Friday, June 27, 2025
25.6 C
Beni
25.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 10

विद्योदयमा ‘बुक फ्रि फ्राइडे’ : सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । विद्यालयले ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको सृजनशीलता, आत्मविश्वास र जीवन कौशललाई उजागर गर्ने प्रेरणादायी यात्रा सुरु गरेको हो । यो पहलले हरेक बालबालिकाको मनमा सपनाको बीउ रोप्दै उनीहरूलाई जीवनको अर्थ बुझाउने सुनौलो अवसर प्रदान गर्ने जर्मको गरेको छ ।

शुुक्रबार विद्यालयको कौसीमा हाउस अनुसार ब्लक विभाजन गरी विद्यार्थीहरूले माटो, कम्पोस्ट मल र बालुुवाको मिश्रण तयार गरेर पुुरना बोरा र काठका फ्रेम बनाएर बिरुवा रोपेका छन् । कौसीमा विद्यार्थीहरू आफ्ना हातले फर्सी, भिन्डी, खुर्सानी, मुला, रायो, सिमीलगायत मौसमी तरकारीहरू रोपेर कृषिजन्य ज्ञानसँगै श्रम संस्कार सिक्दैछन् । यसले विद्यार्थीहरूलाई प्रकृतिसँगको सम्बन्ध र जिम्मेवारीबोध विकास गराउन मद्दत र्पुयाउने विद्यालयको अपेक्षा छ ।

विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले यो अभियानलाई थप सशक्त बनाउन अथक नेतृत्व प्रदान गरिरहेका गरिरहनुु भएको छ । उहाँ भन्नुहुन्छ–“हाम्रो विद्यालयले सधैं विद्यार्थीको सर्वाङगीण विकासलाई प्राथमिकता दिएको छ । ‘बुक फ्रि फ्राइडे’ले हाम्रा विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा माथि उठेर जीवनका व्यावहारिक पाठहरू सिक्ने अवसर प्रदान गरेको छ । हामी यो अभियानलाई अझ विस्तार गर्न चाहन्छौं, तर यसका लागि समुदायको साथ र सहयोग अपरिहार्य छ ।”

यता विद्यालयमा सञ्चालित कार्यक्रमले विद्यार्थीको आत्मबल अभिवृद्धि गर्न सघाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुुर पाइजाको विश्वास छ । उहाँले भन्नुुभयोे, “श्रम र उत्पादनसँग जोडिएको शिक्षा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।” बेनी नगरपालिका–१०, का वडा अध्यक्ष मस्बीर रोकाले कार्यक्रमप्रति वडा कार्यालयको पूर्ण साथ रहने उल्लेख गर्दै भन्नुुभयो, “शिक्षा केवल किताबमा सीमित हुनु हुँदैन । यस्तो व्यवहारिक अभ्यासबाट बालबालिकामा नेतृत्व, श्रमशीलता र जीवन बुझ्ने चेत विकास हुन्छ। वडा कार्यालयले थप प्रविधि, स्रोत र सामग्रीको सहयोग गर्दै लैजाने प्रतिबद्धता लिएको छ ।”

विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेका अनुसार, “यो कार्यक्रमले बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र जीवनोपयोगी सीप सिकाउन मद्दत गर्छ।” कार्यक्रमका संयोजक शिक्षक अमृता जिसी रोका भन्नुुहुन्छ–“हाम्रा बालबालिकामा लुकेका अनगिन्ती प्रतिभाहरू छन् । ‘बुक फ्रि फ्राइडे’ले ती प्रतिभालाई उजागर गर्न र उनीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्न कोसेढुंगा बनेको छ। विद्योदय बाल क्लबका अध्यक्ष तथा कक्षा ८ की छात्रा सुप्रिया पाइजाले उत्साहपूर्वक भन्नुुहुन्छ –“पाठ्यपुस्तक पढ्दा कहिलेकाहीं थकान हुन्थ्यो, तर आफैंले बिरुवा रोप्दा रमाइलो लाग्छ ।
हामीले प्रकृतिलाई बुझ्न पाएका छौं ।” अभिभावक तथा शिक्षक खमिसरा बुुढाथोकी पाइजाभन्नु हुन्छ –“पहिला छोरा किताब पढेर मात्र होमवर्क गथ्र्यो। अहिले स्कुल गएर के रोप्यो, के देख्यो भन्ने कुरा सुनाउँछ । खुुसी लागेको छ ।

अभियानको पहिलो चरणमा तरकारी खेती सुरु गरिएको छ भने आगामी दिनमा विद्यार्थीहरुले कौसीमा तरकारी फलाउने, रंगीचंगी फूलबारी सजाउने, बगैंचाको स्याहार गर्ने, स्वच्छता अभियानमा जुट्ने, चित्रकला, हस्तकला, कविता लेखन, उद्घोषण तथा पत्रकारिता, वक्तृत्वकला, खेलकुद र सांस्कृतिक गतिविधिमा रमाउने अवसरले विद्यार्थीहरूको मनमा उत्साह र उमंगको नयाँ रंग भर्नेछन् ।
बि.स. २०२२ सालमा स्थापना भएको विद्यालय हाल बालविकास देखि कक्षा ८ सम्म ७७ जना विद्यार्थीहरु अध्यापनरत छन् भने विद्यालयमा कर्मचारी, बालविकास र निजी सहति ११ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् ।

आधारभूत विद्यालयको एकल प्रयासले म्याग्दीमै पहिलोपटक सुरुवात गरिएको ‘बुक फ्रि फ्राइडे’ अभियानले विद्यालय, समुदाय र जीवनलाई जोड्ने सुनौलो सेतु बनाएर समग्र शिक्षाको मर्मलाई जीवन्त बनाउँदै राष्ट्रिय शिक्षा नीतिले परिकल्पना गरेको “सीपमूलक, नैतिक र व्यवहारिक शिक्षा” को सपनालाई साकार पार्ने विद्यालयको विश्वास छ ।

यो अभियानलाई निरन्तरता दिन र थप प्रभावकारी बनाउन अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको भन्दै विद्यालयले सबैलाई यो प्रेरणादायी यात्रामा हातेमालो गर्न अपिल गरेको छ ।

पाउद्वारमा खेल मैदान निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेल मैदान निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लबले पाउद्वारमा खेल मैदान निर्माण भएको हो। उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेल मैदान निर्माण गरिएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइको खेल मैदान निर्माण गरिएको जानकारी दिए। ‘विद्यालयको खेल मैदानमा खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेल मैदान निर्माण गरिएको हो,’ उनले भने, ‘पोखोबारी सम्माएर खेल मैदान बनाएका हौँ।’

डोजर परिचालन गरेर सम्माइएको खेल मैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ। खेल मैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले रु दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन्। रु छ लाख ६० हजार मूल्य बराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो।

खेल मैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गेका छन्। क्लबमा आबद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन्। खेल मैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छन्।

खेल मैदान निर्माण भएपछि पाउद्वारका युवायुवतीलाई खेल अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ। रासस

बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, घाइते १३ जनालाई रिफर

पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ढोरपाटन नगरपालिका वडा नं. २ बस्ने ७० वर्षिय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षिय भीम कुमारी बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी १४ जना घाइते भएका छन् । गंभीर घाइते हुनेहरुमा जीप चालक ढोरपाटन नगरपालिका वडा नं. २ का २७ वर्षिय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षिय लुम्बिनी महत र २३ वर्षिय इन्द्र कुँवर रहेका छन् । चालक थापाको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने महत र कुँवरको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यस्तै दुर्घटनाका अन्य घाइतेहरुमा ढोरपाटन २ कै वर्ष २९ की निरमाया खत्री, ३८ वर्षिय देवी परियार, ५३ वर्षिय दुर्गी दर्जी, १२ वर्षिय अन्जु परियार, ८ वर्षिय वियानो बुढा, ५ वर्षिय विनय बुढा, ७५ वर्षिय मन कुमारी थापा, २१ वर्षिय टिका कुमारी कुँवर, ढोरपाटन नगरपालिका वडा नं. ५ की ३५ वर्षिय डल्ली विक, ढोरपाटन १ का ११ वर्षिय शिशिर कार्की र ढोरपाटन ५ की ३० वर्षिय टनमाया कुँवर रहेका छन् ।

उहाँहरुको हात खुट्टा, ढाड, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये आठ जनालाई बुर्तिवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखराको मणिपाल र पाँच जनालाई मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रनाउ पाण्डले जानकारी दिए । घाइते एक जनाको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको छ ।

जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खसेको थियो । जीप दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा घटनास्थलमा घाइतेहरुको उद्वार गरेको थियो ।

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

default

निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।

सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ । अहिलेसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले ठेकेदारले गरेको म्याद थप प्रस्तावका विषयमा परामर्शदाता कम्पनी ‘वाकफोस’ले अध्ययन गरिरहेको बताउनुभयो ।

२०७६ सालको कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन ।

कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई कम्पनीले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएका छन् । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ ।

दरबाङमा सहासिक खेल स्केट सञ्चालन

म्याग्दीको मालिका गाउँपालिका-६,उपल्लो बजार दरबाङमा शुक्रबारदेखि साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बेनी नगरपालिका-२,हाँडेभिरमा रहेको डि लाईट स्केट हाउसले तेस्रो शाखा दरबाङमा विस्तार गरिएको हो ।

स्केट हाउसको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गदैं सहासिक खेललाई मापदण्डको प्रयोग गरी सावधानी अपनाएर खेल्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि गर्बुजाले यूवाहरु बैदेशिक रोजगारीमा आर्कषित भइरहेको अवस्थामा स्थानीयस्तरमै विभिन्न ब्यवसायबाट समेत आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोकाले पछिल्लो समय लोकप्रिय रहेको स्केट खेलमार्फत दरबाङमा समेत खेल पर्यटन प्रर्बधन गर्न सकिने बताउनुभयो । कार्यक्रममा पुर्व वडा अध्यक्ष एवं जनप्रिय माविका अध्यक्ष सन्तनाथ सुवेदी, जनप्रिय टोल विकास समितिका अध्यक्ष हिरा बहादुर पुन, म्याग्दी होटल तथा रेष्टुरेन्ट संघका उपाध्यक्ष अमृत सापकोटा, दरबाङ बजारका विभिन्न टोल समितिका अध्यक्ष तथा खेलप्रेमीको उपस्थिती रहेको थियो।

डि लाईट स्केट हाउसका स्थापक तथा सञ्चालक जीवन श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, सनम जिसी र युवराज श्रेष्ठले करिब ४५ लाखको लगानीमा सञ्चालन गर्नुभएको छ । स्केट खेलका लागि मालिका गाउँपालिकाको दरबाङ बजार आसपासका क्षेत्रका साथै छिमेकी मंगला गाउँपालिकाबाट समेत विद्यार्थी, किशोरकिशोरी आउने सञ्चालन जिसीको भनाई छ ।

स्केट हाउसले ओपनिङको अवसरमा टिकटको मूल्य एक घण्टाका लागि रु १५०, आधा घण्टाका लागि रु १०० कायम गरिएको छ । स्केट हाउसको उद्घाटन कार्यक्रमको अध्यक्षता सनम जिसी, स्वागत देबेन्द्र श्रेष्ठ र सञ्चालन पत्रकार शिब बोहोराले गर्नुभएको थियो ।

पछिल्लो समय विद्यालय उमेर समुहका बालबालिकामा निकै लोकप्रिय मानिएको स्केटमार्फत विद्यार्थीलाई इलेक्टोनिक्स डिभाइसको लत घटाउन समेत सघाउने छ भने साहसिक खेलमा यूवापुस्ताको आर्कषण बढ्ने छ ।ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक जिवन श्रेष्ठले बताउनुभयो ।

प्रशिक्षकको व्यवस्था गरिएको बालबालिकालाई अभिभावकको समेत निगरानीमा खेल्न मिल्ने सुविधा रहेको छ । स्केटिङ्ग हाउसमा एक पटकमा ७० जनाले खेल्न सकिन्छ । डि लाईट स्केट हाउसले सदरमुकाम बेनीको हाँडेभिरमा जिल्लामै पहिलोपटक स्केट हाउस सञ्चालन गरेको थियो भने यसको बागलुङको बुर्तिबाङमा समेत शाखा रहेको छ ।

 

ट्राफिक सप्ताहको अवसरमा बेनीमा रक्तदान, २९ पिन्ट रगत संकलन

म्याग्दीमा ट्राफिक सप्ताह अन्तगत शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष अमर बानियाँले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताउनुभयो । रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा सभापति बानियाँको जोड थियो ।

म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।

ट्राफिक प्रहरीले आयोजना गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण तथा सचेतनामूलक कार्यक्रमहरु भइरहेको छ । ट्र«ाफिक सप्ताह शनिबार समापन हुनेछ ।

आहा! अन्नपुर्ण प्रथमको सुन्दरता (तस्बिरहरु)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा पर्ने फ्रान्सेली नागरिक मौरिस हर्जोग नेतृत्वले ७५ वर्षअघि पहिलोपटक ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल जाने पदमार्गदेखि पञ्चकुण्ठ ताल, अन्नपुर्ण सहित आसपासको आर्कषक दृष्यहरू ।

म्याग्दीको प्रमुख पर्यटकीयस्थलको रुपमा स्थापित हुदैं गएको प्रथम अन्नपुर्ण हिमालको आधार क्षेत्रको प्रचारप्रसारसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लागेको छ । अन्नपूर्ण प्रथमको नर्थसाइडलाई विश्वव्यापीकरणसँगै त्यस क्षेत्रमा धमाधम पुर्वाधार समेत थपिदै छ ।

हुमखोलाबाट सम्धीखर्क, गुफाफाँट, भुस्केटमेला हुँदै आधारशिविरि पुगिन्छ। हुमखोलाबाट एकैदिनमा आधारशिविर पदयात्रामा जाने पदयात्रीले सबैभन्दा बढी सौन्दर्य र रोमाञ्चक अनूभुति हुन्छ ।

अन्नपूर्ण प्रथम आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण समेत गरेको छ।विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको मानिन्छ। अन्नपूर्ण प्रथम आरोहण गरेको ७५ औं वार्षिकोत्सवका अवसरमा म्याग्दीमा विशेष कार्यक्रम समेत गरिएको छ । तस्वीरहरू सौजन्य राकेश थापामगर

 

‘धौलागिरी आइसफल ट्रेक’ पदमार्गको अध्ययन सुरु

जैविक विविधता, गाउँले जीवनशैली र संस्कृतिसँगै धौलागिरी–अन्नपुर्ण हिमशृङ्खलाको अनुपम दृश्य अवलोकन गर्न सकिने नयाँ पदमार्ग ‘धौलागिरी आइसफल ट्रेक’को अध्ययन सुरु गरिएको छ। धौलागिरी हिमालको आइसफलसम्म पुग्ने यो ट्रेकिङ मार्गको सम्भाव्यता अध्ययन गर्न पर्यटनविज्ञ, स्थानीय अगुवा र पत्रकारहरूको टोलीले बेनी, रूइसेडाँडा, खोलाखर्क, सबाङ धुरी, कालिभरा, आइसफल, सुङ्गथला हुँदै पुनः बेनीसम्मको क्षेत्रमा अध्ययन गरिरहेको छ।

Dhaulagiri-Icefall-Trek-Exploration-2-1749644763.jpegटोलीमा पर्यटनविज्ञ ज्ञानेन्द्र घले, ध्रुबकुमार पाइजा, रिम पाइजा, स्थानीय पत्रकार तथा सहयोगीहरूको सहभागिता रहेको छ। यो अध्ययन नेपाल पर्यटन बोर्ड, रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोग तथा म्याप हाउसको प्राविधिक समन्वयमा संचालन गरिएको हो।

‘धौलागिरी आइसफल ट्रेक’ पूर्वमन्त्री थममाया थापा र रघुगङ्गा गाँपालिका अध्यक्ष भवबहादुर भण्डारीको सक्रियतामा अध्ययन सुरु गरिएको हो।‘धौलागिरी आइसफल ट्रेक’बाट म्याग्दीको पर्यटनमा नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ।

चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास “तुलु राजा” प्रकाशित

मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्र प्रकाश बानियाँको अर्को ऐतिहासिक उपन्यास “तुलु राजा” प्रकाशित भएको छ ।

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ। दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ । विसं १८९७ शहादत प्राप्त गरेका थिए ।

गोर्खा राज्य विरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ?
त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा ।  शिखा बुक्सले प्रकाशित गरेको उपन्यासको ४४० पेज र मूल्य ७९५ रहेको छ। कार्यालय तथा घरसम्म सहज डेलिभरीको व्यवस्थापन पनि रहेको छ।

यो पनि पढ्नुहोस् :- लखन थापाभन्दा ३६ वर्षअघि मारिएका थिए पाखापानीका तुले रोहानी

 

एयर इन्डियाको दुर्घटनाग्रस्त बिमानका २४२ यात्रु मध्ये १ जना मात्र बाँच्न सफल

एजेन्सी ।

आज दिउँसो भारतको अहमदाबादमा भएको भयानक विमान दुर्घटना, जसमा कोही पनि जीवित नभएको बताइरहँदा एक चमत्कारपूर्ण खबर आएको छ। स्थानिय प्रहरिले नै “कोही पनि जीवित छैन” भनि जारी वक्तव्यको केही घण्टा भित्र, अहमदाबाद प्रहरीले एक व्यक्ति दुर्घटनाबाट बाँच्न सफल भएको पुष्टि गरेको छ ।

सिट ११ A मा रहेका यात्रु हिँडिरहेको देखिएको थियो । उनको सेतो टी शर्ट र गाढा पाइन्टमा केही दाग ​​थिएन। व्यापक रूपमा प्रसारित भिडियोमा, मानिस लङ्गडो जस्तो खुट्टा घाइते भएर हिँडिरहेको देखिन्छ, जसले खुट्टामा चोट लागेको संकेत गर्दछ। उनको लुगामा रगतको दाग र कालो धुवाँको दाग छ।

लन्डन जाने एयर इन्डिया एआई-१७१ उडान, जसमा चालक दलका सदस्यहरू सहित २४२ जना थिए, अहमदाबादमा उडान भरेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो।विमान लगभग ८२५ फिटको उचाइमा पुगेपछि अचानक खस्न थालेको थियो ।

अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनरमा मारिएका यात्रुहरूमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी पनि थिए।विमान बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थल नजिकैको नागरिक क्षेत्रमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाले जनाएको छ।

“अहमदाबादबाट दिउँसो १ बजे उडान भरेको बोइङ ७८७-८ विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए। यीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानेडियन नागरिक र ७ जना पोर्चुगिज नागरिक छन्,” एयर इन्डियाले X मा पोस्ट गरेको छ।

सिट चार्ट अनुसार, ६८ वर्षीय विजय रुपानी एयर इन्डियाको उडानको सिट २D मा थिए। उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।

आरोहणको दुई मिनेटमै, दिउँसो १.४० बजेतिर, विमानले उचाइ गुमायो र मेघानी नगर क्षेत्रमा रहेको मेडिकल कलेज होस्टेल भवनमा ठोक्कियो, जसले गर्दा इलाकामा ठूलो आगो लाग्यो र व्यापक आतंक फैलियो।उद्धारकर्मीहरूले विमानको ब्ल्याक बक्स फेला परेको र दुर्घटनाको सही कारण पत्ता लगाउन महत्त्वपूर्ण हुने बताएका छन्।

भारतमा यसअघि अगस्ट २०२० मा, भारी वर्षाको समयमा कोझिकोडमा एयर इन्डिया एक्सप्रेस बोइङ ७३७ विमान धावनमार्गबाट ​​चिप्लिएर जमिनमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका थिए ।मे २०१० मा, दुबईबाट आएको एयर इन्डिया बोइङ ७३७ उडान मङ्गलुरुको विमानस्थलमा धावनमार्गबाट ​​बाहिर निस्कियो र खोल्सामा ठोक्कियो, जसमा १५८ जनाको मृत्यु भयो। Source:- japansamachar.com