हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका बरंजामा तेह्रौँ शताब्दीदेखि एक वर्षको अन्तरालमा मगर समुदायभित्रको परम्परागत ‘आगो देऊ’ (आगोको पूजा) यसबर्ष विधिवत् रूपमा सुरु भएको छ। मंगला–३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरिया मगरहरूले मनाउँदै आएको पूजामा पहिलो दिन शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पूजाको शुभारम्भ हुन्छ ।
आगादेऊ पूजामा स्थानीय ५४ कुरिया मगरहरूको मात्र सहभागिता हुने गरेको छ । तेह्रौँ शताब्दी अगाडी पूजा रोकिएपछि गाउँको जमिनमा खेतीपाती नभएपछि स्थानीयको सक्रियतामा पूजाआजापछि उब्जनी भएपछि पूजाले निरन्तरता पाएको मंगला–४, बरंजाका वडा अध्यक्ष लालबहादुर रोका मगरले बेनीअनलाइलाई बताउनुभयो ।
‘यो पुर्खाले छोडेर गएको पर्व हो, नयाँ पुस्ताको पनि आर्कषण बढेकाले झन झन् भब्य हुदैछ’ वडा अध्यक्ष रोका मगरले भन्नुभयो । बरंजा क्षेत्रमा आएका ९ थरका ५४ कुरिया मगरहरूको अहिलेसम्म १३ पुस्ता पुगेको छ । पहिलो दिन झाँक्री बसेर नौ थरे घुम्ने, बेलुकी सुँगुरले पूजा, भेडाको साँडले बलि दिएर आगो मारेर केही समय आराम गर्ने र केही समयपछि सामुहिक भतेर लगाउने गरिन्छ ।
तिहारको भाइटिकाको अघिल्लो दिन ढुंगा काट्ने पूजा गर्ने र तिहारको टीका लगाएपछि मुडुला लखेट्ने यो समुदायको आगादेऊ पूजाको मुख्य विशेषता भएको मुडुला लखेट्ने भनेको भूतप्रेतलाई लखेट्ने रहेको पूजारी ८१ बर्षिय नरबहादुर रोकाको भनाई छ ।
मगर समुदायले यस पूजालाई आफ्नो मनोकामना पूरा हुने भएकाले चाडपर्वमा आएको बेलामा पूजामा सहभागिता जनाएर मात्रै फर्किने गरेका बरंजाका अगुवा ७७ बर्षिय मनबहादुर बुढाथोकीले बताउनुभयो । ५४ कुरियाबाट सुरु भएको मगरहरूको पछिल्लो तथ्याङ्कको आधारमा हेर्दा चार सयभन्दा बढी घर पुगेका छन् ।
बरंजाको आगो देउ पूजा, धुले पर्व बरंजाको विशिष्ट सांस्कृतिक परम्परा भएको ७४ बर्षिय नन्दबहादुर रोकाले बताउनुभयो । धुले पर्वमा अन्य जातजातिले समेत अवलोकन गर्न पाउँछन् भने आगो देउ पूजामा समुदाय बाहेक अन्यलाई प्रवेश निषेध गरिएको भएपनि समुदायकै सक्रियतामा तस्वीर भिडियो खिचेर सार्वजनिक गरिन्छ ।













