---Advertisement---

दशैंमा उज्यालिन्छ गाउँ, तर युवा नहुँदा हराउँदै रौनक

On: October 16, 2026 7:10 PM
Follow Us:

दशैँ लागेपछि गाउँको मुहार फेरिन्छ । वर्षभरि सुनसानजस्तै देखिने घरका आँगनमा चहलपहल बढ्छ । परदेशिएका छोराछोरी घर फर्किन थालेपछि बूढा बाबुआमाका आँखामा चमक थपिन्छ । आँगनमा पिङ हालिन्छ, बाटाघाटा सरसफाइ गरिन्छन्, घर लिपपोत गरेर चिटिक्क पारिन्छन् । खेतमा धान लहलहाउँछ, बारीमा कोदो झुल्छ, गोठमा गाईवस्तु कराउँछन् । करेसाबारीमा तरकारीको हरियाली छाउँछ ।

दशैंसँगै गाउँमा खुसी फर्किन्छ । तर यो खुसीसँगै एउटा प्रश्न पनि उभिन्छ—दसैँमा केही दिनका लागि भरिने गाउँ वर्षभरि किन भरिभराउ हुन सक्दैनन् ?

प्रकृतिले दिएको सौन्दर्य, उर्वर माटो, पशुपालनको सम्भावना, पर्यटनका आकर्षण र आपसी सद्भावले गाउँलाई समृद्ध बनाउन सक्ने आधार छन् । सडक गाउँबस्तीमा पुगेका छन् । बजारका सामान घरआँगनमै आइपुग्छन् । खेतबारीमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन पहिलेभन्दा सहज भएको छ । गाउँमा विकासका पूर्वाधार थपिएका छन्, अवसरका ढोका पनि खुलेका छन् । तर गाउँको यो बदलिँदो तस्बिरमा एउटा अभाव भने अझै खड्किन्छ—युवाको अभाव ।

गाउँमा सम्भावना छ, सपना भने विदेशमा

एक–डेढ दशकअघिसम्म गाउँलाई अभाव, दुःख र अवसरहीनताको पर्यायका रूपमा हेर्ने गरिन्थ्यो । अहिले गाउँमा सडक पुगेको छ, सञ्चार सुविधा विस्तार भएको छ र बजारसँगको दूरी पनि घटेको छ । तर गाउँप्रतिको दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन सकेको छैन । बरु गाउँका अवसरभन्दा विदेशका सपना धेरै युवाको प्राथमिकतामा पर्ने गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं खबराका चन्द्रबहादुर कार्कीले आफ्ना २८ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाउनुभएको छ । उहाँका लागि छोरालाई गाउँमै रोक्नु केवल पारिवारिक निर्णय होइन, गाउँको सम्भावनामाथि गरेको भरोसा पनि हो ।


“युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले गाउँले जस्ता देखिँदैनन्,” कार्की भन्नुहुन्छ, “मुलुकमा आएको ठूलो परिवर्तनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि सहर पस्छन्, १२ पास गरे परदेशी बन्छन्। विदेश जान गाउँमा होड चल्छ। गाउँमा रहेका अवसरप्रति त कसैको आँखै लाग्दैन ।” उहाँले गाउँमा नै कृषि र पशुपालनबाट आफ्नो छोराले वार्षिक रु दश लाख बढि आम्दानी गर्ने गरेको बताउनुभयो ।

कार्कीको अनुभवले गाउँको एउटा गम्भीर यथार्थ देखाउँछ । गाउँमा विकासका पूर्वाधार थपिए पनि गाउँमै भविष्य बनाउन सकिन्छ भन्ने विश्वास सबै युवामा पलाउन सकेको छैन ।

बाल्यकालदेखि नै ‘लाहुरे’ बन्ने सपना

विदेश जाने चाहना अहिले रोजगारी खोज्ने उमेरका युवामा मात्रै सीमित छैन । विद्यालय तहका बालबालिकाको भविष्यप्रतिको कल्पनामा समेत वैदेशिक रोजगारीको प्रभाव देखिन थालेको छ ।

म्याग्दीको सदरमुकाम बेनी स्थित एक विद्यालयका शिक्षक राजु किसानका अनुसार विद्यार्थीलाई भविष्यमा के बन्ने इच्छा छ भनेर सोध्दा धेरैको जवाफ ‘लाहुरे’ हुने गरेको छ । “स्कुले बालबालिकादेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ,” शिक्षक किसानले भन्नुभयो ।

बालबालिकाले डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी वा कृषक बन्ने सपना देख्नुभन्दा विदेश जाने सपनालाई प्राथमिकता दिन थाल्नुले गाउँमा रोजगारी र सफलताको अवधारणामै परिवर्तन आएको संकेत गर्छ । विदेश जानु आफैँमा गलत होइन । तर गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास कमजोर बन्दै जानु भने चिन्ताको विषय बनेको छ ।

बेनीका हरिप्रसाद शर्माको बुझाइमा युवाको विदेश पलायनमा पारिवारिक र सामाजिक दबाबको पनि भूमिका छ ।

“युवाहरू आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन बाध्य भएका हुन्,” शर्मा भन्नुहुन्छ, “फलानोको छोरो विदेश गएर यो गर्‍यो, त्यो गर्‍यो, तँ गाउँमै हल्लिएको छस् भन्ने दबाब घरघरमा सुनिन्छ । वातावरण नै यस्तो भएपछि एक्लै युवाले मात्रै के गर्न सक्छ?”

समाजमा विदेश गएर कमाएको पैसालाई सफलताको मापदण्ड मान्ने प्रवृत्तिले गाउँमै उद्यम गर्न चाहने युवालाई समेत निरुत्साहित गरिरहेको छ । युरोप–अमेरिका पुगेर बसोबास गर्ने वा कम्तीमा खाडी मुलुकमा गएर पैसा कमाउने सोच बलियो बन्दा गाउँका सम्भावना ओझेलमा परेका छन् ।

विदेशबाट फर्किएका युवा अब गाउँका सम्भावना खोज्दै

वैदेशिक रोजगारीको कथा सधैँ विदेश जाने र पैसा पठाउनेमै सीमित छैन । विदेशमा काम गरेर फर्किएका केही युवा अहिले आफ्नै गाउँमा उद्यम गर्ने सम्भावना खोजिरहेका छन् । विदेशमा सिकेको सीप, काम गर्ने अनुभव र कमाएको पुँजीलाई गाउँमै उपयोग गर्न थालिएको छ ।
म्याग्दीमा कृषि, पशुपालन, ग्रामीण पर्यटन र घरेलु उद्यमका सम्भावना छन् । स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिए, पर्यटकीय गन्तव्यको प्रचार गर्न सकिए र युवाले आफ्नो सीपअनुसार काम गर्ने वातावरण बनाउन सकिए गाउँमै आम्दानीका आधार विस्तार गर्न सकिन्छ ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार विदेशबाट फर्किएका युवाको सीपलाई गाउँमै आयआर्जनसँग जोड्ने सम्भावना छ । अहिलेको अवस्थालाई अभावका रूपमा मात्रै नभई अवसरका रूपमा लिएर युवाका सपना साकार पार्न स्थानीय सरकार लागिपरेको उहाँ बताउनुहुन्छ ।

गाउँका पैदलमार्ग, परम्परागत तथा ऐतिहासिक स्थल, ताल, खोला र झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ । स्थानीय परिकार, संस्कृति र रहनसहनको अनुभव दिलाउने होमस्टे सञ्चालन गरेर गाउँको अर्थतन्त्रलाई चलायमान बनाउन सकिने सम्भावना पनि उत्तिकै छ ।

दसैँको रौनक वर्षभरि टिकाउने चुनौती

दसैँमा गाउँ फर्किएका युवाको अनुहारमा देखिने खुसीलाई वर्षभरि गाउँमै टिकाइराख्नु आजको मुख्य चुनौती हो । त्यसका लागि गाउँमा सडक पुग्नु मात्रै पर्याप्त छैन । सडकसँगै उत्पादन, रोजगारी, बजार, प्रविधि र उद्यमशीलताको अवसर पनि पुग्नुपर्छ ।

सामाजिक शिक्षा विषयका शिक्षक यादव रिजालका अनुसार गाउँमा उत्पादित कृषि उपजले उचित मूल्य पाउनुपर्छ । युवाले व्यवसाय सुरु गर्न आवश्यक सीप, पुँजी र बजारको पहुँच पाउनुपर्छ । पर्यटनका सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्नुपर्छ । गाउँमै बसेर काम गर्ने युवालाई समाजले पनि सम्मान र प्रोत्साहन गर्नुपर्छ ।

सबै युवा गाउँमै बस्नुपर्छ भन्ने होइन । विदेश जाने अवसरलाई निषेध गर्न पनि सकिँदैन । तर विदेश जानु नै सफलताको एकमात्र बाटो हो भन्ने सोच बदल्न सकियो भने गाउँको भविष्यप्रति नयाँ आशा जगाउन सकिने शिक्षक रिजालको भनाइरहेको छ ।
दसैँले गाउँका घरआँगनमा उज्यालो ल्याउँछ, परदेशीलाई परिवारसँग भेट गराउँछ र वर्षभरि टाढिएका आफन्तलाई नजिक ल्याउँछ । अब यही पर्वको आत्मीयतालाई गाउँको आर्थिक र सामाजिक जीवनसँग जोड्न आवश्यक भएको बुद्धिजिवीहरु बताउछन् ।

शिक्षक रिजाल भन्नुहुन्छ “किनकि गाउँको वास्तविक रौनक घरका आँगनमा मानिसको भीड लाग्दा मात्रै होइन, खेतबारीमा युवा पसिना बगाउँदा, स्थानीय उत्पादनले बजार पाउँदा, गाउँमै रोजगारी सिर्जना हुँदा र वृद्ध बाबुआमाले छोराछोरीको भविष्य आफ्नै गाउँमा सुरक्षित देख्दा बढ्छ ।”

दसैँमा उज्यालिने गाउँलाई वर्षभरि उज्यालो बनाउने हो भने गाउँको माटोमा सम्भावना देख्ने, त्यहीँ पसिना बगाउने र त्यहीँ भविष्य खोज्ने वातावरण बनाउनैपर्ने स्थानीय बुद्धिजीविहरुको भनाइरहेको छ ।

ध्रुवसागर शर्मा / म्याग्दी

ध र वस गर शर म म य ग द

Leave a Comment