म्याग्दीको बेनी नगरपालिका–७, पुस्तकालय चोकमा करिब एक दशक अगाडी देखि प्रयोगविहिन अवस्थामा रहेको शौचालयको मर्मत गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमले शौचालयको मर्मतसम्भार तथा धारा जडान गरेको हो ।

दैनिकजसो विभिन्न प्रयोजनले सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लक्षित बनाइएको शौचालय प्रयोगमा सरकारी निकायबाट कुनै चासो नभएपछि रेडक्रस सोसाईटीले निकै कम लागतमा नयाँ धारा जडान, ट्याकी थप तथा रंगरोगन, ढलान सहित शौचालयलाई सफा र चिटिक्क बनाएको छ ।

रेडक्रसले कुल ७९ हजार ३ सय ३६ रुपैयाँ खर्च गरी नगरपालिकालाई हस्तान्तरणको तयारी गरेको जिल्ला शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठले बताए । ‘कम बजेटमा पनि शौचालयलाई नयाँ रुप दिन सफल भएका छौ,‘त्यहाँ शौचालय बाहेक सबै नयाँ संरचना थपिएको छ’ शाखा अधिकृत श्रेष्ठले भने । पहिले

कोरोनाको जोखिममा सर्वसाधारणको अधिक भिड हुने बिरेन्द्रचोक, पुस्ताकालय चोकमा आउने सर्वसाधारण हातमुख धुन र शौचालयको प्रयोगमा सहज भएको छ ।शौचालय बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भएपनि जनप्रतिनिधिलाई नै कोरोना देखिएपछि हाललाई स्थगित भएको छ ।

बन्द शौचालयका बारेमा बेनीअनलाइनले यसअगाडी समाचार प्रकाशित गरेपनि जनप्रतिनिधि र सरोकारवाला निकायले बेवास्ता गरेका थिए । शौचालय आसपासमा ठेला ब्यवसायीले प्रयोग गर्ने गरेपनि शौचालय खण्डहरमा परिणत भएको थियो।

सामान्यतयाः शौचालय सफा र चिटिक्क हुन्छ भन्ने आम मानसिकता भएपनि बेनीबजार भित्र रहेका अन्य सार्वजनिक शैचालय समेत मर्मत तथा निरन्तर सरसफाई नहुदाँ फोहोर दुर्गन्धित बनेको छ । बेनीमा दरबाङ बसपार्कमा थप शौचालय, हाँडेभिर, कालिपुल लगायत भिडभाड हुने स्थानमा थप शौचालयको आवश्यकता रहेको छ।

 

Leave a Reply