म्याग्दीमा सार्वजनिक सेवा पाउन आजदेखि अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यसअगाडी नै माघ ७ गतेदेखि लागु हुने गरी यस्तो नियम लागु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाद्धारा जारी आदेशमा होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, सरकारी निकायबाट सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएपनि ब्यवहारिक रुपमै कार्यान्वयनमा भने चुनौती थपिएको छ ।

नियम लागु गरिएपनि हालसम्म होटल ब्यवसायीलाई पूर्व जानकारी गराइएको छैन भने अनिवार्य सेवा दिनुअगाडी कोभिड कार्ड देखाउनुपर्ने ब्यवसाय र संघसंस्थाको समेत तयारी देखिदैन् ।

सार्वजनिकस्थलमा सबै प्रकारका सेवाहरु हुने भएकाले अनिवार्य खोप कार्ड लिएर आउन वा सेवाग्राहीको विवरणसँग मिल्ने गरी मोवाईलमा फोटो राख्न समेत जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको छ । ‘सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छौ,‘अब हरेक नागरिक सर्तक हुनुपर्छ’ प्रजिअ रानाले भन्नुभयो । उहाँले तोकिएको समयदेखि नै नियमित र छड्के अनुमनको ब्यवस्था मिलाइएको बताउनुभयो ।

सेवाप्रवाह गर्ने निकायले खोप कार्ड नभई सेवा प्रवाह गरेमा समेत प्रचलिन नियम अनुसार कारवाही गरिने जनाइएको छ । जिल्लाभित्र सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।

तर, दुबै खोप लगाउन नपाएकाहरुलाई सेवा प्रवाह रोक्ने वा निरन्तरता दिदैं खोप लगाउन प्रतिबद्धता जनाउन लगाउने भन्नेमा सरकारी निकाय नै अन्यौलमा छन् । खोप कार्ड नभएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएकाले स्थानीय तहले समेत छुटेकालाई खोप अभियान सञ्चालन गरिरहेको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेका क्षेत्रमा थप कडाई गरिने भएको छ भने अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने र स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना बढी उपस्थित नगराउन, यातायात ब्यवसायीले क्षमताभन्दा बढी यात्रु नराखी मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै विभिन्न पेशा र ब्यवसाय तथा पसलहरुमा ब्यवसायीले जनस्वास्थ्यका मापदण्डहरु पुस ३० गते शुक्रबार देखि अनिवार्य पालना निर्देशन छ ।

Leave a Reply