ध्रुवसागर शर्मा
बाबाको मुख हेर्ने दिन आउँछ । घर–घरमा बाबाको सम्मान हुन्छ । सामाजिक सञ्जालका भित्ताहरू बाबाका तस्बिर र भावुक शब्दहरूले भरिन्छन् । ‘बाबा मेरो पहिलो नायक’, ‘बाबा मेरो संसार’, ‘बाबाको ऋण कहिल्यै तिर्न सकिँदैन’ जस्ता शब्दहरू लेखिन्छन् । कतिपयले टाढैबाट फोन गर्छन्, भिडियो कल गर्छन् र बाबाको आशीर्वाद लिन्छन् ।
तर यी सबै शब्द र औपचारिकताभन्दा पर एउटा गम्भीर प्रश्न पनि छ—के हामीले बाबालाई साँच्चिकै बुझेका छौँ ?
के हामीले कहिल्यै सोच्यौँ, हामीलाई हुर्काउँदा बाबाले कति दुःख गरे होलान्? हामीलाई राम्रो विद्यालयमा पढाउन, कापी–कलम किन्न, परीक्षा शुल्क तिर्न, चाडपर्वमा नयाँ कपडा किनिदिन र अन्ततः विदेशसम्म पठाउन उनले कति अभाव सहे होलान् ? ती खर्च जुटाउन कतिपटक ऋण लिए होलान् ? ती ऋण तिर्न कति वर्ष पसिना बगाए होलान्?
हामीलाई यसको हिसाब थाहा नहुन सक्छ । किनकि बाबाले कहिल्यै हिसाब देखाएनन् ।
आमाको दुःख हामीलाई देखिन्छ । आमाले घरमा गरेको काम, हाम्रो बिरामी पर्दाको रातभरको जाग्राम, भोकै बसेर हामीलाई खुवाएको खाना, आफ्नो चाहना त्यागेर सन्तानका लागि गरेको समर्पण हामीले सम्झन्छौँ । त्यो स्वाभाविक पनि हो ।
तर बाबाको दुःख प्रायः घरको ढोकाभित्र देखिँदैन ।
बाबा बिहान सबेरै घरबाट निस्किन्छन् । दिनभर काम गर्छन् । पसिना बगाउँछन् । कहिलेकाहीँ अपमान सहन्छन् । आफूभन्दा कम उमेरका मानिसको निर्देशनमा काम गर्नुपर्छ । आफ्नो इच्छा, रुचि र आरामलाई पछाडि राखेर परिवारको आवश्यकता पूरा गर्न दौडिन्छन् ।
छोराछोरीको भविष्यका लागि आफ्नो वर्तमान बेचिदिन्छन् ।
अनि उमेरले ५०–५५ वर्ष नाघिसक्दा पनि कतिपय बाबाहरू अरूको नोकरी गरिरहेका हुन्छन् । शरीरले पहिलेझैँ साथ दिँदैन । घुँडा दुख्छ । ढाड दुख्छ । आँखाले पहिलेझैँ देख्दैन । राम्रोसँग कान सुन्दैनन् । तर जिम्मेवारीले विश्राम लिन दिँदैन ।
किनकि घरमा अझै सन्तानको भविष्य बाँकी हुन्छ ।
कुनै बाबाले छोरालाई विदेश पठाउन ऋण लिएका हुन्छन् । कुनै बाबाले छोरीको पढाइका लागि खेत बेचेर खर्च जुटाएका हुन्छन् । कसैले साहुसँग ऋण लिएका हुन्छन् । कसैले बैंकबाट ऋण निकालेका हुन्छन् । कसैले आफन्तसँग हात फैलाएका हुन्छन् ।
तर सन्तान विदेश पुगेपछि बाबाको त्यो संघर्ष विस्तारै उनीहरूको स्मृतिबाट हराउँदै जान्छ ।
विदेशमा पुगेको छोराले आमालाई हप्तैपिच्छे फोन गर्छ । आमासँग लामो कुराकानी गर्छ । आमाको स्वास्थ्य सोध्छ । घरको कुरा गर्छ । तर त्यही घरको अर्को कुनामा बसेका बाबासँग कुरा गर्न उसलाई समय हुँदैन ।
‘आमा, सञ्चै हुनुहुन्छ?’
‘औषधि खानुभयो ?’
‘के खानुभयो?’
‘घरमा के भइरहेको छ ?’
यी प्रश्नहरू आमाका लागि हुन्छन् ।
बाबाका लागि ?
कहिलेकाहीँ केवल—‘बाबा पनि ठीकै हुनुहुन्छ होला नि !’
किन यस्तो हुन्छ ?
सायद बाबाले कहिल्यै आफ्नो दुःख सुनाएनन् । कहिल्यै ‘म थाकेँ’ भनेनन् । कहिल्यै ‘मलाई पनि तिम्रो साथ चाहिन्छ’ भनेनन् । सन्तानलाई दुःख नहोस् भनेर आफ्नो पीडा लुकाउँदै गए ।
त्यसैले सन्तानले बाबालाई दुःख नहुने मानिस ठानिदिए ।
तर बाबा पनि मानिस नै हुन् ।
उनलाई पनि माया चाहिन्छ । सम्झना चाहिन्छ । आत्मीयता चाहिन्छ । कसैले ‘बाबा, आज कस्तो छ ?’ भनेर सोधिदियोस् भन्ने चाहना हुन्छ । कसैले उनको मन बुझिदियोस् भन्ने इच्छा हुन्छ ।
बाबालाई सन्तानको पैसाभन्दा पहिले सन्तानको अपनत्व चाहिन्छ ।
कति बाबाहरूले आफ्ना सन्तान विदेश गएको दिनदेखि उनीहरूको बाटो हेरेर दिन बिताइरहेका छन् । मोबाइल बज्दा छोरा वा छोरीको फोन आयो कि भनेर हेर्छन् । सामाजिक सञ्जालमा सन्तानको तस्बिर देख्दा मुस्कुराउँछन् । विदेशमा चिसो छ कि गर्मी, काम कस्तो छ, खाना समयमा खान्छ कि खाँदैन—यिनै चिन्ताले उनीहरूको मन भरिएको हुन्छ ।
सन्तानको स्वास्थ्य बिग्रिएला कि भन्ने डरले राति निद्रा हराउँछ ।
तर विडम्बना के छ भने, सन्तानलाई बाबाको स्वास्थ्य कस्तो छ भन्ने प्रश्न सोध्नसमेत कहिलेकाहीँ फुर्सद हुँदैन ।
घरका धेरै निर्णय आमासँग सल्लाह गरेर हुन्छन् । आमालाई पैसा पठाइन्छ । आमाको रुचि सोधिन्छ । आमाका लागि कपडा पठाइन्छ । आमाको जन्मदिन सम्झिइन्छ ।
बाबाको चाहना के हो ?
उहाँलाई के मन पर्छ?
कुन लुगा लगाउन मन लाग्छ ?
कहिले घरबाहिर घुम्न जान मन लाग्छ ?
उहाँको स्वास्थ्य कस्तो छ ?
उहाँले जीवनमा गर्न चाहेको कुनै अधुरो इच्छा छ कि ?
यस्ता प्रश्नहरू धेरैपटक अनुत्तरित रहन्छन् ।
सायद बाबाले आफ्ना चाहना भन्न पनि छाडिसकेका हुन्छन् ।
किनकि जीवनभर उनले एउटा कुरा सिकेका हुन्छन्—‘मेरो चाहना होइन, मेरा सन्तानको चाहना ठूलो हो ।’
त्यसैले छोराछोरीका लागि राम्रो विद्यालय रोजे । आफूलाई नयाँ कपडा नकिनेर छोराछोरीलाई किने । आफूलाई उपचार गराउन ढिला गरे, तर सन्तान बिरामी पर्दा रातभर अस्पतालमा बसे । आफूलाई आराम चाहिएको बेला पनि काम गरे । सन्तानको पढाइका लागि पैसा नपुग्दा ऋण लिए ।
हामीले नयाँ जुत्ता लगाएर विद्यालय जाँदा बाबाको पुरानो जुत्ता कति पटक च्यातिएको थियो भन्ने हामीले कहिल्यै सोध्यौँ?
हामी विदेश जाने टिकट बोकेर विमानस्थल पुग्दा बाबाले त्यो टिकटको रकम जुटाउन कति रात निदाउन पाएनन् भन्ने कहिल्यै सम्झियौँ?
हामी विदेश पुगेपछि पहिलो तलब आएको खुसीमा आमालाई उपहार पठाउँदा बाबाले आफ्नै आवश्यकता कति वर्षदेखि थाँती राखेका छन् भन्ने कहिल्यै विचार ग¥यौँ?
बाबाको त्यागको प्रमाण धेरैपटक बैंकको खातामा होइन, उनको चाउरी परेको अनुहारमा हुन्छ ।
उनको खस्रो हातमा हुन्छ ।
उनको थाकेको शरीरमा हुन्छ ।
उनको फाटेको जुत्तामा हुन्छ ।
उनको मौनतामा हुन्छ ।
तर हामी ती संकेतहरू पढ्न सक्दैनौँ ।
हामीलाई लाग्छ—बाबा त बलिया छन् । बाबालाई केही हुँदैन । बाबा त सधैँ यस्तै हुन्छन् ।
तर एउटा दिन त्यही बाबा अचानक कमजोर हुन्छन् ।
त्यो दिनसम्म सन्तानलाई बाबाको वास्तविक उमेर महसुस नहुन सक्छ ।
बाबा बूढो भइसकेका हुन्छन् ।
हिजो हामीलाई काँधमा बोकेर हिँड्ने बाबा आज आफैँलाई सहारा चाहिने अवस्थामा पुगेका हुन्छन् ।
हिजो हामीलाई बाटो देखाउने बाबा आज हाम्रो फोनको प्रतीक्षामा बसिरहेका हुन्छन् ।
हिजो हाम्रो भविष्यका लागि चिन्ता गर्ने बाबा आज आफ्नै वर्तमानमा एक्लिएका हुन्छन् ।
यो लेख सबै सन्तानका लागि आरोप होइन ।
सबै सन्तान यस्ता हुँदैनन् ।
धेरै सन्तान आफ्ना बाबुआमाप्रति अत्यन्तै जिम्मेवार छन् । विदेशमा रहेर पनि नियमित फोन गर्छन्, खर्च पठाउँछन्, उपचार गराउँछन्, घर फर्किन्छन् र वृद्ध बाबुआमाको हात समातेर जीवनको बाँकी यात्रा सहज बनाउने प्रयास गर्छन् ।
तर समाजमा केही यस्ता बाबाहरू पनि छन्, जसले आफ्नो कर्तव्य पूरा गरेपछि पनि आफ्नै सन्तानबाट भावनात्मक उपेक्षा सहनुपरेको छ ।
उनीहरूलाई सन्तानसँग गुनासो छैन ।
किनकि बाबाको स्वभाव नै यस्तो हुन्छ ।
सन्तानले वास्ता नगरे पनि बाबा सन्तानकै चिन्ता गर्छन् ।
सन्तानले फोन नगरे पनि बाबा उनीहरूको फोन आउने प्रतीक्षामा मोबाइल हेर्छन् ।
सन्तानले आफ्नो स्वास्थ्य नसोधे पनि बाबा विदेशमा रहेका छोराछोरीलाई ‘चिसो छ, न्यानो लुगा लगाउनु’ भन्छन् ।
सन्तानले बाबाको दुःख नदेखे पनि बाबा सन्तानको दुःख कल्पना गरेर रातभर छटपटिन्छन् ।
उनीहरू भगवानसँग आफ्नो स्वास्थ्यका लागि कम र सन्तानको सुख, शान्ति र दीर्घायुका लागि बढी प्रार्थना गर्छन् ।
यही बाबाको मन हो ।
बाबाको मुख हेर्ने दिनमा हामीले केवल बाबाको अनुहार हेरेर पुग्दैन । बाबाको मन पनि हेर्नुपर्छ ।
उनको थकान हेर्नुपर्छ ।
उनको एक्लोपन हेर्नुपर्छ ।
उनको मौनता बुझ्नुपर्छ ।
उनको अधुरो चाहना सोध्नुपर्छ ।
‘बाबा, तपाईंलाई के चाहिएको छ ?’ भनेर एकपटक आत्मीयतापूर्वक सोध्नुपर्छ ।
सायद उहाँले केही पनि माग्नुहुन्न ।
सायद भन्नुहुन्छ—‘मलाई केही चाहिँदैन, तिमीहरू खुसी भए पुग्छ ।’
तर त्यही वाक्यभित्र बाबाको सम्पूर्ण जीवन लुकेको हुन्छ ।
उहाँले वास्तवमै केही नचाहेको होइन ।
उहाँले सन्तानको खुसीलाई नै आफ्नो चाहना बनाइसक्नुभएको हो ।
त्यसैले बाबाको मुख हेर्ने दिनमा एउटा कुरा सम्झौँ—
हामीलाई संसार देखाउने बाबाको संसार अहिले कति साँघुरिएको छ ?
हामीलाई उड्न सिकाउने बाबाको आफ्नै आकाश कति खाली भएको छ ?
हाम्रो भविष्य बनाउन आफ्नो वर्तमान त्याग्ने बाबाको आजको जीवनमा हामी कति उपस्थित छौँ?
बाबाको बैंक खातामा पैसा नहुन सक्छ । शरीरमा शक्ति नहुन सक्छ । तर सन्तानप्रतिको प्रेम कहिल्यै गरिब हुँदैन ।
त्यसैले विदेशमा रहेका सन्तानले यसपटक बाबालाई केवल पैसा नपठाऊन्, केही समय पनि पठाऊन् ।
फोन गरून् ।
भिडियो कल गरून् ।
‘बाबा, तपाईं कस्तो हुनुहुन्छ ?’ भनेर सोधून् ।
‘तपाईंलाई केही चाहिएको छ ?’ भनेर सोधून् ।
‘तपाईंको कुनै इच्छा बाँकी छ ?’ भनेर सोधून् ।
र सकेसम्म बाबाको हात समातेर केही समय बसून् ।
किनकि पैसा कमाएर फेरि कमाउन सकिन्छ ।
सम्पत्ति फेरि जोड्न सकिन्छ ।
तर बाबाको समय फर्काएर ल्याउन सकिँदैन ।
आज हामीले बाबाको अनुहार हेर्न पाएका छौँ भने त्यो हाम्रो सौभाग्य हो ।
आज बाबा घरको आँगनमा हुनुहुन्छ भने त्यो हाम्रो सम्पत्ति हो ।
आज उहाँले हाम्रो आवाज सुन्न सक्नुहुन्छ भने त्यो हाम्रो अवसर हो ।
भोलि बाबाको फोटोअगाडि बसेर ‘बाबा, तपाईंलाई धेरै माया गर्थें’ भन्नुभन्दा आज जीवित बाबालाई ‘बाबा, तपाईं मेरो लागि धेरै महत्वपूर्ण हुनुहुन्छ’ भन्नु ठूलो कुरा हो ।
बाबाको मुख हेर्ने दिनको साँचो अर्थ पनि यही हो—
बाबाको अनुहार हेर्नु मात्र होइन, बाबाले जीवनभर सन्तानका लागि लुकाएर राखेको दुःख देख्नु ।
बाबाको हातमा टीका लगाउनु मात्र होइन, ती हातका चिरा र कठोरता पढ्नु ।
बाबालाई आशीर्वाद माग्नु मात्र होइन, जीवनभर आफूलाई दिएको बाबाको आशीर्वाद सम्झनु ।
र सबैभन्दा ठूलो कुरा—
बाबा बूढो हुँदैछन् भन्ने कुरा समयमै बुझ्नु ।
किनकि एक दिन हामीसँग पैसा, घर, विदेश, सफलता, प्रतिष्ठा—सबै कुरा हुन सक्छ ।
तर बाबालाई फोन गर्न खोज्दा फोनको अर्को छेउबाट आउने त्यो परिचित आवाज नहुन सक्छ ।
त्यस दिन पश्चात्तापले मन पोल्न सक्छ—
‘बाबा हुँदा त एकपटक राम्ररी कुरा गर्न पनि भ्याइनँ ।’
त्यसैले आजै फोन गरौँ ।
आजै बाबाको हालखबर सोधौँ ।
आजै उनको हात समाऔँ ।
र भनौँ—
‘बाबा, तपाईंले हाम्रो लागि गर्नुभएको दुःख हामीले बुझेका छौँ । तपाईंले आफ्नो जीवनको सबैभन्दा सुन्दर समय हाम्रो भविष्य बनाउन खर्चिनुभयो । अब तपाईंको बाँकी जीवनमा हामी तपाईंको साथ बन्न चाहन्छौँ ।’
सायद बाबाले फेरि पनि केही भन्ने छैनन् ।
केवल मुस्कुराउनेछन् ।
तर त्यो मुस्कानभित्र एउटा बाबाले जीवनभर खोजेको सबैभन्दा ठूलो पुरस्कार हुनेछ—आफ्ना सन्तानले आफूलाई सम्झिए भन्ने अनुभूति ।
बाबाको मुख हेर्ने दिनमा यही अनुभूति सबै बाबाले पाऊन् ।
यही हाम्रो समाजको संस्कार बनोस् ।
र कुनै पनि बाबा आफ्नै सन्तानको भीडमा बसेर आफूलाई एक्लो महसुस गर्न नपरोस् ।
सन्तानको भविष्य बनाउँदा आफ्नै वर्तमान गुमाएका बाबाहरू















