---Advertisement---

रैथाने आलु प्रवद्धनका लागि ढोरपाटनमा ‘आलु महोत्सव’

On: August 19, 2026 9:53 PM
Follow Us:

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ‘आलु महोत्सव’ हुने भएको छ । आलु उत्पादनका हिसाबले प्रख्यात ढोरपाटनमा यही भदौ ८ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

ढोरपाटन नगरपालिकाले यस क्षेत्रमा उत्पादन हुने स्थानीय प्रजातिको आलुको प्रचारप्रसार, बजारीकरण तथा कृषकलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गर्न लागेको हो ।

ढोरपाटनमा उत्पादन हुने स्वादिष्ट तथा गुणस्तरीय आलुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो ।

ढोरपाटनको हावापानी र भौगोलिक अवस्थाले यहाँ उत्पादन हुने आलु स्वाद, गुणस्तर र उत्पादन क्षमताका हिसाबले विशेष पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।

कार्यवाहक नगर प्रमुख कायतले आलु महोत्सव केवल आलुको प्रचारप्रसारमा मात्र सीमित नरहने उल्लेख गर्दै यसले ढोरपाटनमा उत्पादन हुने अन्य कृषि उपजको समेत बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा जोड्नुका साथै व्यवसायी, व्यापारी तथा सम्भावित लगानीकर्तालाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

“ढोरपाटनमा उत्पादन हुने आलुलाई ब्रान्डिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो, “यसले किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण सिर्जना गर्नुका साथै कृषि क्षेत्रप्रति युवाको आकर्षण पनि बढाउनेछ।”

महोत्सवमा उत्कृष्ट कृषक तथा उत्पादनमा उल्लेखनीय योगदान पु¥याउने किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ। यसबाट कृषकलाई थप हौसला मिल्ने र व्यावसायिक कृषि विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

ढोरपाटन नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालका अनुसार महोत्सवमा आलुसँगै ढोरपाटनका विभिन्न रैथाने बाली तथा स्थानीय उत्पादनको समेत प्रदर्शनी गरिनेछ। विशेषगरी जौ, कोदो, जुनेलो, टिमुर, च्याउ, पदमचाल (अमिलो) लगायतका स्थानीय उत्पादनलाई पनि प्रवद्र्धन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, बिक्री–वितरण, कृषिसम्बन्धी जानकारीमूलक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा स्थानीय परिकारको प्रदर्शनसमेत गरिने तयारी भइरहेको छ। यसले कृषि पर्यटनको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

महोत्सव ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा आयोजना हुनेछ। प्राकृतिक सौन्दर्य, उच्च हिमाली वातावरण तथा कृषि उत्पादनका लागि परिचित ढोरपाटनमा महोत्सव आयोजना गरिनु पर्यटन प्रवद्धनका दृष्टिले पनि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

स्थानीय सरकारका अनुसार महोत्सवले ढोरपाटनको कृषि उत्पादनलाई नयाँ बजारसँग जोड्ने, किसानको आम्दानी वृद्धि गर्ने, कृषि उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले महोत्सवले यस क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।

साथै, ढोरपाटनलाई आलु उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न पनि महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने नगरपालिकाले अपेक्षा गरेको छ । पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटकको संख्या समेत बढ्दै गएको छ। ढोरपाटन पुग्ने पर्यटकलाई स्थानीयवासीले आलुका परिकारले स्वागत गर्ने गर्छन् ।

बुर्तिबाङ–ढोरपाटन सडक अप्ठ्यारो हुँदा अघिल्लो वर्षसम्म आलुको बजारीकरणमा समस्या हुँदै आएको थियो। तर, पछिल्लो समय सडक सुधार भएपछि आलु उत्पादन तथा बजारीकरणमा सहजता हुने अपेक्षा गरिएको छ ।

Leave a Comment