---Advertisement---

बाढीले बगायो रातोपानी तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त

On: October 16, 2026 7:18 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड कालीगण्डकी नदीको बाढी र कटानले बगरमा परिणत भएको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले कुण्डका संरचना बगाउँदा संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड रुपैयाँ लगानी नष्ट भएको छ।

कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो स्थानभन्दा करिब ३० मिटर तल सरेको छ। बाढीले कुण्ड संरक्षणका लागि बनाइएको पक्की पर्खाल, स्नान पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत संरचनामा क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

‘तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर तयार पारेका पूर्वाधार ध्वस्त भएका छन्,’ उनले भने।

गाउँपालिका, प्रदेश सरकार, स्थानीयवासी र दाताको सहयोगमा मुहान संरक्षण तथा व्यवस्थापन गरी विकास गरिएको कुण्डमा स्नान गर्न पर्यटक र विभिन्न स्वास्थ्य समस्याबाट पीडित व्यक्ति आउने गर्थे। कुण्ड व्यवस्थित भएपछि आन्तरिक पर्यटकको आकर्षण बढ्नुका साथै स्थानीय बजार र होटल व्यवसायसमेत चलायमान बनेको थियो।

स्थानीयवासी दयाराम जिसीका अनुसार कुण्डमा पर्यटकको आगमन बढ्दा रातोपानी, पोखरेबगर र ठूलोबगरका व्यवसायीले लाभ लिँदै आएका थिए। बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयको रोजगारी र आयआर्जनका अवसरसमेत प्रभावित भएका छन्।

‘कुण्डमा स्नान गर्न आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर परेको छ,’ जिसीले भने।

बेनी–जोमसोम सडकको छेउमा रहेको उक्त मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्थ्यो। मुहानको पानी सङ्कलन गरेर बनाइएको १० मिटर लम्बाइ र १० मिटर चौडाइको पोखरीमा एकपटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्ने व्यवस्था थियो।

कुण्ड व्यवस्थित भएपछि मुस्ताङ भ्रमण गरेर फर्किने पर्यटकले थकान मेटाउन यहाँ स्नान गर्ने गर्थे। चोटपटक, शरीर बज्रिएको, ग्यास्ट्रिक तथा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित व्यक्तिसमेत प्राकृतिक तातोपानीमा स्नान गर्न आउने गरेका थिए। यसले रातोपानीलाई स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग गरेको थियो।

गाउँपालिकाले प्राकृतिक मुहानको संरक्षण र व्यवस्थापनसँगै कुण्ड सञ्चालनबाट आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

बाढीले पुरानो स्थानमा कुण्ड पुनर्निर्माण गर्न कठिन हुने अवस्था सिर्जना गरेपछि मुहानबाट पानी ल्याएर अन्यत्र स्नानस्थल निर्माण गर्ने विकल्पबारे छलफल थालिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।

प्राकृतिक तातोपानीको मुहान कायम रहे पनि कुण्ड र त्यससँग जोडिएका पूर्वाधार बगाउँदा रातोपानीको स्वास्थ्य तथा पर्यटकीय सम्भावनामा ठूलो धक्का लागेको छ। अब मुहानको संरक्षण र वैकल्पिक स्नानस्थल निर्माणमार्फत तातोपानीको उपयोगलाई निरन्तरता दिनुपर्ने चुनौती गाउँपालिकासामु देखिएको छ।

Leave a Comment