Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 11

‘धौलागिरी आइसफल ट्रेक’ पदमार्गको अध्ययन सुरु

जैविक विविधता, गाउँले जीवनशैली र संस्कृतिसँगै धौलागिरी–अन्नपुर्ण हिमशृङ्खलाको अनुपम दृश्य अवलोकन गर्न सकिने नयाँ पदमार्ग ‘धौलागिरी आइसफल ट्रेक’को अध्ययन सुरु गरिएको छ। धौलागिरी हिमालको आइसफलसम्म पुग्ने यो ट्रेकिङ मार्गको सम्भाव्यता अध्ययन गर्न पर्यटनविज्ञ, स्थानीय अगुवा र पत्रकारहरूको टोलीले बेनी, रूइसेडाँडा, खोलाखर्क, सबाङ धुरी, कालिभरा, आइसफल, सुङ्गथला हुँदै पुनः बेनीसम्मको क्षेत्रमा अध्ययन गरिरहेको छ।

Dhaulagiri-Icefall-Trek-Exploration-2-1749644763.jpegटोलीमा पर्यटनविज्ञ ज्ञानेन्द्र घले, ध्रुबकुमार पाइजा, रिम पाइजा, स्थानीय पत्रकार तथा सहयोगीहरूको सहभागिता रहेको छ। यो अध्ययन नेपाल पर्यटन बोर्ड, रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोग तथा म्याप हाउसको प्राविधिक समन्वयमा संचालन गरिएको हो।

‘धौलागिरी आइसफल ट्रेक’ पूर्वमन्त्री थममाया थापा र रघुगङ्गा गाँपालिका अध्यक्ष भवबहादुर भण्डारीको सक्रियतामा अध्ययन सुरु गरिएको हो।‘धौलागिरी आइसफल ट्रेक’बाट म्याग्दीको पर्यटनमा नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ।

चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास “तुलु राजा” प्रकाशित

मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्र प्रकाश बानियाँको अर्को ऐतिहासिक उपन्यास “तुलु राजा” प्रकाशित भएको छ ।

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ। दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ । विसं १८९७ शहादत प्राप्त गरेका थिए ।

गोर्खा राज्य विरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ?
त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा ।  शिखा बुक्सले प्रकाशित गरेको उपन्यासको ४४० पेज र मूल्य ७९५ रहेको छ। कार्यालय तथा घरसम्म सहज डेलिभरीको व्यवस्थापन पनि रहेको छ।

यो पनि पढ्नुहोस् :- लखन थापाभन्दा ३६ वर्षअघि मारिएका थिए पाखापानीका तुले रोहानी

 

एयर इन्डियाको दुर्घटनाग्रस्त बिमानका २४२ यात्रु मध्ये १ जना मात्र बाँच्न सफल

एजेन्सी ।

आज दिउँसो भारतको अहमदाबादमा भएको भयानक विमान दुर्घटना, जसमा कोही पनि जीवित नभएको बताइरहँदा एक चमत्कारपूर्ण खबर आएको छ। स्थानिय प्रहरिले नै “कोही पनि जीवित छैन” भनि जारी वक्तव्यको केही घण्टा भित्र, अहमदाबाद प्रहरीले एक व्यक्ति दुर्घटनाबाट बाँच्न सफल भएको पुष्टि गरेको छ ।

सिट ११ A मा रहेका यात्रु हिँडिरहेको देखिएको थियो । उनको सेतो टी शर्ट र गाढा पाइन्टमा केही दाग ​​थिएन। व्यापक रूपमा प्रसारित भिडियोमा, मानिस लङ्गडो जस्तो खुट्टा घाइते भएर हिँडिरहेको देखिन्छ, जसले खुट्टामा चोट लागेको संकेत गर्दछ। उनको लुगामा रगतको दाग र कालो धुवाँको दाग छ।

लन्डन जाने एयर इन्डिया एआई-१७१ उडान, जसमा चालक दलका सदस्यहरू सहित २४२ जना थिए, अहमदाबादमा उडान भरेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो।विमान लगभग ८२५ फिटको उचाइमा पुगेपछि अचानक खस्न थालेको थियो ।

अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनरमा मारिएका यात्रुहरूमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी पनि थिए।विमान बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थल नजिकैको नागरिक क्षेत्रमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाले जनाएको छ।

“अहमदाबादबाट दिउँसो १ बजे उडान भरेको बोइङ ७८७-८ विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए। यीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानेडियन नागरिक र ७ जना पोर्चुगिज नागरिक छन्,” एयर इन्डियाले X मा पोस्ट गरेको छ।

सिट चार्ट अनुसार, ६८ वर्षीय विजय रुपानी एयर इन्डियाको उडानको सिट २D मा थिए। उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।

आरोहणको दुई मिनेटमै, दिउँसो १.४० बजेतिर, विमानले उचाइ गुमायो र मेघानी नगर क्षेत्रमा रहेको मेडिकल कलेज होस्टेल भवनमा ठोक्कियो, जसले गर्दा इलाकामा ठूलो आगो लाग्यो र व्यापक आतंक फैलियो।उद्धारकर्मीहरूले विमानको ब्ल्याक बक्स फेला परेको र दुर्घटनाको सही कारण पत्ता लगाउन महत्त्वपूर्ण हुने बताएका छन्।

भारतमा यसअघि अगस्ट २०२० मा, भारी वर्षाको समयमा कोझिकोडमा एयर इन्डिया एक्सप्रेस बोइङ ७३७ विमान धावनमार्गबाट ​​चिप्लिएर जमिनमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका थिए ।मे २०१० मा, दुबईबाट आएको एयर इन्डिया बोइङ ७३७ उडान मङ्गलुरुको विमानस्थलमा धावनमार्गबाट ​​बाहिर निस्कियो र खोल्सामा ठोक्कियो, जसमा १५८ जनाको मृत्यु भयो। Source:- japansamachar.com

सवारी चालक र सह-चालकमा उच्च रक्तचाप र मधुमेहको समस्या धेरै

दिपा बुढाथोकी
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सवारी चालक तथा सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरीएको छ । ट्राफिक सप्ताहको अवसरमा बेनी कालीपुल बसपार्क क्षेत्रमा आयोजना गरीएको स्वास्थ्य परीक्षणमा डेढ सय सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणमा औषधि सेवन गर्नुपर्ने ५ जना, र जोखिममा रहेका २० जना मधुमेहका र ५० चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्र«ाफिक कार्यालयका प्रमुख राजकुमार केसीले बताउनुभयो । ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयोजित सप्ताहको अवसरमा चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको प्रमुख केसीको भनाई छ ।

स्वास्थ्य शिविरको उद्घाटन गदैं कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले अधिकांश दुर्घटना सवारीसाधन र चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य अवस्थालाई अन्य समयमा समेत सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।

‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, यो अभियान सप्ताहमा मात्रै सिमित गर्नुहुदैन’ वडा अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने अभियान राम्रो भएको सवारी चालकको भनाई छ । स्वास्थ्य शिविरमा समस्या भएका चालक, सहचालकलाई थप परार्मशका लागि बेनी अस्पतालमा रिफर गरिएको छ । सुगर परीक्षणका लागि विश्वस मेडिकल हल र नेशनल ड्रग सेन्टरले सुगर किट उपलब्ध गराएको थियो ।

 

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी सचेतना

म्याग्दी बहुमुखी क्याम्पसको आइटी क्लवको आयोजनामा साइबर सुरक्षा, एआई टुल्स र बग बाउण्टीसम्बन्धी एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रमगरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि क्लवले आयोजना गरेको कार्यक्रमको क्याम्पस प्रमुख श्रीधर सुबेदीले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि क्याम्पस प्रमुख सुबेदीले आधुनिक प्रविधिको प्रयोगसँगै सचेतनामुलक कार्यक्रमले विद्यार्थीहरुमा ज्ञान, सिप र क्षमताको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।

उहाँले कृत्रिम बौद्धिकता अर्थात एआईको तीव्र विकासले चुनौती थपिएको अवस्थामा झनै जनशक्ति विकास, अध्ययन, अनुसन्धान, नवप्रवर्तन आवश्यकता रहेको बताउनुभयो । क्लवका अध्यक्ष सुनारले एआई टुल्सको प्रयोग, महत्व र सम्भावनाबारे प्रस्तुती गर्नुभएको थियो । 

त्यस्तै सूचना प्रविधिका विद्यार्थी बिबेक सापकोटाले साइबर सेक्युरिटी र बग बाउण्टीबारे जानकारी दिँदै अनलाइन सुरक्षाका चुनौती, ह्याकिङका प्रकार, तथा कसरी सामान्य प्रयोगकर्ताले पनि सुरक्षित इन्टरनेट प्रयोग गर्न सक्ने भन्नेबारे तथ्यपरक सहजीकरण गर्नुभएको क्लव सचिव सन्ध्या पौडेलले जानाकारी दिनुभयो ।

क्लवले ’कृत्रिम बौद्धिकता’ अर्थात् आर्टिफियिस इन्टिेलिजेन्स ( एआई )का बारेमा थप विभिन्न कार्यक्रम गर्ने जनाएको छ । क्लवका अध्यक्ष शेर बहादुर सुनारको अध्यक्षता तथा परिप्सा जिसीले स्वागत र सञ्चालन अविजित शाहीले सञ्चालन गर्नुभएको थियो ।

म्याग्दीका साहित्यकार सम्मान तथा कृति विमोचन

मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्र बेनी नगरपालिका-५ मुलघरे पौडेल परिवारद्धारा कृति विमोचन एवं स्रष्टालाई सम्मान गरेको गरेको छ । बेनपा-४ सिंगामा आयोजित अक्षय कोष स्थापना,कृति विमोचन, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँ, प्रा.डा. हेमराज सुबेदी, गायक तथा साहित्यकार संरक्षक यादबप्रसाद शर्मा पौडेल, विश्व हिन्दु महासंघ म्याग्दीका निर्वतमन अध्यक्ष कृष्णप्रसाद शर्माले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यकार एवम् लेखक चन्द्रप्रकाश बानियाँलाई ३१ हजार १११ रुपैयाँ, साहित्यकार नरबहादुर बिसी, डा.हेमराज सुबेदीलाई जनही २५ हजार १२५ रुपैयाँ, सम्मानपत्रले स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेल,अध्यक्ष रामप्रसाद पौडेलले सम्मान गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले कृतिको चर्चापरिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, मोहनबहादुर स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेल, साहित्यकार धु्रबलाल शर्मा, रेखाकौशल रेग्मी, धौलागिरी माविका शिक्षक डण्डपानी सापकोटा,गणनाथ पौडेल, दिननाथ पौडेल, नारायणप्रसाद भट्टराई, म्याग्दी पुलाचौर समाज काठमाण्डौका अध्यक्ष डम्मरबहादुर केसीलगायतले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा स्मृति सेवा केन्द्रले ११ लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरेको छ ।

धौलागिरी मावि सिंगा,जनकल्याण मावि पुलाचौरलाई शैक्षिक तथा खेलकुद साम्रागी वितरण, जेष्ठ नागरिक दधिलाल पौडेल र कमलकुमारी भट्टचनलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेलको अध्यक्षता,सचिव देवीप्रसाद पौडेल स्वागत, अध्यक्ष रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २ सय जनाको सहभागिता रहेको थियो ।

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध ‘जेन जी पुस्ता’ को विद्रोह

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ।

तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।

पार्टी नेतृत्वको निर्देशनमा आधारित उक्त लिस्टविरुद्ध अनेरास्ववियुका प्रतिनिधि र जेन जी पुस्ताले खुला विद्रोह शुरू गरेका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टी नेतृत्वको दबाब र निर्देशनले विद्यार्थी संगठनको स्वायत्तता र आन्दोलनको मर्ममाथि आघात पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विशेषगरी, अनेरास्ववियुमा भएका पदाधिकारीहरूले प्रकाश पौडेलले उमेरहदको मुद्दा उठाएकैकारण आफुहरू अनेरास्ववियुबाट विदाहुनुपरेको भन्दै प्रकाश पौडेल बिरूद्द घेराबन्दी गरेका छन् ।

जेन जी पुस्ताका विद्यार्थी कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले आन्दोलनबाट नेतृत्व निर्माण हुनुपर्नेमा पार्टीको हस्तक्षेपले अनेरास्ववियुको साखमाथि नै प्रश्न उठेको बताएका छन्।

“हामीलाई नेतृत्व आन्दोलन र सङ्घर्षबाट चुन्ने अधिकार छ, पार्टीको निर्देशनबाट होइन,” एक प्रतिनिधिले भने।

उनीहरूले सरकारी लिस्टको बहिष्कार गर्दै स्वतन्त्र र सक्षम नेतृत्व चयनको माग राखेका छन्। पार्टी नेतृत्वले डा. कडरियाको टिमलाई आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारे पनि प्रतिनिधिहरूले यो कदमले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने र दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन्।
“हामीले सङ्घर्षबाट बनाएको संगठनलाई पार्टीको स्वार्थको साधन बनाउन दिँदैनौं,” जेन जी पुस्ताका एक कार्यकर्ताले भने।

यो विद्रोहले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र र स्वायत्तताको मुद्दालाई थप पेचिलो बनाएको छ। मतदान प्रक्रिया अगाडि बढ्दै गर्दा सरकारी लिस्टविरुद्धको यो अभियानले महाधिवेशनको परिणामलाई कसरी प्रभावित गर्छ, त्यो चासोको विषय बनेको छ। news24nepal.tv

मालिकाधुरी: यात्रा छोटियो, सास्ती घट्यो

आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात विताएर विहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र पैदलयात्रा गरी मालिकाधुरी पुगेर फर्किन दुई दिन लाग्थ्यो । भौगोलिक रूपमा विकट र दुर्गम मालिकाधुरीमा निर्मित सत्तल र ओडारमा बस्ने ठाउँ पाउनै मुस्किल हुन्थ्यो ।

म्याग्दीको मालीका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न पदैलमार्गबाट मन्दिरमा जाने भक्तजनको ताँती देखिन्थ्यो । सडक सञ्जालबाट छोडेर साँधुरो बाटोमा घाँसको सहायतामा मन्दिरसम्म उक्लिने भक्तजनहरूलाई अहिले सडक सञ्जाल र पदमार्गको विस्तारसँगै निकै सहज भएको छ ।

आधा दशक अगाडीसम्म जोखिम मोलेर यात्रा गर्ने भक्तजनलाई अहिले निकै सहज भएको छ ।रातभरी खुल्ला आकाशमा विताएर पूजाआजा गर्नेहरु अहिले सडक सञ्जाल, पदमार्गका कारण उत्साहित छन् ।

विहानै सदरमुकाम बेनीबजार, जिल्लामा अन्य ग्रामिण क्षेत्रबाट मालिकाधुरी नजिकै पुगेको सडकसम्म सवारीसाधन राखेर करिब एक घण्टाको पैदलयात्रामा मन्दिरमा पुगेर पूजाआजा गरेसँगै फर्किन सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा मालिका गाउँपालिका–७,बिम र वडा नं ६ दरबाङको दुखु, रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीबाट मालिकाधुरी नजिकै सडक पुगेको छ ।

‘सडक सञ्जाल छोडेर करिब एक घण्टाको पैदलयात्रा पछि मन्दिरमा पुग्न सकिन्छ । सडक बनेपछि रातमा आउने भन्दा धेरै पूजाकै दिन आउने गरेका छन्’मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

अध्यक्ष पाईजाका अनुसार ज्येष्ठी पूर्णिमामा पूजाका लागि भक्तजनहरु बाहिरी जिल्लाबाट समेत उही दिन आएर फर्किएका थिए । मंगला गाउँपालिकाको कुहुँ, पुर्णगाउँ र थाईवाङ र हिँदीबाट पैदलमार्गको प्रयोग गरी आउने बाहेक अन्य रुटबाट आउने भक्तजनलाई सडक सञ्जालले मालिकाधुरीमा रात विताउनुपर्ने बाध्यता हटेको अध्यक्ष पाईजाको भनाई छ।

मालिकाधुरीमा पूजाआजाका लागि पुगेका बेनीका किरन कार्कीले अघिल्लो रात बास बस्नेभन्दा धेरै पूजाकै दिनमा पुग्नेको भिड रहेको बताउनुभयो । पहिले सडक छोडेर ३ घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो, यसपटक एक घण्टामै मन्दिरमा पुगियो’ यूवा कार्कीले भन्नुभयो ।

मालिकाधुरीलाई मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले प्राथमिकतामा राखेर सडक, खानेपानी सहित अन्य पूर्वाधार विस्तार गरेका छन् । अहिले मन्दिरमा मालिका र रघुगंगाले खानेपानी तथा अन्य पूर्वाधार समेत विस्तार गरिरहेको छ । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मालिकाधुरीका लागि हरेक बर्ष गाउँपालिकाले बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।

मालिकाधुरी जाने पर्यटकलाई सडकसँगै बिममा रहेको प्रभुचेला धुरी सहित अन्य धार्मिकस्थलको अवलोकनका लागि समेत गाउँपालिकाले प्राथमिकता दिएको छ ।त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले समुदायको समेत लगानीमा सडक सञ्जालको विस्तार तथा बजेटमार्फत मालिकामा जान सहज बनाइएको बताउनुभयो ।

मन्दिरमा सरकारी बजेट बाहेक ब्यक्तिगत रुपमा समेत लाखौं खर्चिएर मन्दिर तथा अन्य पुर्वाधार विस्तार भइरहेको छ । हाल पाखापानीकी थममायाँ पाईजाको परिवारबाट करिब २२ लाखभन्दा बढीको लगानीमा मन्दिर बनाउने काम भइरहेको छ । पुजाआजा बाहेक पर्यटक समेत घुम्न मालिकाधुरी पुग्ने गरेका छन् । एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ। त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।

कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ। मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा,चुरेन,पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् । विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको छ।

 

विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरूको रुची अनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

“विद्यार्थीको माग र रुची अनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो,” उहाँले भन्नुभयो, “यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ ।” विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहनु भएको छ ।

दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुभयो ।

प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टाैँसम्म कुरेर पालो पर्खनुपर्छ । विद्यार्थीले सिकेको सिपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले बताउनुभयो ।

“गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो,” उहाँले भन्नुभयो “विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङसम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ ।”

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक/एक लाखका दरले १६ लाख बजेट विनियोजन गरेको छ ।

बिहान बेलुकी विद्यार्थीको अनुकुल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । रासस