ लोकतान्त्रिक निर्माण ब्यबसायी संघ म्याग्दीको प्रथम जिल्ला भेला तथा अधिवेशनले मनोज कुमार कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रबिन सापकोटा, महासचिव रामचन्द्र कार्की, कोषाध्यक्ष विजय भट्टचन रहनुभएको छ

समितिको सदस्यहरुमा सुजन बरुवाल, समीर पौडेल,जग भण्डारी, तारा रोका, नरेश पुन, नवराज बरुवाल र सन्जय कुवँर रहनुभएको कोषाध्यक्ष विजय भट्टचनले जानकारी दिनुभयो। अधिवेशनको नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । त्यस्तै लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रि सहसंयोजक राजेन्द्र पहाडी, गण्डकी प्रदेशका संयोजक सुरेश श्रेष्ठ, निर्मांण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचन लगायतको उपस्थिती रहेको थियो।

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्र्याक (मार्ग) जोडिएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफ लाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दूरीको सडक पनि हो।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि-२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्र्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

‘मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ। ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघि नै जोडिएको थियो,’ उनले भने, ‘डोजर जलजला पुगे पनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ।’

बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो। बेनीदेखि मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए।

उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ। जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ। धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो।

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ। प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ। रासस

म्याग्दीमा दुई सय व्यवसायी पेशा छाडेर पलायन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

म्याग्दीमा पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो पेशा व्यवसाय छाडेर झण्डै दुई सय व्यवसायी पलायन भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा एक सय ९६ व्यवसायीले आफ्नो पेशा व्यवसायलाई औपचारीक रुपमा बन्द गरेरै पलायन भएका हुन् ।

कार्यालय प्रमुख अमृत प्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योग तर्फका १४ र वाणिज्य तर्फका २९ गरी ४३, आर्थिक वर्ष २०८०/०८१ मा उद्योग तर्फका ३१ र वाणिज्य तर्फका ५३ व्यवसाय गरी ८४ तथा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उद्योग तर्फ २२ र वाणिज्य तर्फ ३६ गरी ६९ व्यवसायहरु बन्द भएका हुन् ।

आफ्नो व्यवसाय बन्द भएपछि आवश्यक कागजातसहित सम्बन्धित व्यक्ति नै कार्यालयमा आएर व्यवसायीक फर्म खारेज गरेको कार्यालय प्रमुख कँडेलको भनाइ छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा एक हजार ३२ नयाँ व्यवसाय दर्ता भएका छन् । उद्योगतर्फ तीन सय ३४ र वाणिज्य तर्फ छ सय ९८ व्यवसाय दर्ता भएका हुन् । तीन वर्षको अवधिमा एक हजार नौ सय ६८ व्यवसायीले आफ्नो फर्म नवीकरण गरेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयबाट पर्यटनसम्बन्धी ४९ योजनाहरु कार्यान्वयनमा गएका छन् । आर्थिक वर्ष २०७९/८० मा २१, गत आर्थिक वर्षमा १८ र चालु आर्थिक वर्षमा १० गरी उक्त परिणाममा योजनाहरु कार्यान्वयनमा गएका हुन् ।

लुलाङमा नेपाल टेलिकमको मोबाइल फोन सेवा विस्तार

दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।

धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिनुभयो ।

फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भएको थियो । नेपाल विद्युत् प्राधिकरणले गएको हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो । 

धान रोपाईको चटारो…

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीका धान रोपाईका लागि जोग्दै गरेका किसान । असार महिनाको सुरुवातसँगै सिचाईको सुविधा भएका क्षेत्रमा रोपाईको तयारी सुरु भएको छ । खोलानदी, खोल्साहरु बाहेक जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाइँको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म सबैतिर रोपाई सुरु हुदैन । म्याग्दीमा धान उत्पादन हुने ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफल रहेको छ । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ ।