विश्व पर्यटन संगठनको परिभाषा अनुसारआफ्नो सामान्य प्रवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत  बर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागी यात्रा गरी बस्नेमानिस पर्यटक हुन ।

रघुगंगा गाउँपालिकाको घोषित पर्यटकिय स्थलहरु बेगखोलाको झोलुङ्गे पुल, राखुभगवतीको भगवती कोत मन्दिर र रुईसे भिउ पोईन्ट, राखु पिप्लेको गायत्री मन्दिर, दग्नामको तातोपानी कुण्ड, झिंको सिमानामा रहेको टोड्के, चिमखोलाको थालीनाच र कुईने मड्गलेको रिखार मन्दिर पालिकाको दस्ताबेजहरुमा ईङ्कित पर्यटकिय क्षेत्र हुन । तेस्तै बेनी हुदै झिँ, पाखापानी, रायखोर, घाँसिखर्क हुदै जाने धौलागिरी सेन्चुरी पदमार्ग र बेग, भगवती, चिमखोला हुदै मुस्ताङ लेते जोड्ने आईसफल पदमार्ग पाहिचान भएका पर्यटन पदमार्ग हुन ।

रघुगंगा गाउँपालिकाले पछिल्लो ४ आर्थिक बर्षमा पालिकाको साथै प्रदेश र संघिय सरकारको साथमा केही मात्रामा भौतिक पुर्वाधार निर्माणका काम भैरहेका छन् । तर पालिकाले कुन बर्ग र क्षेत्रका पर्यटक भित्राउने र कसरी पर्यटन संरचनालाई व्यवस्थित र दिगो बनाउने भन्ने स्पष्ट मार्गचित्र जनता माझ देखाउन सकेको छैन् । डाडाँको अग्लो स्थानमा बनेको भिउटावरमा चढेर हिमाल, डाडाँकाडाँका हेर्दै मंत्रमुग्ध हुने कोरा कल्पनामा कुनै पर्यटक आउनेछन् भन्ने सोच्नु पनी मुर्खता हो ।

पर्यटक आकर्षणका लागी पालिकासगँ आफ्नो युनिक टुरिजम प्रोडक्टु हुनुपर्छ । म्याग्दीमा आन्तरिक पर्यटक भित्राउन सिंगा तातोपानीले तेहा भएको प्राकृतिक साधन औषधीय गुण भएको तातोपानीलाई ब्रान्डीङ गरी विविध रोग भएका धेरै पर्यटन बार्षिक रुपमा भित्राईरहेको छ । तेस्तै घोरेपानी, पुनहिल क्षेत्र पोखराको नजिकको ट्रेकिङ रुट भएको, हिम श्रीङ्खला धेरै नजिक देखिने भएको  र गुरासँ संरक्षणका लागी भएको प्रयासका कारण बिदेशी तथा स्वदेशी पर्यटकको आकर्षंणको केन्द्र बनेको हो ।

रघुगंगा गाऊँपालिकाको आन्तरिक आय बृद्दी तथा धेरै स्थानियहरुका लागी आम्दानीको श्रोत पर्यटन विकास बनाउन सकिन्छ । पर्यटन विकासले स्थानीय उत्पादनको ठुलो हिस्सा खपद गर्ने छ । तर यसका लागी गाऊँपालिकाको पर्यटन विकासका लागी दृढ विस्वास र संकल्प आवश्यक छ ।

पर्यटन विकासका लागी पालिकाको नियमित संरचनागत प्रयास र कार्ययोजना चाहिन्छ । हामीले १० बर्षपछी, १५ बर्षपछीको पर्यटनको प्रक्षेपण सहितको दिगो योजना खाका र कार्य योजना सहित संकल्प गर्नु पर्दछ । र यसलाई हाम्रो शैक्षिक प्रणाली र हाम्रो जिवन पद्धती बनाउनु पर्दछ । त्यसपछी रघुगंगाको सामाजिक र आर्थिक रुपान्तरणको चरणको सुरुवात हुनेछ ।

चिन हुदै मुस्ताङ, म्याग्दी हुदै काठमाण्डौ जोड्ने कोरला नाका रघुगंगा हुदै जान्छ । यसको काम लगभग अन्तिम चरणमा रहेको छ । भने पोखरा हुदै मुस्ताङ जोड्ने केबुलकारको प्राविधिक कामहरु लगभग सकिएको छ । अबको एक दशक भित्र सम्भवत बनिसक्ने छ । यसैको फाईदा उठाउनको लागी पालिकाको संरचनागत पुर्बतयारी जरुरी छ ।

चिनिया पर्यटक भित्राउनको लागी यस अघि शिक्षा शिर्षकमा व्याख्या गरेजसरी बैकल्पिक बिषयमा चिनिया भाषा अध्यापनको व्यवस्था गर्नु पर्छ । किनभने अबको केही बर्षमा नेपालको सबै भन्दा धेरै पर्यटक चिनबाट भित्रने प्रक्षेपण भैरहेको छ । त्यसपछी पर्यटन क्षेत्रमा रुची राख्ने विद्यार्थीलाई एड्भान्स चिनियाँ भाषा र हस्पिलाटी म्यानेजमेन्टको तालिम दिदै चिनियाँ पर्यटकको गाईड गर्न सक्ने जनशक्ती तयार गर्नु अबको आवश्यकता हो ।

त्यस्तै पालिकाले पर्यटकलाई आकर्षण गर्न सक्ने बातावरण निर्माण गर्न सक्ने गरी तयारी पनी सगैँ तयारी गर्नु पर्छ । बेनी, झिँ हुदै धौलागिरी सेन्चुरी पदमार्ग र बेग हुदै चिमखोला, कुईनेमङ्गले हुदै लेते जोड्ने पदमार्गलाई जोड्ने पर्यटन पोईन्ट तयार गर्ने र त्यो ठाउँलाई रघुगंगाको पहिचान र संस्कृतीको संगम स्थलको निर्माण गर्न सकिन्छ । साथै त्यो मिटपोङन्टबाट सबै वडाको पर्यटकिय स्थानलाई जोड्ने पुर्बतार तयार गर्नु पर्दछ ।

साथै रिखार क्षेत्रलाई यो क्षेत्रसगँ जोड्दै मगर, छन्त्याल समुदायको सस्कृती, मुल्य मान्यतालाई विश्व माझ चिनाउन सक्नु पर्छ । रिखार क्षेत्र जनजातिहरुको पहिचान मात्र नभएर हिन्दु धर्मालम्वीहरुको पवित्र स्थान पनी हो । सप्तऋषीहरुले तपस्या गरेको स्थान भनी हिन्दु ग्रन्थहरुमा उल्लेख गरिएको छ । पुर्वधार तयार गर्न सक्ने हो मुक्तिनाथ जाने धर्मालंम्वीहरुको लेते हुदै रिखार क्षेत्र दर्शनका लागी बातावरण तयार हुनेछ ।

अझ रिखार क्षेत्रमा थोरै मेहेनत गर्न सक्ने हो भने यो क्षेत्रलाई योग र ध्यान केन्द्रको लागी बिकास गर्न सकिन्छ । ४ हजार मिटरमा, बादल भन्दा माथी बसेर रिखार क्षेत्रबाट बादल धेरै तल पहाडको फेदमा देखिन्छ । यहाँ योग, ध्यान र प्रकृतीको सुन्दर समिश्रण महसुस गर्न पाउनु सौभाग्य हो । यसका लागी पालिकाले ५०-१०० जनाको लागी योग, ध्यानको अध्यनका लागी छात्रबृती प्रदान गरेर प्रशिक्षित गराउनु पर्छ । उनीहरुले योग र ध्यानको माध्यमबाट बार्षिक दशौं हजारौ पर्यटक भित्राउन सक्नेछन् ।

पर्यटक आकर्षणका लागी गर्न सकिने अन्यन कामहरु ।

पर्माकल्चर टुरिजम- आज हाम्रो प्रकृतीको दोहोन प्रत्येक दिन भैरहेको छ । यसले हाम्रो प्रकृतीलाई असन्तुलित बनाईरहेको छ । प्रकृतीलाई बिनास नगरी प्रकृतिको अवस्था मुल्याङ्कन गरी जुन खेती गर्न सकिन्छ, जमिनलाई नोक्सान नपुर्याई गरिने खेतीको प्रकृतीलाई पर्माकल्चर खेती भनिन्छ । रघुगंगा-२ राखुभगवतीमा स्थानीय गोकुल भण्डारीले यो पद्दतीको प्रयोग गरिरहनु भएको छ ।

प्रत्येक वडामा २ वा ३ बटा ब्लक छुट्टाई पर्माकल्चर ब्लक बनाउने हो भने यहाँ आउने पर्यटकले नयाँ बाताबरणको स्वाद पाउने छन् भने ठुलो मात्रामा स्थानीयले रोजगार पाउने छन् र स्थानीय उत्पादनको खपत पनी हुनेछ ।

यार्चा र हनि हन्टिङ- रघुगंगा गाउँपालिकामा यार्चागुम्बा र भिर मह पाहिन्छ । यसलाई व्यवस्थीत संरक्षण र बजारीकरण गर्ने हो भने पालिकाले बार्षिक लाखौंको राजश्व संकलन गर्न सक्ने छ । । यार्चा र भिरमह संरक्षण गर्ने र टेनडर मार्फत शिकार गर्न दिने हो भने धोरपाटन शिकार आरक्षण जस्तै विश्वभरी रघुगंगाको नयाँ पहिचान बनाउन सकिन्छ ।

एग्रोटेक भिलेज- यस अघी कृषि शिर्षकमा चर्चा गरेजस्तो अब कृषि क्षेत्रको रुपान्तरणका लागी नयाँ प्रविधी भित्राउनुको छैन् । त्यहाँ चर्चा गरेजस्तै हाईड्रोफोनिक र एग्रोपोनिक विधीबाट ठुलो मात्रामा खेती गर्न सक्ने हो भने अध्ययन भ्रमणमा देशै भरबाट शैक्षिक पर्यटक भित्राउन सकिन्छ ।

यसरी, गाउँपालिकाको प्रथामिकतामा पर्यटन पर्ने हो भने पर्यटननै रघुगंगाको दिगो विकास र पहिचानको माध्यम बन्नेछ ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

6.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-६)-शिक्षा (विद्यालय तह)

7.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-७)-शिक्षा (क्याम्पसको स्थापना)

8.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-८)-कृषि

विज्ञापन