बाढीपहिरोले क्षति पु¥याएपछि १८ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्ड पुनः सञ्चालनमा आएको छ । कुण्ड परिसरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा र गेगर हटाएर सरसफाइ गरेपछि बुधवारदेखि सर्वसाधारणका लागि तातोपानी कुण्डमा स्नान सेवा सुरु गरिएको हो ।
कुण्ड सञ्चालनमा आएसँगै स्नान गर्न आउने सर्वसाधारण, स्वास्थ्यलाभको अपेक्षासहित आउने व्यक्तिहरू तथा पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समयदेखि बन्द रहेको कुण्डमा स्नान सेवा सुरु भएपछि स्थानीय पर्यटन व्यवसायी समेत उत्साहित बनेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र म्याग्दीखोलाको कटानले तातोपानी कुण्डमा ठूलो क्षति पु¥याएको थियो ।
पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकबाट खसेको पहिरो र म्याग्दीखोलाको बाढीले कुण्ड परिसरमा ढुङ्गा, माटो, बालुवा तथा गेगर थुपारेको थियो । बाढीले मुख्य कुण्डमा बालुवा र लेदो भरिनुका साथै कुण्ड परिसरमा रहेका अन्य कुण्ड तथा संरचनामा समेत क्षति पु¥याएपछि स्नान सेवा बन्द भएको थियो । बाढीपहिरोबाट मुख्य कुण्डसहित परिसरमा रहेका अन्य दुईवटा कुण्ड, भवन, पानी भर्ने १६ वटा ड्रम, मोटर, जेनेरेटर, नुहाउने धारा, बाल्टी, शौचालय र फर्निचरमा क्षति पुगेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्ड परिसरमा थुप्रिएको गेगर, बालुवा र लेदो हटाएर आवश्यक सरसफाइ गरेपछि स्नान गर्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । कुण्डको सरसफाइ तथा पुनः सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीसहित १ हजार ५०० भन्दाबढी जनशक्ति परिचालन भएको उहाँले बताउनुभयो । १५ सय बढीको जनशक्तिले १८ दिनसम्म श्रमदान गरेर बाढीपहिरोले थुपारेको ढुङ्गामाटो हटाउनुका साथै कुण्ड परिसर सफा गरेका थिए । हाल कुण्डमा बिहान ६ बजेदेखि बेलुका साढे ४ बजेसम्म स्नान गर्न सकिने व्यवस्था रहेको छ ।
तातोपानी कुण्डमा प्रतिव्यक्ति पाँचसय रुपैयाँको टिकट लिएर ९ दिनसम्म स्नान गर्न सकिन्छ । प्राकृतिक रूपमा निस्कने तातोपानी कुण्डमा स्नान गर्न पाइने भएकाले तातोपानी कुण्ड स्वास्थ्यलाभ तथा पर्यटकीय गन्तव्यका रूपमा देश, विदेशमा परिचित छ । यहाँ नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत वर्षेनी हजारौँ मानिसहरु स्नानका लागि आउने गर्दछन् । स्वदेश तथा विदेशका महङ्गा र ठूल्ठूला अस्पतालमा उपचार गर्दा रोग निको नभएका बिरामीहरु तातोपानी कुण्डमा नुहाउन आउने गरेको समितिका सचिव केसीले बताउनुभयो ।

तातोपानी कुण्डमा एकपटक आएर नुहाएका बिरामीहरु पटकपटक आउने गरेका छन् । ४५ देखि ५३ डिग्री सेल्सियसको तापक्रममा जमिन मुनिबाट निस्कने प्राकृतिक उपचारको चिकित्सालय तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, गानोगोला, बाथरोग, घाउखटिरा, छालाको एलर्जी, रुघाखोकी, कोलेस्ट्रोल, सड्किएको, मर्किएको तथा बज्रिएको, चोटपटक लागेको, दुर्घटनाबाट भएको समस्या, बाथरोग, हड्डीको दुखाई, रुघाखोलीलगायत चिसोका कारण उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहेको छ ।
तातोपानी कुण्डमा आउने आगन्तुक पर्यटकहरुका कारण स्थानीय होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त कुण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीय पर्यटन गतिविधि पुरानै लयमा फर्किने विश्वास गरिएको म्याग्दी होटल तथा रेस्टुरेन्ट संघका कोषाध्यक्ष तथा तुलाचन होटल एण्ड थकाली भान्साघर तातोपानीका सञ्चालक मन तुलाचनले बताउनुभयो ।

प्राकृतिक स्रोतमा आधारित यस तातोपानी कुण्ड म्याग्दीको प्रमुख पर्यटकीय आकर्षणको गन्तव्यमध्ये एक हो । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको सरसफाइ गरी पुनः स्नान सेवा सुरु भएसँगै समग्र जिल्लाको पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।










