सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ ।यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो ।

टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गा र शुक्रबार बागलुङ नगरपालिका-३ रातामाटास्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा अनुगमन गरेको थियो । कुल एक सय ५५ सवारीसाधनको अनुगमन गरिएकामा २३ दशमलव ४८ प्रतिशतले ५० प्रतिशतभन्दा बढी यात्रु राखी भौतिक दुरी कायम नगरेको पाइएको हो ।

यस्तै ७.०६ प्रतिशत यात्रु र ४७ दशमलव ०६ प्रतिशत चालक÷सह-चालकले मास्क प्रयोग नगरेको, १५ दशमलव ६७ प्रतिशत सवारीसाधनमा सेनिटाइजरको व्यवस्था नभएको, शत प्रतिशत चालक÷सह–चालकले भाइजर र पञ्जा प्रयोग नगरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले बताए ।

‘सार्वजनिक, निजी दुवै यातायातका साधनमा अझै पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना भइरहेको छैन’, उनले भने, ‘अनुगमनसँगै चालक र यात्रुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना पनि प्रदान गरिरहेका छौँ ।’

प्रमुख थापाका अनुसार कतिपय चालकले यात्रुबाट तोकिएभन्दा बढी भाडासमेत असुल्ने गरेको भेटिएको छ । बढी यात्रु बोकेका, कागजात नभएका, बढी भाडा लिएका सवारीचालकलाई न्यूनतम जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ । कर नुबझाएका र कागजात नवीकरण नगरेका चालकलाई कार्यालयमा उपस्थित हुन लगाइएको छ ।

अनुगमनका क्रममा मास्क, स्वास्थ्य तथा सुरक्षा मापदण्ड सम्बन्धी पर्चासमेत वितरण गरिएको थियो । कोरोना महामारीलाई दृष्टिगत गरी सरकारले ल्याएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका–२०७७ ले तोकेका सात वटा सूचकका आधारमा अनुगमन गर्ने गरिएको छ ।

निर्देशिकाले सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क लगाउनुपर्ने, यात्रु चढ्ने बेलामा ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड तोकेको छ । यस्तै चालक तथा सह–सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र भाडादरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सकिने व्यवस्था छ ।

यातायात व्यवस्था कार्यालयले म्याग्दी, मुस्ताङ र पर्वतसम्मै पुगेर सार्वजनिक सवारीको अनुगमन गरिने जनाएको छ । अनुगमन टोलीमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले मापदण्ड हाम्रै स्वास्थ्य सुरक्षाका लागि ल्याइएकाले कसैले पनि लापरवाही गर्न नहुने बताए ।

उनले जनस्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेमा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सकिने उल्लेख गरे । अनुगमन÷निरीक्षणमा बागलुङका प्रमुख जिल्ला अधिकारी सरेश न्यौपाने पनि केहीबेर सहभागी भएका थिए । उनले स्वास्थ्य सुरक्षाका उपाय अनिवार्य अपनाउन सबैमा अनुरोध गरेका थिए । रासस

Leave a Reply