---Advertisement---

फोनमा ठूलो स्वरले बोलेको निहुँमा आफ्नै साथीको हत्या

On: August 23, 2026 8:59 AM
Follow Us:

फोनमा ठूलो स्वरले बोलेको निहुँमा चक्कु प्रहार गरी एक जनाले आफ्नै साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत साउन २६ गते राति बागलुङको काठेखोला गाउँपालिका-३ माजकेटेरामा मजदुरी गर्न आएका मजदुरले नै आफ्नै साथीको हत्या गरेका हुन् ।

ढोरपाटन नगरपालिका-७ का ३६ वर्षीय अशोक खत्रीको हत्या आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्ती र ३६ वर्षीय रिखे दमाईलाई घटनाको भोलिपल्ट नियन्त्रणमा लिएको थियो । दुवै जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा अर्जुनले धारिलो चक्कु अशोकको घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको खुलेको हो ।

मजदुरीका लागि आएका तीनै जना साउन २५ गते राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा अशोकको मोबाइलमा फोन आएपछि उनले फोनमा चर्को आवाजमा बोलेको विषयलाई लिएर तीनै जनाबीच झगडा भएको थियो । त्यस दिन पनि उनीहरूबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहानैदेखि आ-आफ्नो काममा लागेका उनीहरू साँझ पुनः सँगै भएर मादक पदार्थ सेवन गरेका थिए । अघिल्लो दिनको विवादलाई लिएर पुनः झगडा भएपछि अर्जुन घर्ती मगरले अशोकको घाँटीमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट अशोकको घटनास्थलमै मृत्यु भएको थियो ।

खत्रीको मृत्यु भएपछि स्थानीयले घर्ती र दमाईलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । अनुसन्धानका क्रममा अर्जुनले चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। अहिले दुवै जनालाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । * डम्मर बुढा मगर


Leave a Comment