दैनिकजसो काठमाण्डौको पशुपती आर्यघाट आसपासमा हुन्छिन् म्याग्दीकी सपना रोका मगर ।काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् । बेवारिसे शब भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ ।
‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु,‘यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ’ रोका मगरले भनिन् । बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्।
‘अपरिचित लासमा दागबति दिदाँ मृत आत्माले शान्ति पाउँछ,‘मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन् ।
गएको पाँच महिनामा उनले २३ वटा बेवारिसे शवमा दागबत्ती दिएकी छन् । गत साता एकै पटक ६ वटा शवको अन्त्येष्टि गरेको बताईन् । उनीहरुले दाहसंस्कार गर्ने प्रायः शव एक वर्ष पुराना हुन्छन्।
जीवनसँग हारिसकेकी अवस्थामा आत्महत्याको तयारी समेत गरिन् । आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन् । अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमायाचना गदैं बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाएकी छन् ।