म्याग्दी मंगला गाउँपालिका-२ हिँदीका गुनबहादुर पूर्जा पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । करिब एकदशक खाडी मुलुक साउदी अरव र युएईमा बिताएर फर्किनुभएका पूर्जाको दैनिकी भेडाको रेखदेखमै वित्छ ।

विगत साढे एक बर्षदेखि ब्यवसायीक भेडापालनमा लाग्नु भएका पूर्जाले खाडीको बसाइँ विट मारेर फर्किएपछि निजी विद्यालयमा रोजगारी गरेपनि सन्तुष्ट नभएपछि गाउँ फर्किएर भेडापालन सुरु गरेको पूर्जाको भनाई छ ।

‘मैले ऋण खोजेर भेडा किने,‘घरको आर्थिक अवस्था कमजोर भएपनि यो पेशाले आश जगाएको छ’ पुर्जाले भन्नुभयो । आत्मनिर्भरताको बाटोलाई रोज्दै २६ वटा भेडाबाट सुरु गरेको भेडापालानमै लगानी थपिरहेको पूर्जाको भनाई छ । अहिले गोठमा ४५ वटा भेडा रहेकोमा १० वटा ब्याउने छन् ।

स्थानीयस्तरमा चरन क्षेत्रको सुविधा भएकाले अहिले सहज भएपनि आसपासका छिमेकी बस्तीका चरन क्षेत्रमा समेत अनुमति लिएर गोठ विस्तारको योजना समेत रहेको पूर्जाले बताउनुभयो ।

‘विदेशको कमाई पनि सन्तोषजनक नै थियो,‘घरपरिवारसँगै बसेर हुने आम्दानी त्यो भन्दा धेरै राम्रो लागेको छ’ पूर्जाले भन्नुभयो । उहाँले हालसम्म भेडापालनमा सरकारी निकायबाट एक रुपैयाँ पनि अनुदान नपाएको बताउँदै अनुदान प्राप्त गरेमा थप सहज हुने बताउनुभयो ।

भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालनमा लागेर अब ५ सयको हाराहारीमा भेडा बनाउने योजना रहेको छ । भेडापालनबाट सन्तोषजनक आम्दानी हुने भएकाले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको बताउनुभयो । भेडा, खसी, साँढे, बोकाहरुका लागि अहिले नै माग आउने गरेको बताउँदै बिक्री गर्न चाहेमा खरिदका लागि ग्राहक गोठमा नै पुग्ने उहाँको भनाई छ ।

भेडापालनमा परिवारको समेत बलियो साथले सहज भएको बताउँदै श्रीमतिले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पूर्जाले बताउनुभयो । हिँदीमा भेडापालनका लागि सम्भावना रहेकाले स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत अनुदान सहित तालिम प्राप्त भएमा सहज हुने भेडापालक कृषकको भनाई छ ।

Leave a Reply